तालिम सकेर छुट्टीमा नेपाल आएका गमिल ५ महिनाअघि कश्मीर पुगेका थिए

 कात्तिक ४, २०७६ सोमबार १५:२२:५४ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाकिस्तानी सेनासँगको भिडन्तमा ज्यान गुमाएका भारतीय गोर्खा सैनिक गमिलकुमार श्रेष्ठ पाल्पा जिल्लाको रामपुरका रहेको खुलेको छ ।

रामपुर नगरपालिका वडा नम्बर–४, सदावर्तका २४ वर्षीय श्रेष्ठ भारतीय सेनामा भर्ना भएको २७ महिना मात्रै भएको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो । अविवाहित श्रेष्ठको घरमा हजुरबुवा, बुवा, आमा र दाइ–भाउजू हुनुहुन्छ ।

घटनाको जानकारी पाएसँगै उहाँका बुवा, आमा, दाजु–भाउजू र छिमेकीहरु सोमबार बिहानै भारत गएको छिमेकी कृष्ण लम्सालले उज्यालोलाई जानकारी दिनुभयो ।भर्तीपछि तालिम सकेर एक महिने छुट्टीमा घर आउनु भएका गमिल ५ महिनाअघि ड्युटीमा हाजिर हुन कश्मीर पुग्नु भएको थियो ।

गएकाे वैशाखमा १५ दिने छुट्टीमा आएका गमिलले भर्ती हुन भाकल गरेबापत पञ्चबलि पूजा गरी  फर्किनु भएकाे थियाे ।

कक्षा १२ मा पढ्दापढ्दै भारतीय सेनामा भर्ना भएका गमिल निकै मिलनसार र सहयोगी रहेको गमिलसँगै माध्यमिक तहसम्म अध्ययन गरेका दानबहादुर थापाले जानकारी दिनुभयो । 

जेठा बुवाको छोरा दिपक श्रेष्ठ भारतीय सेनामा भर्ना भएपछि गमिल पनि दिपककै सहयोगमा सेनामा भर्ना हुनु भएकाे थियाे  । गमिल मारिएसँगै सदावर्त गाउँ शोकमा डुबेको छ ।

आइतबार राति भारत-पाकिस्तान सीमा मा भारतीय र पाकिस्तानी सेनाबीच भएको दोहोरो भिडन्तमा भारतीय सेनामा कार्यरत राइफ म्यान गमिलसँगै भारतीय सेनाका हवल्दार पदमबहादुर श्रेष्ठको ज्यान गएकाे थियो । मृत्यु हुने दुवै जना गोर्खा रेजिमेन्टमा कार्यरत थिए ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत ६, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया