खै सडकमा सुरक्षा र सभ्यता ?

 कात्तिक १८, २०७५ आइतबार १७:२२:१ | रामचन्द्र मिश्र
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौंमा प्राय सबै सडकहरु अस्तव्यस्त छ । चाहिने ठाउँमा जेब्रा क्रसिङ छैन । आकाशे पुल छैन ।

बेला बेलामा बीच सडकबाट ढल निस्कने, जथाभावी सडकहरु खनेर सडक पुरै धुलाम्मे हुनु त सामान्य नै हो । सामान्य यस अर्थमा कि यस्ता समस्या नेपालीलाई सामान्य लाग्छ । धुलो धुवाँ काठमाडौंका सडकमा देख्न र भोग्न पाइएन भने तरकारीमा नून नलागेजस्तै हुन्छ ।

धुवाँ र धुलोले काठमाडौंका बासिन्दाको दैनिकी अस्तव्यस्त बनाएको छ । त्यसमाथि बेलाबेलामा विकासका लागि भनेर खनिएका सडक समयमै नपुरिदिँदा झनै समस्या हुने गरेको छ ।

गाउँबाट काठमाडौंमा आएका सर्वसाधारण काठमाडौंसँगको हावापानीमा परिचित हुन तीन महिना लाग्छ । तीन महिनामा व्यक्तिले दुई चारपटक अस्पताल जानुपर्छ । औषधी खाएर निको भएपछि काठमाडौंको हावापानीसँग चिरपरिचित हुन्छ ।

मास्क नलगाई सडकमा हिँड्नु पर्यो भने अवश्य त्यो व्यक्ति बिरामी पर्छ । यो समस्या त तत्काल समाधान गर्न नसकिएला । व्यवस्था पनि उस्तै फितलो छ ।
प्रायः सडकका आवश्यक ठाउँमा जेब्रा क्रसिङ छैन । भएका ठाउँबाट बाटो पार गर्दा पनि डर हुन्छ । बाटो काट्न जेब्रा क्रसिङमा उभिंदा दायाँबायाँका गाडी रोकिंदैनन् ।

पैदलयात्रुले बाटो काट्न थालेपछि त गाडी रोकिनुपर्ने होइन र ? तर हाम्रोमा किन यस्तो व्यवस्था छैन । पैदलयात्रीलाई किन पहिलो प्राथमिकता दिईंदैन ?
पैदलयात्रुले पनि जथाभावी बाटो काट्छन् । सडक सुरक्षाको लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको पनि छ । तर पर्याप्त भने छैन ।

सरकारले सवारी जाँच गरेर अत्यधिक धुवाँ निकाल्ने सवारी साधनलाई कारबाही गर्ने भने पनि अझै पुराना सवारी सञ्चालनमै रहेका छन् । तीव्र गतिमा गाडी चलाउने प्रवृत्ति त्यस्तै छ । ट्राफिकले जरिवाना लिएर मात्र हुन्छ र ?

एक त जेब्रा क्रसिङबाट बाटो काट्ने परिपाटी छैन, अर्को बाटो काट्न पैदल यात्री सडकमा हिँड्न लागेको देखे भने नजिकै आइपुगेका गाडी चालकले त्यति वास्ता गर्दैनन् । पैदलयात्रुले बाटो काट्दा केहीबेर गाडी रोकेर बस्न नसक्ने चालकको यस्तो व्यवहारले धेरै दुर्घटना हुने गरेको छ ।

असीमित मात्रामा रहेको निजी सवारी साधनका कारण धेरै ठाउँमा अव्यवस्थित पार्किङ सामान्य भैसकेको छ । कति ठाउँमा त पैदल यात्रु हिँड्ने ठाउँ पनि हुँदैन ।
सडक बनाउने कारण होस् वा भत्केका सडक वास्ता नगर्ने सोचका कारण सवारी र पैदल यात्रु दुवैलाई ठूलो चुनौती थपिएको छ । जताततै ढलहरु फुटेको देखिन्छ । अझै बर्खाको समयमा ढल जाने ठाउँ टालिएका कारण जताततै फोहोर पानी बगेको निस्केको देखिन्छ । हिउँदमा धुलोको उस्तै समस्या हुन्छ ।

कतै ढल बगिरहेको हुन्छ । कतै फोहोरको डंगुर थुपारिएको हुन्छ । कतै पशु चौपायले सवारी सञ्चालनमा असहजता थपिरहेको देखिन्छ । सडकमा असरल्ल तारहरु पनि छोडिएका हुन्छन् । कतिपय सडकमा सडक संकेतहरुको पनि अभाव देखिन्छ ।

भएका धेरै ट्राफिक लाइट पनि ब्रिगेका छन् । नबिग्रेका ट्राफिक लाइट पनि सञ्चालन नहुँदा सडक आवत–जावतमा धेरै समस्या  भएको छ । सामान ओसार प्रसार गर्न होस् वा भवन निर्माण गर्न अथवा सामान झार्न होस् वा व्यापार गर्न पैदल यात्रु हिँड्नका लागि बनाएको सडक व्यापारीले कब्जा गर्ने गरेका छन् ।

सडकमा सवारी दुर्घटना हुन्छ । दुई चार जना नागरिकको ज्यान जान्छ अनि मात्र सम्बन्धित निकाय झल्याँस्स भएजस्तो गर्छन् । त्यसभन्दा अगाडि सडक प्रयोगको सुरक्षामा कसैले ध्यान दिने गरेको देखिँदैन ।

सडक पेटीमा माग्न बसेका व्यक्तिहरु त्यस्तै हुन्छन् । दुःख र पीडा देखाएर बेवारिसे तरिकाले माग्न बसेका नागरिकको कसले उद्दार गर्छ ? सडकको छेउछाउ बोटबिरुवा हुनुपर्ने हो, तर छैन । गएको सार्कको बैठक अगाडि रुख रोप्ने केही अभियान पनि चलेको थियो । तर निरन्तरता छँदै छैन । सबै देखावटी काम । भएका बिरुवाको पनि संरक्षण छैन । केही दशकमै यस्तो तरिकाले काठमाडौं शहर बस्नै नहुने हुँदैन र !

अब काठमाडौंको सडकमा पुनः हरियाली कहिले आउँछ ? सडकमा पुल तथा जेब्रा क्रसिङ कहिले बनिसक्छ ? अनि सडकमा बेवारिसे तरिकाले फालिएका फोहोरको व्यवस्थापन समयमै कहिले हुन्छ ? कसले गर्छ ? प्रश्नको उत्तर सजिलो छैन ।
 

अन्तिम अपडेट: कात्तिक २६, २०७५

रामचन्द्र मिश्र

उज्यालाेकर्मी मिश्रलार्इ फेसबुक ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया