‘नेपाल न त चौकीदारको सप्लायर हो, न त भारतको नोकर’

 चैत २, २०७५ शनिबार १४:६:४० | राजेश जाेशी
unn.prixa.net

‘चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ’, यो वाक्यमा लुकेको गर्व र घमण्ड हेर्नुहोस् । 

आम आदमी पार्टीकी विधायक अल्का लाम्बाको यो ट्वीटमा लेखिएको ‘मगाउन सकिन्छ’ लाई ध्यानपूर्वक हेर्नुहोस् । यसबाट यो अर्थ निस्कन्छ, हामी मालिक हौँ । हामीसँग अथाह पैसा र शक्ति छ कि हामीले जे चाह्यौँ त्यही मगाउन सक्छौँ । नेपालबाट चौकीदारबाहेक अरु के नै मगाउन सक्छौँ र ?

साँझपख भट्टीमा बसेर बेतुकका गफ हाँक्ने जँड्याहाहरु पनि यस्तै कुरा गर्छन्, ‘अरे, हामी जति पनि रक्सी मगाउन सक्छौँ । हामीलाई के कुराको कमी छ र ?’

अल्का लाम्बालाई प्रधानमन्त्री नरेन्द्र मोदीप्रति टिप्पणी गरेको नेपालका नागरिक रिसाउँछन् भन्ने पत्तै पाएनन् । उनले ट्विटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी छिन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

लाम्बालाई लाग्दो हो कि हामी अर्थात भारतले चौकीदारको सप्लाई अर्डर गर्छौँ, अनि नेपालले ढोकामा उभिएको दरबानले झैँ शिर निहुराउँछ र अर्को दिनमै हाम्रोमा नेपाली चौकीदारको लाइन लाग्छ ।  उनले यो बिर्सिन् कि नेपाल एक स्वतन्त्र राष्ट्र हो । भारतजस्तो नेपाल कहिल्यै पनि कसैको गुलाम रहेन । उ भारत र चीनको बीचमा रहेको एउटा स्वतन्त्र देश हो र उसले अल्का लाम्बाका लागि चौकीदारको सप्लाई गर्दैन । 

अल्का लाम्बा पढे लेखेकी सांसद हुन् । उनी दिल्ली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्षसमेत भैसकेकी छिन् । यदि सुझबुझ हुँदो हो त उनले यो बुझ्नु पर्ने हो कि नेपालमा केवल चौकीदार मात्र हुँदैनन् । नेपालमा आईटी प्रोफेसनल, अर्थशास्त्री वैज्ञानिक, एक्टर, ब्यूटी क्वीन्स, संगीतकार आदि पनि हुन्छन् । हो, त्यहाँ चौकीदार, सफाइ कर्मचारी, मजदुर, किसान पनि हुन्छन्, ती त हाम्रै दिल्ली, उत्तर प्रदेश, कर्नाटक र केरलमा पनि त छन् । 

अल्का लाम्बाले यो पनि बुझ्नु पर्छ कि भारतको पञ्जाब, गुजरात, राजस्थान वा केरललगायतका नागरिक पनि ट्याक्सी चलाउन, सफाइको काम गर्न तथा कारखानामा काम गर्न खाडी देश, क्यानडा, अमेरिका, बेलायत, इटाली वा फ्रान्स जान्छन् । हो, त्यसैगरी नेपाली नागरिक पनि रोजगारीका लागि विभिन्न देशमा पुग्ने गर्छन् । 

अल्का लाम्बाको बयान पनि डोनाल्ड ट्रम्पकै बयानजस्तो छ, जतिसक्दो केही भारतीय मगाऔँ, न्यूयोर्क शहर दुर्गन्धित भैरहेको छ ।

नेपाललाई आफ्नो आज्ञाकारी ठान्ने अल्का लाम्बा एक्ली भने होइनन् । उनले गल्ती महसुस गर्दै ट्वीट त हटाइन् ।  तर यसले नेपाललाई आफ्नो गुलाम तथा आज्ञाकारी ठान्ने भारतको मानसिकता भने हट्दैन । 

नेपाली नागरिकलाई यो राम्रोसँग थाहा छ कि उत्तर भारतमा नेपाललाई आफ्नो सम्पत्ति ठान्ने धेरै मानिस छन् । 

गएको महिना म काठमाण्डौबाट दिल्ली आइरहँदा एयर इन्डियाको फ्लाइटमा मसँगै बसेका भारतीय यात्रीले जब बियर मागे, फ्लाइट अटेन्डेन्टले प्लास्टिक मुस्कानका साथ जवाफ फर्काइन्, ‘सर, यो डोमेस्टिक फ्लाइट हो, यसमा हामीले बियर सर्भ गर्दैनौँ ।’

म ती फ्लाइट अटेन्डेन्टसँग सोध्न चाहन्थेँ कि कहिलेबाट नेपाल जाने फ्लाइट डोमेस्टिक अर्थात घरेलु उडान भयो ? कहिलेबाट नेपाललाई आफ्नो भारतमा समावेश गर्यौ, ड्यूड ?

नेपाल कसैको बिर्ता होइन

नेपाल एक स्वतन्त्र देश हो । जहाँ अलग संविधान, अलग प्रधानमन्त्री, अलग संसद तथा अलग सेना छ । एक स्वतन्त्र देशबाट अर्को स्वतन्त्र देशबीच भैरहेको उडानलाई फ्लाइट अटेन्डेन्ट घरेलु उडान मान्छन् । त्यसैगरी आम आदमी पार्टीकी विधायक अल्का लाम्बालाई पनि लाग्दो हो, ‘चौकीदार त हामीले नेपालबाटै मगाउँछौँ ।’

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ भएका नेपाली इमिग्रेशन अफिसर सायद धेरै भारतीयसँग कुरा गरिरहेका होलान्, जसरी मलाई उनले कटाक्ष गरे, ‘तपाईँको देश पनि ठूलो र तपाईँको जुँगा पनि ठूलो अर्थात तपाईँको देश पनि धेरै ठूलो छ र तपाईँको जुँगा वा अहंकार पनि ठूलो छ ।’ 

नेपालीहरुलाई वास्तवमै लाग्ने गर्छ कि भारत ठूलो देश छ त्यसैले भारतीयहरुको अहंकार पनि ठूलै छ । भारतीयहरुलाई यो महसुस हुँदैन कि उनीहरु नेपालका बारेमा जे सोच्छन् त्यो नेपालीहरुले मन पराउँदैनन् । उनीहरुको एउटै सामान्य प्रश्न हुने गर्छ कि हामी त नेपाललाई आफ्नै ठान्छौ त, फेरि किन समस्या ?

काठमाण्डौ पुग्नेबित्तिकै मैले उत्तर भारतीय शैलीमा नेपाली साथीहरुसँग भने, ‘नेपाल साँच्ची आफ्नै घरजस्तो लाग्छ ।’ मेरा यी शब्द खस्न नपाउँदै एक नेपाली साथीले भने, ‘हो तपाईँका प्रधानमन्त्री मोदीजीले भने त्यसै भन्ने गर्नुहुन्छ ।’

मैले तुरुन्तै सम्झेँ कि प्रधानमन्त्री बनेलगत्तै नरेन्द्र मोदीको पहिलो भ्रमणका क्रममा नेपाली नागरिक ‘मोदी–मोदी’को नारा लगाउँदै उनको स्वागतमा सडकमा उत्रिएका थिए । तर आज मोदीको प्रसंग उठ्नेबित्तिकै प्रश्नहरुको वर्षा किन हुन्छ ?

यस प्रकारका वाक्यले नेपाली नागरिकलाई भारतीय नागरिक नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्दैनन् भन्ने लाग्छ । उनीहरु भारतले आफ्नो छत्रछायाँमा राख्न चाहेको महसुस गर्छन् । भारतले गर्ने मायामा पनि नेपालीले ‘सांस्कृतिक विस्तारवाद’ गन्ध आएको महसुस गर्छन् । 

तीन महिनासम्म काठमाण्डौमा बसेर काम  गर्दा नेपालका थुप्रै शहर गाउँमा घुम्ने क्रममा मैले थुप्रै पटक यस्ता प्रश्नहरुको सामना गर्नु परेको छ । बसमा, दोकानमा, होटलमा, सडकमा कुराकानीका क्रममा मैले धेरै पटक एउटै प्रश्नको सामना गरेको छु, ‘मोदीजीले हामीलाई रुवाए, तर किन ?’

नेपाली खासगरी पहाडी इलाकामा बस्ने नागरिक सन् २०१५ का ती दिन बिर्सनै सक्दैनन् । जब नरेन्द्र मोदी सरकारले नेपालमा ‘अघोषित आर्थिक नाकाबन्दी’ लगाएको थियो । त्यसपछि नेपालमा पेट्रोल, डिजल, ग्यासलगायतका आधारभूत बस्तुहरुको आपूर्तिमा हाहाकार मच्चिएको थियो । 

कैयौँ नेपाली नागरिक आफ्नो कार र मोटरसाइकलमा चाबी लगाएर साइकल किन्न बाध्य भएका थिए । नेपालमा भारतले लगाएको यो पहिलो नाकाबन्दी भने होइन । राजीव गान्धी प्रधानमन्त्री भएका बेला पनि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । 

काठमाण्डौबाट केही टाढा रहेको चित्लाङबाट आफ्ना विद्यार्थीसहित पोखरा आएका एक शिक्षकले मलाई सोधे, ‘नाकाबन्दी गरेर के मोदीले बुझिबुझी हामीलाई चीनतर्फ त धकेलिरहेका छैनन् ?’ यसको म के जवाफ दिन्थेँ ।

-बीबीसी हिन्दीमा प्रकाशित बीबीसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीको ब्लगको भावानूवाद ।


 

अन्तिम अपडेट: असार ३, २०७६

राजेश जाेशी

जाेशी बीबीसी हिन्दी रेडियाेका सम्पादक हुन् । 

तपाईको प्रतिक्रिया