जनैको डोरो, श्राद्धको पिण्ड र तीजको दरमा पनि कर !

 भदौ २, २०७५ शनिबार ९:३५:१६ | मिलन तिमिल्सिना
unn.prixa.net

चुनावअघि नेताले धेरै गरे करकर ! नागरिकले पनि सोचे अब त चाहिने नै भो बलियो सरकार । तर सरकार बनेपछि बल्ल थाहा भो सरकारको ठाउँमा बनेछ करको सर अथवा कर मास्टर । अर्थात सरकारसँगै कर उठाउने सर, करका दर र क्षेत्र बढे । 

सरकार नभनेर अब सरकर भन्दा पनि भयो । गाउँगाउँमा सिंहदरबार पुगेसँगै सरकार थपियो । सरकारसँगै कर पनि थपिने नै भयो । कर थपिनुको मुख्य कारण कर खाने सर बढेको पनि बुझियो ।

जन्मनु अघिदेखि मरेर जाँदासम्म करैकर । ओछ्यानबाट उठ्दा कर । उठेर हाई काढ्दा कर । हाई सकेर आङ बटार्दा कर । मोबाइल खोलेर फेसबुकमा बाइ गर्दा कर । चर्पी बस्दा कर । हातमुख धुँदा कर । दाँत माझ्दा कर । भात पकाउँदा कर । खाँदा कर । खाएर चुठ्दा कर । 

घरबाट हिँड्दा कर । गाडी चढ्दा कर । खोलो तर्दा कर । जन्मिदा कर । मर्दा कर । जिउँदै छु भनेर देखाउन कर । जिउन सकिन भनेर हात पसार्दा नि कर । जागिर खाँदा कर । बेरोजगार भएर डुली हिँड्दा पनि कर । कमाउँदा कर, नकमाउँदा पनि कर । रमाउँदा कर, नरमाउँदा पनि कर ।

माछा मार्नेलाई कर, मान्छे मार्नेलाई छैन डर । सडकमा बसेर भिख माग्नेलाई कर, सरकारमा बसेर भिख माग्नेलाई छैन कर ।

बसे कर, उठे कर । हिँडे कर, सुते कर । यता फर्के कर, उता फर्के कर । झोक्राएर बसे कर, टोलाएर हिँडे कर । जताततै कर । चुनाव अघि भोटको करकर, चुनाव पछि हरेक कुरामा कर ! 

गाउँगाउँमा सिंहदरबार पुगेपछि करैकर । दरबारसँगै गाउँ पसेको सिंह देखेर पाइलैपिच्छे डरैडर । गरिखानेलाई डर देखाएर कर उठाउने सिंहरुपी सरकारहरुको करको भोक अझै मेटिएको छैन । कहाँ के निहुँ बनाएर कर थप्न सकिन्छ भनेर दाउ हेर्दै बसेका छन् ।

अब धमाधम चाडपर्व सुरु हुँदैछन् । चाडपर्वको बेला सबैसँग धेरथोर पैसा हुन्छ नै । टीकाटालो, दान दक्षिणा या ऋणसापटी गरेरै भए पनि पैसा थुपार्नेले जसरी पनि सरकारलाई कर तिर्न सक्छ । 

अस्ति नागपञ्चमीको दिन गाईको गोबर, दुबो र नागको फोटोको कर लिन भुलेको सरकारलाई अब आउने हरेक चाडपर्वमा कर लिने बाटो खुलेको छ । नागपञ्चमीपछि जनैपूर्णिमा पर्व पर्खेर बसेको छ । जनैपूर्णिमा हातहातमा डोरो र ज्यानमा जनै भिर्ने तागाधारी र जनै भिराउने पण्डितलाई डोरो र जनै कर लाग्नेछ ।

त्यसपछि श्रीकृष्ण जन्माष्टमी र गौरापर्व आउँछ । कृष्ण जन्माष्टमीमा मन्दिरमा लाइन लागेर मयुरको प्वाँख हातमा बोक्ने चलन छ । त्यसरी मयुरको प्वाँख बोक्नेलाई प्वाँख कर लाग्नेछ । गौरापर्वमा नाचगान गर्ने महिलाले डान्स कर तिर्नुपर्नेछ ।

कुशे औंसीमा कुशको छुट्टै कर तिर्नुपर्छ । त्यही दिन बाबुको मुख हेर्ने चलन छ । अरु दिन बाबुको वास्ता नगर्ने छोराछोरीलाई कुशे औंसीको दिन चाहिँ सित्तैमा किन बाबुको मुख हेर्न दिने ? कुशे औंसीमा बाबुलाई खुशी पार्न खोज्ने छोराछोरीले मुख हेर्ने कर तिर्नुपर्छ । यो करलाई ऐना हेरेको वार्षिक कर भनेर करका सरहरुले आफ्नो तीक्ष्ण बुध्दि प्रयोग गर्ने अवसर पाउनेछन् ।  

त्यसपछि आउँछ तीज । तीजको अघिल्लो दिन दर खाने चलन छ । नामै दर । दर त भन्नु मात्रै हो, खासमा खाने त दुधको तर हो । तर पनि उच्चारण गर्दा नयाँ कर जस्तै र कर उठाउने सर जस्तै सुनिन्छ । तर, कर र दर उस्तै उस्तै शब्द हुन्, हात्ती र हात्ती छाप चपपल जस्तै । त्यसैले, कसैको डर नमानि तर पनि खाने, दर पनि खानेले कर नतिरी दर पच्ने कुरा भएन । दूधको तर हालेर घिउ हालेको भातसहितको दर खानेसँग सकेजति कर लिन किन डर मान्नु ? त्यसैले यस्लाई करका सरहरुले दरको तर कर भनेर सकेजति असुल्न सक्छन् ।

दर खाएको भोलिपल्ट महिलाहरु सबथोक बिर्सेर नाचगानमा भुल्छन् । त्योबेला खर्चको हिसाब हुँदैन । हुनेले मात्र होइन, नहुनेले पनि खर्च गर्छन् । खर्च गर्न नडराउनेसँग कर लिन किन डराउनु ? त्यसैले तीजमा छमछमी नाच्ने महिलाहरुबाट नाचगान कर लिनुपर्छ ।

तीजको पर्सिपल्ट ऋषिपञ्चमी । त्यो दिन दतिवन टोक्ने महिलाहरुबाट दतिवन कर उठाउनुपर्छ । 

तीजपछि सोह्रश्राद्ध आउँछ । श्राद्धको बेला पिण्डमा कर लगाउनुपर्छ । सिदा दान दिएर मरेका पितृलाई बैकुण्ठसम्म तार्न सक्ने पण्डित र पितृ तार्न खोज्ने जजमानले सरकारलाई कर तिर्न सक्दैन भनेर त कल्पना पनि गर्न सकिंदैन । त्यसमाथि एकैदिन ५० ठाउँमा श्राद्ध गर्न पुग्ने, पोकाका पोका सिदा बटुलेर ल्याउने पण्डितले थोरै कर तिर्दा के हुन्छ ? सोहश्राद्धमा पण्डित र जजमान दुवैलाई सोह्र दिने कर भनेर हरेक दिन १६ वटा करको व्यवस्था गर्नुपर्छ ।

सोह्र श्राद्धपछि दसैँ आउँछ । दसैँमा त झन् सबैका गोजीमा पैसा हुन्छ । नयाँ नयाँ कटकट परेका नोट खेलाउने सबैलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मै लगातार कर लगाउँदा पनि केही फरक पर्दैन । जमरा कर, अक्षता कर, आशीष कर, खसीबोका र हाँसकुखुरा कर, नयाँ लुगा कर, ससुराली जाँदा ससुराली कर, मावल जाँदा मावली कर लाउँदा मावली र ससुरालीमा पाएको दक्षिणाको सार्थकता बढ्छ । मावली र ससुराली जाँदा बाटो कर, खोला तरेको कर, सासु ससुरा र मामामाइजूले ढोगेको कर, कोसेली र दानदक्षिणा कर सबै उठाउनुपर्छ ।

तिहारमा पनि थप कर तिर्ने हैसियत सबैमा हुन्छ । फूल कर, माला कर, कुभिण्डो कर, गोबर, भाइटीका कर, भाइमसला कर, झिलिमिली बत्तिमा कर तिर्न सरकारले कर गर्नुपर्छ । देउसीभैली भट्याउनेसँग पनि कर उठाउनुपर्छ ।

छठ, ल्होसार, माघी सबै पर्वमा उसैगरी कर लिने र दिने बानीको विकास गर्नुपर्छ । अझ स्वस्थानी व्रतको बेला बेलपत्र र धतुरोमा कर थप्नुपर्छ । अनि बिहेको लगनमा लिंगाचौका कर, जन्तीबाख्रा कर, सम्धी ढोगभेट कर, मुख हेराहेर कर र हनिमुन कर थप्नुपर्छ ।

यी त कर लिन पल्केका गाउँगाउँका सरकारलाई केही सजिलो उपाय मात्र भयो । अझै कर लिने बाटो खोज्नुपर्छ । जताततै करको दर बढाएर मान्छेको दिमागमा डर भर्नुपर्छ । करको डर बढेपछि मान्छेलाई आफ्नै भर लाग्दैन । गर या मरको अवस्थामा पुग्छ । नागरिक र सरकारको दूरी वर वर हैन, झन् पर पर हुन्छ । त्यसपछि त गाउँको सिंहदरबार केन्द्रमा सर, भत्किन के बेर संघीयताको घर ।
 

अन्तिम अपडेट: कात्तिक १५, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

4 Comments

  • RPPandey, Butwal

    Aug. 19, 2018, 2:36 p.m.

    लेख सटिक र समय सान्दर्भिक छ ।सबै बिषयबस्तुलाई समेटी सरल शब्दमा प्रस्तुतिकरण गर्नु भएकाेमा धन्यवाद ।पुनःः यस्तै मिठास शब्दहरूले भरिएको लेखहरू पठ्न पाईयाेस्, कलम अझ तिखारिएर जावाेस् शुभकामना ।

  • Mohadatta marsani

    Aug. 18, 2018, 10:28 p.m.

    Man xoyo etharthaparak lekh

  • Hari gautam

    Aug. 18, 2018, 12:39 p.m.

    सही लेख, एक कर छुट्यो,हिड्दा कर दौड़ीदा थप कर सास फेरदा कर,हाइ गर्दा कर अर्थात जनप्रतिनिधि लाई घुस खान, फजूल खर्च गर्न गुंडा पालन कर नै कर जनता मर, अर्कोचोटी भोट नहेर्नु।

  • Kamal Chaudhari

    Aug. 18, 2018, 12:32 p.m.

    यस्ता व्यंग्य समाचार किन Social Media मा राखिन्छ ? समाचार लेख्नेले तथ्यगत कुरा खुलाउनु पर्छ र त्यसको सन्दर्भ स्रोत । कहाँ कति कर वृद्धि भयो बिना आधारको समाचार नराखियोस ।

तपाईको प्रतिक्रिया