यसरी पक्राउ परे विप्लव समूहका २१ नेता

 असोज ३०, २०७६ बिहिबार १९:५३:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - मुस्किलले मुग्रेठा खोलामा ६-७ घर छन् । गाउँसम्म पुग्न मोटर बाटो हुने कुरै भएन । गोरेटो बाटो हुँदै राजपुर गाउँपालिका वडा नम्बर-४ मा पर्ने मुग्रेठा खोला पुगिन्छ । याे नेपाल-भारत सीमा नाका क्षेत्र पनि हो । सुरक्षाको दृष्टिले सुरक्षित गाउँ । यही गाउँबाट नेपाल प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ नेतालाई पक्राउ गर्‍यो ।

मुग्रेठा गाउँमा बैठक हुनुभन्दा एक दिन अघि मात्रै नयाँ मानिसहरुको आउने क्रम सुरु भएको प्रहरी कार्यालयमा गोप्य सूचना पुग्यो । सूचनाको आधारमा प्रहरीले सादा पोशाकका प्रहरी खटायो । केन्द्रीय नेताहरु राप्ती ब्यूरो बैठकका लागि आएको पुष्टि भएपछि प्रहरीले पक्राउ गर्ने योजना बनायो ।

खुल्ला सिमानाका कारण देउखुरीको गढवा र राजपुर गाउँपालिकाको सिमाना क्षेत्रमा विप्लवका नेता कार्यकर्ताको आश्रयस्थल रहेको चर्चा चल्ने गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाका गरी २० जना प्रहरीले बैठक बसिरहेको घर घेरा हालेर पक्राउ गरे । गाडी जाने ठाउँसम्म गाडीमा गएका प्रहरी तीन घण्टासम्म जंगलको बाटो पैदल हिँडेर मुग्रेठा पुगेका थिए ।

त्यहाँ पुग्दा बैठकस्थल वरपर विप्लवका युवाहरु सेन्ट्री बसेर सुरक्षा दिएको पत्ता लागेपछि प्रहरीले रुट परिवर्तन गरेर अर्काे बाटोबाट त्यहाँ पुग्यो र बैठक बसिरहेका नेत्रविक्रम चन्द 'विप्लव'का दाजु चन्द्रबहादुर चन्दसहितका नेताहरुलाई पक्राउ गर्न सफल भयो ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक भट्टराईले उनीहरुको बारेमा शुक्रबार मात्रै सार्वजनिक गरिने बताउनुभयो । सबैलाई बिहीबार दिउँसाे नै जिल्ला प्रहरी कार्यालय दाङमा ल्याएर सोधपुछ सुरु भएको उहाँले बताउनुभयो ।

‘नागरिकता अनुसारको ठेगाना नै बताउँदैनन्’, एसपी भट्टराईले भन्नुभयो, ‘पक्राउ गरिएका सबैले उल्टासुल्टा मात्रै कुरा गर्छन्, हामी छिट्टै घटना सार्वजनिक गर्ने प्रक्रियामा छौँ l’

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया