दीपिका पादुकोण छिट्टै निर्देशक मेघना गुल्जारको फिल्ममा अाउँदै

 असोज २, २०७५ मंगलबार १४:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि कुनै पनि फिल्ममा देखिएकी छैनन् । तर अब भने दीपिकालाई निर्देशक मेघना गुल्जारको फिल्ममा देख्न सकिनेछ । 
मेघना गुल्जारले अभिनेत्री आलिया भट्टलाई लिएर फिल्म ‘राजी’ जस्तो सफल फिल्म निर्देशन गरिसकेकी छिन् । यस फिल्ममा मेघनाले गरेको कामको दर्शक तथा समीक्षकले समेत सराहना गरेका थिए । 

मेघना गुल्जार अब बन्ने नयाँ फिल्मका लागि अभिनेत्रीको खोजीमा छिन् । उनले यस फिल्मका लागि अभिनेत्री दीपिका पादुकोणलाई साइन गर्न सक्ने खबर यतिबेला आइरहेका छन् । तर उनले फिल्मको विषयवस्तु तथा दीपिकाले साइन गरिसकेको बारेमा कुनैपनि आधिकारिक घोषणा भने गरिसकेकी छैनन् । 

दीपिकाले फिल्म ‘पद्मावत’ पछि कुनै पनि फिल्म साइन गरेकी छैनन् । उनले यसो गर्नुको पछाडि यसै वर्ष दीपिका र अभिनेता रणवीर सिंहको विवाहलाई बताइएको थियो । तर अहिले सार्वजनिक खबरहरुका अनुसार दीपिका पादुकोण मेघनाको यस फिल्ममा काम गर्न निकै उत्साहित भइरहेको बताइएको छ । 

केही समय अगाडि दीपिकालाई फिल्म ‘चालबाज’ को रिमेकका लागि प्रस्ताव राखिएको खबरहरु आएका थिए । फिल्म ‘चालबाज’ मा अभिनेत्री श्रीदेवीले दोहोरो भूमिका निर्वाह गरेकी थिइन् । 

यसै फिल्मको रिमेकमा निर्माताहरु दीपिकाका साथ काम गर्न चाहिरहेका थिए । यतिबेला मेघनाको अब बन्ने फिल्म ‘चालबाज’ नै रहेको अनुमान भारतीय मिडीयाहरुले लगाइरहेका छन् भने दीपिका पादुकोण श्रीदेवीले यसअघिको ‘चालबाज’मा निर्वाह गरेको भूमिकामा देखिने खबर यतिबेला चर्चाको विषय बनेको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया