नाना पाटेकरपछि निर्देशकमाथि पनि आरोप लगाउँदै तनुश्रीले भनिन् : मलाई कपडा खोलेर नाच भनेका थिए

 असोज १२, २०७५ शुक्रबार १३:४६:५८ | एजेन्सी

अभिनेत्री तथा पूर्व मिस इन्डिया तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइरहेका बेला यो विवादले बलिउडमा लुकेको कालो कर्तुतलाई बाहिर ल्याइरहेको छ ।  

यसअघि सम्म नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै आइरहेकी तनुश्रीले एक अर्का निर्देशकले उनीमाथि गरेको दुर्व्यवहारको समेत खुलासा गरेकी छिन् ।  चर्चित निर्देशक विवेक अग्निहोत्रीले आफूलाई कपडा फुकालेर नाच्न भनेका तनुश्रीले आरोप लगाएका छन् । 

तनुश्रीले एक अन्तर्वार्तामा भनिन्,  ‘फिल्म ‘चकलेटः डीप डार्क सीक्रेट’ का निर्देशक विवेक अग्निहोत्रीले कपडा खोलेर अभिनेता इरफान खानका अगाडि नाच भनेका थिए ।  यसले अभिनेतालाई अभिनय गर्न सजिलो हुने पनि बताएका थिए ।’ सन् २००५ मा प्रदर्शन भएको फिल्म ‘चकलेट’ मा तनुश्रीका अलावा अनिल कपूर, सुनील शेट्टी, इरफान खान र इमरान हाशमीको मुख्य भूमिकामा थिए । 

निर्देशक अग्निहोत्रीले  तनुश्रीसँग यस्तो व्यवहार गरेपछि अभिनेता इरफान खान सुनिल शेट्टीले अग्निहोत्रीको विरोध गरेका थिए । 

तनुश्री यसअघि अभिनेता नाना पाटेकरले फिल्म ‘हर्न ओके प्लिज’ को सेटमा आफूलाई गलत तरिकाले छुने प्रयास गरेका बताउँदै आएकी छिन् । साथै नाना पाटेकरले आफूमाथि दुर्व्यवहार गर्दा फिल्मका निर्देशक राकेश सारंग र कोरियोग्राफर गणेश आचार्य चुपचाप तमाशा हेरेर बसेको बताएकी छिन् । तनुश्रीको यस कुराको खुलासापश्चात अभिनेता फरहान अख्तर, प्रियंका चोपडा, स्वरा भास्कर, रिचा चड्ढा र ट्वीकंल खन्ना यतिबेला तनुश्री दत्तालाई साथ दिइरहेका छन् । 

नाना पाटेकरले भने : म तनुश्रीमाथि कानुनी कारबाही गर्छु

कोरियोग्राफर गणेश आचार्यले तनुश्रीले झुट बोलेको भन्दै नाना पाटेकरको बचाउमा बोल्दा तनुश्रीले कोरियोग्राफरले झुट बोलेको बताएकी थिइन् । अहिले नाना पाटेकर स्वयम यस विषयमा बोलेका छन् ।

मिडियाका साथ कुराकानीको क्रममा नाना पाटेकरले तनुश्रीले आफूमाथि लगाएका सबै आरोप झुट रहेको बताएका छन् । उनले भने, ‘म कसरी भन्न सक्छु कि उनी यो सब किन गरिरहेकी छिन् ? म यो पनि कसरी भन्न सक्छु यो सब केका लागि गरिरहेकी छिन् ? उनका अनुसार यौन शोषणको मतलब के हो ? सेटमा म सँग ५० देखि १०० जना व्यक्तिहरु हुन्थे ।’  

नानाले अगाडि भने, ‘म उनकाविरुद्ध कानुनी कारबाही गर्नेछु । तर यो सब कुरा मिडियालाई भनेर केही फाइदा छैन । किनकी तपाईँहरु त जे पनि चलाउनु हुन्छ । जसलाई जे भन्नु छ भनिरहून्, म आफ्नो काम गरिरहने छु ।’ 

लामो समय अमेरिका बसेर भारत फर्किएकी तनुश्रीले यसरी आरोप लगाइरहँदा कोरियोग्राफर गणेश आचार्य र निर्देशक राकेश सारंगले तनुश्रीले बलिउडमा कमब्याक गर्नका लागि र चर्चित बन्नका लागि यो सब गरिरहेको आरोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया