वर्ष दिनदेखि महुरे–राजापानी सडक कालोपत्रकाे काम ठप्प

 पुस ११, २०८० बुधबार १६:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

ठेकेदारको लापर्बाहीका कारण अलपत्र परेको खोटाङको महुरे–सिमपानी सडक

खोटाङ – खोटाङको महुरे–राजापानी सडक कालोपत्रको काम वर्ष दिनदेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले २०७९ पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो ।

गाडी, क्रसरलगायतका मेशिन उठाएर हिँडेको ठेकेदार निर्माणस्थलमा नफर्किएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । २०७९ पुस अन्तिम हप्तादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले २०७९ माघ ४ गते क्रसरको सामान उठाएर लगेको थियो । निर्माण व्यवसायीले भाडामा ल्याएका गाडी र क्रसर मेशिन भने कम्पनीका मालिक आएर लगेका हुन् । २०७७ सालमै कालाेपत्र सम्पन्न हुनुपर्ने सडकलाई ठेकेदारले अलपत्र पारेपछि ठेक्का तोड्नका लागि गएकाे असोजमा सडक विभागसमक्ष सिफारिस गरेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका इन्जिनियर नारायणबहादुर थापाले बताउनुभयाे ।

भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने सर्तमा २०७३ असार ३० गते २२ किलाेमिटर लामाे महुरे–राजापानीको सिमपानी सडक कालोपत्र योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको अहिलेसम्म झन्डै ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ । निर्धारित समयमा काम गर्न नसकेकाे भन्दै आयाेजनाले कम्पनीलाई २०७९ माघमा १४ दिनको १३ लाख ९९ हजार सात सय १९ रुपैयाँ जरिबाना गरिसकिएको छ । २०७९ मङ्सिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको छ दशमलव पाँच किलोमिटर सडक कालाेपत्र गर्न नसकेपछि २०७९ पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक एक लाख रुपैयाँको हाराहारीमा जरिबाना लगाउन शुरु गरेको कार्यालय उदयपुरले जनाएको छ ।

सिमपानी भञ्ज्याङ–फोक्सिङटारको ठेक्का पुनः खुल्दै

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का तोडेर पुनः ठेक्का आह्वान गर्ने प्रक्रिया अघि बढेको छ । ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/म्पाचे जेभीले काम अलपत्र पारेपछि ठेक्का तोडेर नयाँ ठेक्का खुलाउने तयारी भइरहेको इन्जिनियर थापाले बताउनुभयाे ।ठेक्का तोड्ने निर्णयविरुद्ध ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दायर गरेकाे थियो तर अदालतले रिट खारेज गर्ने फैसला गरेपछि ठेक्का तोड्ने र प्रक्रिया पूरा गरेर पुनः अर्को ठेक्का खुलाउने बाटाे खुलेको हो । 

दिक्तेल–गाईघाट सडक खण्डअन्तर्गत सुनकोसी नदीको फोक्सिङटारमा रहेकाे पुल

देवनारायण पवन/मैनाचुली/खाम्पाचेले ५५ करोड ८७ लाख रुपैयाँमा २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने गरी २०७३ साउन ११ गते गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ( एक सय एक किलोमिटर) को महुरे–फोक्सिङटार सडक खण्डअन्तर्गत फोक्सिङटार–सिमपानी सडक कालोपत्रको सम्झौता गरेको थियो ।

तस्बिर : दमन राई

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया