पउल स्टर्लिङले चितवन टाइगर्सबाट ईपीएल खेल्ने

 माघ २७, २०७६ सोमबार १९:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्याण्डका ब्याट्सम्यान पउल स्टर्लिङ एभरेस्ट प्रिमियर लिग क्रिकेटका लागि चितवन टाइगर्समा आबद्ध भएका छन् ।

गएकाे वर्ष पनि चितवन टाइगर्सबाट खेलेका स्टर्लिङ दोस्रो सिजनमा पनि नेपाल आउन लागेका हुन् । अग्र पङ्तिका ब्याट्सम्यान स्टर्लिङको महत्वपूर्ण प्रदर्शनका कारण चितवन प्लेअफसम्म पुगेको थियो ।

स्टर्लिङ आयरल्याण्डका प्रमुख खेलाडी हुन् । गएकाे महिनामात्र उनले आयरल्याण्डलाई वेस्ट इण्डिजविरुद्ध टी–२० मा चार रनको जित दिलाउन ठूलो भूमिका खेलेका थिए । त्यस खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्काको प्रहार गर्दै ९५ रन बनाएका थिए ।

 

२९ वर्षीय स्टर्लिङले आयरल्याण्डबाट ३ टेस्ट, १ सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय र ७५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । टी–२० मा दुई हजारभन्दा बढी रन बनाउदा स्टर्लिङको स्ट्राइक रेट झण्डै १ सय ४० रहेको छ ।

स्टर्लिङले बङ्गलादेश प्रिमियर लिग, टी–१० लिग र इङ्ग्लिस काउन्टीअन्तर्गत मिडलसेक्सबाट पनि खेलिसकेका छन् ।

चितवन टाइगर्सले खेलाउन लागेका स्टर्लिङ दोस्रो टेस्ट खेल्ने खेलाडी हुन् । यसअघि नै चितवन टाइगर्सले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवं विकेटकीपर मोहम्मद सेहजादलाई आबद्ध गरिसकेको छ ।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीपनाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिलखान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया