कथा: सिकारी

 असोज १८, २०७६ शनिबार १७:४२:३९ | महेश पाैड्याल
unn.prixa.net

बूढाबूढी चारधाम जाने सल्लाह हुँदै गर्दा सावित्रीले भनिन्, ‘जाओस् न त सिद्धार्थ पनि । घुम्छ, देख्छ । यहाँ पनि कहाँ राख्नु र? आ, कति पो बिग्रिहाल्ला तेस्को पढाइ ! खासै राम्रो पढाइ पनि होइन क्यारे । जाओस् ।’

पुरुषोत्तम अघिदेखि सिद्धार्थलाई नलाने पक्षमा वकालत गर्दै आएका थिए  । उनको तर्क थियो : पढाइ बिग्रिन्छ । सिद्धार्थसँग पढाइ बिगार्ने अधिकार थिएन । उनी भन्थे, ‘यसको पढाइ बिग्रियो भने सब डुब्छ । छोरो भन्नु यही छ । छोरी त गैहाल्छन्, आ–आफ्ना घर । यत्रो व्यापार छ, घरजग्गाको कारोबार छ । चान्चुने दिमागले धान्दैन । अहँ, सिद्धार्थ जाँदैन ।’ 

‘हैन पन्ध्र दिनमा कति बिग्रन्छ भन्या उसको पढाइ ? पोहोर कामख्या जाँदा उसकी दिदी पनि गएकी थिइ त । आएर जाँच दिँदा पासै भै क्यारे । फेल भइन ।’
‘त्यो दिदीको कुरा हो । यो भाइको । हुँदैन । सिद्धार्थ जाँदैन ।’ पुरुषोत्तमले हजार तर्क तेस्याए । केही नलागेपछि भने, ‘केदारनाथबाट हामी बैष्णोदेवी पनि जाने हो । हिँड्नुपर्छ उकालो बाटो । सिद्धार्थ हिँड्न सक्दैन । तिमी बोक्छेऊ?’

अनि सावित्रीको बोल्ती बन्द भयो । 

उनीहरू चारधाम यात्राको तयारीमा थिए । छोरी काठमाण्डौमा थिइन्, बाग्मती नर्सिङ कलेजको होस्टलमा । सिद्धार्थ सानै थियो, कक्षा चारको विद्यार्थी । बावुआमा तीर्थाटनमा निस्कँदा सिद्धार्थ बाधाको रूपमा खडा भैरहेको थियो । उसलाई कतै व्यवस्थापन नगरी जान सक्ने उनीहरूको सम्भावना थिएन । 

‘उसो भए हजुरबाका घर राखौँ न त । हजुरबा भनेपछि हुरुक्कै हुन्छ । हजुरबाले पनि निको मान्नुहुन्छ  । काका–काकीले राम्रै गर्लान् । पन्ध्र दिनको कुरो त हो नि । बरु अलिकति दालचामल पनि किन्दिम्ला नि ।’

‘पर्दैन । हाम्रै मूल घर हो त्यो । एउटा नातिको त्यति अधिकार हुँदैन? ठीक छ, सिद्धार्थ त्यहीँ बस्छ । भोलि गएर कुराकानी गर । ’ र सिद्धार्थ हजुरबा–हजुरआमासँग बस्ने भयो । काका–काकी पनि खुशी नै भए । उनीहरूकी सानी छोरी रुकुले खेल्ने साथी पाइ । 

सिद्धार्थका हजुरबा शाही सेनाका सेवानिवृत्त सैनिक । उनलाई घुमफिर गरिरहनुपर्ने । मोजमस्ती पनि निकै गर्नुपर्ने । शनिबार–आइतबार पारेर सिकार खेल्न पनि जानुपर्ने । एउटा पुरानो भरुवा बन्दुक पनि थियो उनीसँग । त्यही बोकेर जान्थे जङ्गल । साँझ सबैलाई भेला पारेर उहिले सेनामा हुँदाका अनुभव सुनाउँथे । शान्ति सेनामा वा तालिमका क्रममा विदेश जाँदा, छुट्टीका दिन खेलेको सिकारको कथा बढो महत्त्वका साथ राख्थे । अफ्रिकामा एउटा भाले हात्ती तथा बङ्गालमा एउटा सेतो भाले बाघ मारेको दाबी पटक–पटक गरिहन्थे । अन्त्यमा भन्न भुल्दैनथे, ‘भाले हात्ती । भाले बाघ । पोथीको सिकार पनि कोही गर्छ ? एकपल्ट एउटी बूढी बघिनी मारेछ एउटा जम्दारले । तेसलाई त साहेबले सस्पेन्ड गरिदिए । नामर्द !’

सिद्धार्थका बावुआमा तीर्थ गर्न भारत पसेको एक हप्तापछि, हजुरबा–हजुरआमा, काका, काकी र रुकुसहित सिद्धार्थ दक्षिणकाली पूजाका लागि गयो । त्यहाँ मन्दिरमा सबैले पूजा अर्चना गरे । सिद्धार्थलाई मन्दिरबाहिर  गरिएको पशुबलि, र त्यहाँ बगिरहेको रगत देख्दा आङ सिरिङ्ग भएर आयो । हजुरबाले उसका पाखुरा समातेर भने, ‘हेर, ती पशु पनि सबै भाले हुन् । माताले पोथीको बलि लिन्नन् ।’

केही दिनपछाडि, घरको पछिल्तिर खेल्दै गरेको बेला सिद्धार्थ र रुकुले कुरा गरेको सुनियो । 

‘म त केटी भएर ठिकै भो । सराद–पूजा आउँदा टीको लार पैसा पनि दिन्छन् । दशैँमा पनि छोरीलाई त पैसा दिन्छन्, छोरालाई दिँदैनन् ।’
‘अँ, होल्ला । छोरीलाई त, नानी पाउन सारो पर्छ ।’
‘पदैन । पर्ने भा, यत्राविधि मान्छे जन्मिन्थे ? हेर त, मान्छे नै मान्छे । सजिलो हुन्छ । केटालाई त, काट्छन् । दक्षिणकालीमा देखेनौ?’

सिद्धार्थ निकै उदास देखियो । ऊ रुकुसँग खेल्न छोडेर घरको अघिल्तिर आइपुग्यो । माथि आकाशमा कसैको चङ्गा उडिरहेको थियो । ऊ त्यसैमा भुलियो । 
दुई दिनपछि स्कुलमा खोप कार्यक्रम रहेकोले छुट्टी भयो । चिया खाने बेला गाउँको माथिल्लो भेगबाट छविलाल टुप्लुक्किए र हजुरबालाई भने, ‘कर्साप, केही बोका खसी पार्नु थियो । आज फुर्सद मिल्ला कि?’

मन्द गतिमा चिया पिइरहेका हजुरबाको अनुहारमा एक्कासी फुर्ती आयो । उनले केही पनि नसोची भने, ‘कतिओटा छन्?’
‘छ–सातवटा छन्, कर्साप ?’
‘छ वटा कि सात वटा?’
‘छ वटा, कर्साप ।’
‘सात भएको भए बेस हुन्थ्यो । धेरै भएको राम्रो । हेर्नुस्, मेरा यी हात भनेका उहिले फौजमै हुँदा, भाले हात्ती र भाले नै बाघ मारेका हात हुन् ।’ 
‘हो नि, कर्साप ! अलिपछि आउनुहुन्छ कि अहिले नै जाने?’
‘के को अलिपछि? अहिले नै जाने । ए नाति ! नाति ! सिद्धार्थ !  ह्याँ आ ।’

सिद्धार्थ दौडँदै आयो । हजुरबाले आदेश दिए, ‘जुत्ता लगा । बोका खसी पार्न जाने, तँ र म । छिटो ।’
जुत्ता सिकुवामै थिए । सिद्धार्थले हत्तपत्त लगायो । हजुरबाले एकाध हात–हतियार पनि बोके । उनीहरू छविलालको पछि लागे । 
छविलालका घर पुग्दा अरु पनि केही मान्छेहरू भेला भएका रहेछन् । हजुरबालाई आँगनमा देख्नासाथ उनीहरू हतारहतार आ–आफ्ना टाट्नातिर लागे र बोका घिसार्दै आँगनतिर आए । 

हजुरबाले छविलालकी श्रीमतीले दिएको एक कप चिया सुर्काए र भने, ‘सातवटा त एक घण्टा पनि लाग्दैन । यी हात भनेका, फौजमा हुँदा भाले हात्ती र भाले बाघ मारेका हात पो हुन् त ।’

हजुरबाले हात–हतियार निकाले । एउटा चेप्ने सनासोजस्तो केही, र अर्को समाउने चिम्टाजस्तो । र सिद्धार्थलाई भने, ‘आइज; हेर् तँ पनि ।’
अनि सुरु भयो खसी पार्ने काम । हजुरबालाई त्यो खुट्टाका नङ काटेजस्तो मात्रै भएको भान हुन्थ्यो । तर, जो जो ती बोकाका मालिक थिए, ती त्यहाँबाट निकै पर हटे, र माथि, केराघारितिर हेर्न थाले । कतिपय भने ‘स्स्स’ गर्दै, छातीमा हात राखेर जिब्रो टोकिरहेका थिए । 

हजुरबाले यसैगरी अरु बोकालाई खसी पारे । छैठौँलाई खसी पारेपछि पो उनले सिद्धार्थलाई हेरे । सिद्धार्थ भैँमा मूर्रछा परेको थियो । 
हजुरबा दुःखीभन्दा पनि आक्रोशित देखिए । उनले हातको चेप्वा र सनासो भैँमा फाल्दै भने, ‘नामर्द । नाक काट्, साला ।’
गाउँलेले सिद्धार्थलाई उठाएर भित्र लगे । ओछ्यानमा सुताए, र पानी छम्के । केहीले पङ्खाले हम्के । हजुरबाले भने उसलाई पर्खेनन् । आफ्ना झिटिझाम्टा बोके, र लागे ओरालो, घरतिर । पछि, सिद्धार्थ होसमा आएपछि गाउँलले बोकेर पुर्याइदिए ।

केही दिन हजुरबा–नातिको बोलचाल नै बन्द भयो । सिद्धार्थ स्कुल पनि गएन । ऊ दिनभर, झ्यालबाट बाहिर हेरिरहन्थ्याे र आकाशमा उडिरहेका चरा र पानी किराहरूसँग मौन संवाद गरिहन्थ्यो । 

केही दिन बितेपछि हजुरबालाई केही खिन्नताको बोध भयो । उनले सिद्धार्थलाई छेउमा बोलाउन खोजे । तर ऊ आएन । अनि उनले, पछाडिबाट मौका पारेर च्याप्पै समाते, काँधमा राखे, म्वाइँ खाए र भने, ‘नाति, तँ मेरो नाति होस् नि । म पनि त माया गर्छु तँलाई । आइज मसँग । आज तँ र म जङ्गल जाने । जङ्गलमा त कतिथरी जनावर र चराहरू देख्न पाइन्छ ।’ 

सुरुमा झस्किएको सिद्धार्थ केही फुल्लियो । हजुरबाले पनि माया गर्न सक्छन् भन्ने भानले हो कि, अलि नजिक आयो, र जङ्गल जाने कुरामा स्वीकृति दियो । हजुरबाले आफ्नो भरुवा बन्दुक निकाले । सिद्धार्थ पछिपछि लाग्यो ।  
अलि पर पुगेपछि सिद्धार्थले सोध्यो, ‘हजुरबा, यो बन्दुक चाहिँ किन लाने?’
‘सिकार गर्न, लाटा ।’  
‘मैले बन्दुक हान्ने हो, हजुरबा?’
‘हानिस् तँ मूलाले बन्दुक । तेरो काम भनेको, मृगको बाटो छेक्ने, बुझिस् ? भाग्न आँटेको मृगलाई बन्दुकको नालतिर ल्याउने काम तेरो । अनि, ड्याङ्ग पारेर बन्दुक हान्ने काम मेरो । हात्ती र बाघ मारेका हात पो हुन् त यी ।’

अघिअघि हजुरबा, भरुवा बन्दुक काँधमा भिरेका । पछिपछि सिद्धार्थ, हजुरबाले टेकेकै ठाउँमा टेक्दै टुकुरटुकुर अघि बढिरहेको । 

शुक्लाफाँटकाे जङ्गल, निकै घना थियो । वर्षाैँ पुराना रुखहरू, बोक्रा पट्पटी उप्किएका देखिन्थे । भैँमा जताततै झाडी । सालकले दुलो खनेर छरेको माटो टेक्दै हजुरबा–नाति अगाडि बढिरहे । कतै जङ्गली चरा धपाउँदै, कतै पिपिरीका पात टिपेर बजाउँदै सिद्धार्थ पनि आफ्नो पहिलो जङ्गल यात्रा अविस्मरणीय बनाउन हजुरबाका पछिपछि हिँडिरह्यो । 

धेरै पर पुग्दासम्म पनि कुनै मृग फेला परेन । हजुरबाले सिद्धार्थलाई भने, ‘पहिले पहिले बगालै आउँथे मृग । कति हो कति । बराँट र थार पनि भेटिन्थ्यो । पछिल्लो समय यहाँको नाका खोलेदेखि सीमा वारि र पारिका सिकारीको बिगबिगीले मृग मासिए ।’

सिद्धार्थलाई खिन्न लाग्यो । उसले किताबमा मात्रै देखेको थियो मृग । उसलाई उनीहरूका सिङ र आँखा सारै मन पर्थ्याे । धेरैपटक उसले मृगको चित्र पनि बनाएको थियो, कापीमा । 

जङ्गलको बीचबाट एउटा सानो खोल्सो बग्थ्यो । एक ठाउँमा, उँभोतिर निकै ठूलो अक्करे चट्टान थियो, र त्यसको फेदमा नदी घुमेर एउटा दहजस्तो बनेको थियो । त्यस ठाउँमा मृगहरू पानी खान आउँथे । सिकारीहरूले दुईतिरबाट घेरा हाले भने त्यस ठाउँमा मृगहरू मार्न सक्थे । एकातिर ठूलो चट्टान भएकोले मृगहरू सजिलै फस्थे । 

हजुरबाले सिद्धार्थलाई त्यही दह भएतिर लगे । उसलाई हल्ला नगर्न र चुपचाप हिँड्न पनि भने । 
दहमा पुग्नै लाग्दा उनीहरूले परैबाट हेरे । त्यहाँ एउटा मृगले साँच्चिकै पानी खाइरहेको थियो । 
‘हजुरबा, उः उः मृग छ, मृग हो त्यो । सुई, सुई ।’ एक्कासि सिद्धार्थ चिच्याउन थाल्यो । 
हजुरबाले हेरे । हो, एउटा मृग देखा परेकै हो । उनले सिद्धार्थलाई दक्षिणतिरबाट घेरा हाल्न अर्हाए र आफू पश्चिमतिरबाट घेरा हाल्न पुगे । वास्तवमा त्यो एउटा शिशु मृग थियो । उनीहरूले त्यसलाई सजिलै घेराबन्दीमा  परे । हजुरबाले बन्दुक तेर्स्याए । 
सिद्धार्थले आँखा चिम्लियो । हात छातीमा राख्यो । आकाशतिर हेर्याे ।  
हजुरबाले बन्दुक हानेनन् । 
‘ज्या । यो त पोथी मृग । छोड्दे,’ उनले भने । 

सिद्धार्थले मृगलाई बाटो छोड्यो । उफ्रँदै, कुद्दै त्यो मृग कटुसघारीतिर गएको हेर्दा सिद्धार्थका आँखा निकै अनौठा देखिएको हजुरबाले अनुभव गरे । 
‘के भयो? किन निन्याउरो पारेको अनुहार? अर्को आउँछ अहिले । भाले हरिण । त्यो पो मार्नुपर्छ त । पख् एकछिन ।’

हजुरबाले सिद्धार्थलाई दहबाट पछि हट्न भने र आफूतिरै बोलाए । उनीहरू दहबाट केही पर गए, र एउटा रुखको सियाँलमा चुपचाप बसे । कुराकानी गरेनन् । सिद्धार्थ निकै आतङ्कित देखिन्थ्यो । उसका कान राता भएर आए, र आँखा ओसिला । पसिनाले उसको कलिलो निधार छपक्कै भिजेको थियो ।

उसले हजुरबालाई पुलुक्क हेर्याे । आज पहिलोपल्ट उसलाई खै किन हो, आफूलाई माया गर्ने हजुरबा पनि मन परेन । खूब रिस उठेर आयो । हजुरबाको अनुहार उसले टिभीमा हेर्ने गरेको रामायणको रावणको जस्तो लाग्यो । छेउमा पनि बस्न मन लागेन । ऊ अलि पर हट्यो, र तृण चुँड्दै, चपाउँदै, थुक्दै गर्न थाल्यो । हजुरबा भने एकोहोरो दहतिर हेरिरहे । 

‘कर्साप, गर्मी त खूबै छ । पानी–सानी ल्याएनौ कि क्या हो, तमीले?’ कसैले भनेको सुनियो । हजुरबा झस्किए । बनपाले पो रहेछ । 
‘तमी पनि यतैतिर? आज त ठ्याम्मै आया होइनन् हरेनी । एउटी आथी, पोथी ।’ हजुरबाले भने । 
‘भाले त सब सकिसक्याछन् । अब पोथी नै खान्या दिन आए,’ वनपालेले भन्यो । 

सिद्धार्थले अचम्म मानेर हेर्याे । उसको समान्य ज्ञानले भन्थ्यो, त्यस वनपालेले मृगहरूको रक्षा पो गर्नुपर्ने । उसले हेरेका चलचित्रका फोरेष्ट गार्डले वन्यजन्तुको सिकार गर्नेलाई समाएका हुन्थे । यहाँ कथा अर्कै थियो । 

‘दुई महिनामा आया हुँ, एउटो त मार्नै पर्ला,’ हजुरबाले  भने । वनपाले ङिच्च दाह्रा देखाएर हाँस्यो । ती जुँघा देख्दा सिद्धार्थलाई झनै रिस उठेर आयो । 
‘एक्लै आहौ?’
‘छ एउटा नाति पट्ठो । केटीजस्तो । मृग देख्दा डरले भाग्यो, पिसाप फेर्दै । उः उता लुक्या होला ।’
यो कुरा सिद्धार्थले सुन्यो । तर सियाँलबाट उठेन । प्रतिक्रिया पनि जनाएन । उसलाई रिसमात्रै उठेर आयो । 

बूढाहरू सियाँलमै बसे, र सुर्ती खाए । हजुरबाले फौजमै हुँदा भाले हात्ती र भाले बाघ मारेको कुरा भन्न बिर्सेनन् । वनपालले पनि पहिले प्रहरी सेवामा रहेको, र कर्णालीमा भाले गोही मारेको कुरा सुनायो । ‘मैले मारेको गोही दरबार लग्या हुँ । दरबारमा अझै होला,’ उसले भन्यो । सिद्धार्थले ‘भाले गोही’ भनेको  चाहिँ प्रस्टै सुन्यो । 

बूढाहरूले धुवाँ उडाएर सुर्ती खाए । वनपालेले थरमसबाट निकालेर हजुरबालाई एक गिलास जाँड पनि दियो । हजुरबाले तन्तनी पिए जाँड । त्यसपछि पालेले बट्टाईका अण्डा निकाल्यो, र  भन्यो, ‘यो लेऊ कर्साप । खूब ताकत दिन्छ ।’ हजुरबाले अण्डा हातमा लिए, दुईवटा ताछे, र सिद्धार्थलाई बोलाए । सिद्धार्थ अर्को कटुसको सियाँलतिर भाग्यो । 

‘यस्तो छ पट्ठो । यसकी आमाले बिगारेको । घरमा पनि एउटी नातिनी केटी छे, त्यसैसँग खेल्छ । त्यसकै बानी टिपेको छ । काजीको नाक काट्ने भो, साइँला ।’
‘आब्बुई ! त्यसो  चाहिँ नभन है कर्साप । बालखै छ नि त पट्ठो ।’
‘के को बालख? आठ वर्षको भयो । मैले सात वर्षको हुँदा ज्याम्ते बोको खसी पारेको ।’
‘त्यो म पत्याउँदिनँ ।’
‘माने, बाउलाई सघाको । अनि, सघाउँदा सघाउँदा म गाउँको नामूद खसी पार्ने मान्छे भएको थिएँ । फौजमा पनि त्यो काम चाहिँ मेरै जिम्मा थियो । तर मेरो नाति निस्कियो काँतर ।’
केही परैबाट भए पनि सिद्धार्थ  यी कुरा सुनिरहेको थियो । ऊ झस्कियो । 

‘ठीक छ, कर्साप । आज केटाहरू छैनन् जङ्गलमा । म एक्लै छु । म यसो डुलेर आउँछु, उँभोतिर । तमी आफ्नो काम गर । राजखानी चाहिँ मेरो भाग । त्यो भनिरहनु नपर्ला ।’

वनपाले आफ्नो बाटो लाग्यो । सिद्धार्थले हजुरबालाई सोध्यो, ‘हजुरबा, यो राजखानी भनेको के हो?’
‘चुप् । भरे मृग मारेपछि देख्लास् । जा त, तँ उः त्यो रुखमुनि बस् । मृग पानी खान आयो भने उताबाट छेक्नू । म यहाँ हुन्छु ।’

सिद्धार्थ हजुरबाले देखाएतिर गयो, र झाडीमा लुकेर बस्यो । धेरै बेरपछि पनि कुनै मृग आएको सङ्केत भएन । सिद्धार्थले भैँको अलि गिलो माटो उठायो, र ससाना मूर्ति बनायो । सुरुमा उसले केटा र केटीका मूर्ति बनायो, अनि फेरि केटाको मूर्तिलाई पनि परिवर्तन गरेर केटीकै बनायो । एकैछिनमा उसका अगाडि महिला मूर्तिहरूको लस्करै खडा भयो । 

छ्यास्स गरेर एउटा माटोको डल्लो सिद्धार्थको अगाडि खस्यो । ऊ झसङ्ग भएर टाउको उठायो । हजुरबाले पो रहेछ । दहमा निकै लामा सिङ भएको एउटा मृग पानी खाँदै गरेको देखियो । सिद्धार्थले पश्चिमतिरबाट छेक्यो । हजुरबाले दक्षिणबाट । दुईतिर त चट्टान थियो । मृग फन्दामा पर्याे । हजुरबाले सिस ताकेर बन्दुक हाने । मृग पानीमै ढल्यो । गोली लागेको ठाउँबाट बगेको रगत दहभरि फैलियो । 

हजुरबाले ढालेको मृग बाहिर ताने । कोटको खल्तीबाट कर्द निकाले, र राजखानी काटे, र हातमा झुण्डाउँदै सिद्धार्थलाई भने, ‘यो हो, राजखानी । देखिस्?’
सिद्धार्थले जमिनमा भएको माटोको एउटा डल्लो टिप्यो र हजुरबाका निधारमा लाग्ने गरी बेसरी हिर्कायो, र कुद्यो । हजुरबाले पिछा गरे, तर अलि पर पुगेपछि सिद्धार्थ हरायो । उनले हावामा एक राउण्ड गोली पड्काए, अकाशतिर । गोलीको आवाज सुनेर परैबाट वनपाले कराएको सुनियो, ‘के हो, कर्साप? मार्याै कि क्या हो मृग । राजखानी चाहिँ...’

अन्तिम अपडेट: असोज २८, २०७६

महेश पाैड्याल

पाैड्याल त्रिभुवन विश्वविद्यालय, अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक हुनुहुन्छ । उहाँ कवि, कथाकार, उपन्यासकार तथा समालाेचकका रुपमा चिनिनुहुन्छ ।

तपाईको प्रतिक्रिया