प्रतिपक्षी दल कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोज्दैछ : प्रधानमन्त्री ओली

 असार २५, २०७५ सोमबार १५:२३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले सानो कुरालाई लिएर आन्दोलन गर्ने बाटो खोजिरहेको बताउनुभयो ।  ‘चुनावमा वाम गठबन्धनलाई नागरिकले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पार्टीले चुनावमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागू गर्छ । यसमा आपत्ति मान्नु पर्दैन ।’

‘कसैलाई उक्साएर जुम्लामा  भोकै  सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइ रहेका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् ।’ शान्ती प्रक्रियाका केही अवशेषहरु पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक, गोविन्द केसी, उपकुलपति जस्ता विषयमा सांसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गर्नुभएको छ । ‘हामीले नराम्रो केही गरेका छैनौं । दृढताका साथ कुरा राख्नु पर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अरु चाहिँ साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाहिँ ओइलाउने हुन्छ ?’

प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली कांग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिनुभएको छ । ‘विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?’, प्रधानमन्त्रीको प्रश्न छ ।

काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कुन विषयमा कति कलेज आवश्यक छ, त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं’,

प्रधानमन्त्री ओलीले भन्नुभयो । संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ, यसमा के अनौठो भयो र ?’, प्रधामन्त्रीले भन्नुभयो, ‘नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने ?, हजारौं बिगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न मिल्दैन ।’ 

संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्विकृत नलिई विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानबिन हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया