‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्​, धक्का दिँदा लडेर बेहाेस् भइन् अनि घाँटी थिचेर हत्या गरेँ’

 फागुन ५, २०७७ बुधबार १७:०:५५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – बैतडीको दोगडाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न भएको भनि पक्राउपछि सार्वजनिक गरिएका किशाेरले साबिति बयानमा हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पूरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो । उनी भागरथीका नजिकका भाइ नाता पर्छन् ।  

उनी टिफिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टिफिनमा घर आएका भानदेव भट्ट र लीलाधर भट्टले उनलाई खोचलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढ्ने सनातन धर्म माविबाट झण्डै ५–७ मिनेटको पैदल दुरीमा पर्छ । खोचलेक बजारमा तीनै जना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कति बेला जाने भनेर सोधिन् । भानदेव र लीलाधरले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।  

भानदेव र लीलाधर कपाल काटन सैलुन छिरे । तर उनी त्यहाँबाट भागरथीको भन्दा चार–पाँच मिनेट पछाडि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पूरै कक्षा पढेर आएको जस्ता झुटो कुराले उनीमाथि गहिरो अनुसन्धान सुरु गरिएको थियो । ’उनले विद्यालयबाट हिँडेको समय १ः४५ बजे हो । भागरथी र तीनै जनाको १ः५० मा खोचलेकमा भेट भयो । त्यसपछि घटनास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २ः३० हो । तर उनी ३ः२५ सम्म घटनास्थल नजिकै छन् । ’उनले घरमा पूरै पिरियड पढेर आएको भने पनि पत्याउन नसकिने देखिन्छ’, प्रहरी स्रोत भन्छ, ’तर उनले टिफिनमा कक्षा छोडेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुसन्धान बढी केन्द्रित पारिएको थियो ।’ 

प्रहरीले उनलाई ३ः२५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन् । ’प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ । उनी शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केहीबेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यस दिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो । भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन उनी त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन्’, एक प्रहरी अधिकृतले भने ।

भागरथीकी आमाले भागरथी आइन् र ? भनि सोध्दा उनले नदेखेको बताएका थिए । भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डराएर छटपटिए झैँ हुन्थे’, ती प्रहरी अधिकृतले भने । तर मङ्गलबारको बेलुकी उनले साबिति बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका उनी घटनाको दिन डेढ घण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । भागरथी कक्षा १२ मा पढ्थिन् भने उनी कक्षा ११ मा । उनीहरुबीच दिदी–भाइको नाता पर्छ । तर माघ २१ गते उनी दुई कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउपछि किशाेरको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।’ उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरी स्रोतले जानकारी दियो ।

यस्तो छ साबिति बयान–  

म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आएँ । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीन जना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटेँ र म फटाफट ती भन्दा अगाडि घरतिर लागेँ । घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडि नै पुगिसकेको थिएँ । केही बेरमा भागरथी आइन् । उनी पुग्नेबित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाएँ । ऊ लडी र घाइते भइ । अनि मैले घाँटी थिचेर मारिदिएँ । त्यसपछि म घर हिडेँ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Ramu thapa

    Feb. 17, 2021, 6:16 p.m.

    यस्ता पापी लाई गोली ठोकी हत्यारा लाई मार्न जरुरी छ।नै तो अर्को छोरी को बलात्कार हुने छ

  •  0 Reply

तपाईको प्रतिक्रिया