मलेसिया कामदार पठाउने अनुमति दिन सरकारसँग वैदेशिक रोजगार व्यवसायीको माग

 पुस २४, २०७५ मंगलबार १९:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगार व्यवसायीहरुले मलेसियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरेका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा काम गर्न जाने कामदारहरुले दबाब दिइरहँदा पनि त्यससम्बन्धमा सरकारले सुनुवाइ नगरेको गुनासो पनि गरेको छ । 

मंगलबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै संघका अध्यक्ष रोहन गुरुङले मलेसियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गर्नुभयो । उहाँले मलेसियामा जाने कामदारहरुले दबाब दिँदासमेत सरकारले त्यस ठाउँमा कामदार पठाउने अनुमति नदिएको भन्दै गुनासो पनि गर्नुभयो । अध्यक्ष गुरुङले सरकारले वैदेशिक रोजगारसम्बन्धी विभेदकारी नीति लिएको भन्दै आपत्ति पनि जनाउनुभयो ।

खाडी तथा मलेशिया कामदार पठाउँदा फ्री टिकट र दक्षिण कोरियामा कामदार पठाउँदा शुल्कसहितको विभेदकारी नीति लिएको उल्लेख गर्दै उहाँले तत्काल सच्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सरकारले दक्षिण कोरियामा जाने कामदारहरुलाई टिकट शुल्क लिने व्यवस्था गरेको छ । तर, मलेसिया र खाडी देशमा भने फ्री टिकटको व्यवस्था गरिएको छ ।

सरकारको त्यो नीति विभेदकारी भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुको आपत्ति छ । संघका अध्यक्ष गुरुङले विभेदकारी नीति तत्काल सच्याउन र वैदेशिक रोजगार व्यवसायीलाई मारमा नपार्न पनि सरकारलाई सचेत गराउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया