च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भोजपुर – टेम्केमैयुङ गाउँपालिका ६ का सुनिल गजमेरलाई पहिले गाउँमा बसेर कमाई गर्न सकिन्छ भन्नेमा पटक्कै विश्वास थिएन । बाबु बाजेले खुकुरी बनाउने काम गरेर राम्रो आयआर्जन गर्दै आए पनि उहाँलाई यो पेशा मन परेन । त्यसैले ७ वर्षअघि उहाँ काम खोज्दै मलेसिया पुग्नुभयो ।
मलेसियामा राम्रो कमाई नभएपछि उहाँ गाउँमै फर्कनुभयो । मलेसियाबाट कमाएर ल्याएको पैसा जाँदा आउँदा लागेको ऋण तिर्दै सकियो । कमाएको पैसा सकिएपछि सुनिल फेरि कतार जानुभयो । कतारमा पनि कम्पनीले राम्रो तलब नदिएपछि उहाँ डेढवर्ष नपुग्दै घर फर्कनुभयो ।
पटक–पटकको वैदेशिक रोजगारले घर समेत नचलेपछि सुनिलले आफ्नै पुख्र्यौली पेशा खुकुरी बनाउने काम थाल्नुभयो । मलेसिया र कतारमा बगाउने पसिना आफ्नै ठाउँमा बगाउनुपर्छ भन्ने सोचले २०७० सालदेखि बाबुसँगै खुकुरी कारखाना खोलेर व्यवसाय सुरु गरेका उहाँले अन्ततः विदेशभन्दा स्वदेशमै राम्रो आम्दानी गर्नुभएको छ । निरन्तरको लगाव र परिश्रमले खुकुरी कारखानाबाटै उहाँले सदरमुकाम छेउमै पक्की घर समेत किन्नुभएको छ ।
सुनिल भन्नुहुन्छ, ‘विदेशमा काम गर्दा बिरामी समेत भन्न पाईँदैनथ्यो, काममा गइएन भने मालिकले तलब काटिदेला भन्ने डर हुन्थ्यो, समयमा पुगेर काम गर्नुपर्ने बाध्यताको नोकरीभन्दा त स्वदेशमै दुःख गरे परिवारसँग बसेर एकछाक आनन्दले खान पुग्छ ।’
विदेशमा १ं८ घण्टा काम गर्दा पनि महिनाको ३० देखि ३५ हजार रुपैयाँ तलब बुझ्न मुश्किल हुन्थ्यो । अहिले खुकुरी बनाएरै मासिक ७० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उहाँ सुनाउनुहुन्छ ।
भोजपुरे खुकुरीको निकै ठूलो माग छ । यहाँबाट लाखौँ रुपैँयाका खुकुरीहरु जिल्ला बाहिर निकासी हुने गरेको छ । खुकुरी बनाउने काममा निकै मेहनत र परिश्रम गर्नुपर्ने भए पनि समयमै आर्थिक उन्नति गर्न सकिने गजमेहर बताउनुहुन्छ । ‘पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने हैन । आफ्नो हातमा जुन सीप छ, त्यही पेशालाई माया गरेर परिश्रम गरे विदेशमा कमाईनेभन्दा दोब्बर कमाई गर्न सकिंदो रहेछ’ उहाँले भन्नुभयो ।
खुकुरी बनाउने उद्यमबाटै सफल बनेका भोजपुर नगरपालिका १०, भैँसीपंखा खुरिल्लाका ३० वर्षीय घनश्याम विश्वकर्मा पनि २०६७ सालमा कुवेत पुग्नुभएको थियो । राम्रो कमाईको आशमा ऋण गरेर कुवेत पुगेका घनश्याम ३ वर्षपछि स्वदेश फर्कनुभयो । कुवेतमा मासिक ४५ हजार कमाउन दैनिक १६ घण्टा ड्युटीमा खटे पनि घरखर्च धान्नै गाह्रो हुने भएपछि आफ्नै ठाउँमा पुख्र्यौली पेशालाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
२०७० सालमा उर्मिला आरन उद्योगमा काम गर्न थालेपछि उहाँलाई यहीँ विदेश लागेको छ । सबै खर्च कटाएर कम्तिमा २० हजारदेखि ३५ हजार रुपैयाँसम्म मासिक वचत हुने गरेको घनश्याम बताउनुहुन्छ ।
‘सीप हुँदा नेपालमै राम्रो कमाई हुन्छ, विदेशै धाईरहन जरुरी छैन’ विश्वकर्माले भन्नुभयो, ‘यो पेशालाई व्यवस्थित बनाउन सीपको जरुरी छ । विदेशमा पोखिने श्रम र पसिनाबाट हाम्रै पाखो भित्तामा पनि सुन फलाउन सकिने रहेछ ।’ प्रत्येक १० इञ्चका खुकुरी बराबर ५ सय रुपैँया पारिश्रमिक लिने घनश्यामले दिनमा चार वटासम्म खुकुरी बनाउन भ्याउनुहुन्छ ।
खुकुरी बनाउने पेशालाई निरन्तरता दिन सकेमा विदेशमा भन्दा बढी आम्दानी गर्न सकिने अर्का उद्यमी गणेश गजमेर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आरनमा गाह्रो र काम गर्न सक्नेका लागि यो पेशाले रामै्र सन्तुष्टी दिन्छ । यो पेशाप्रतिको चासो लिने युवालाई पैसा कमाउन विदेशै गइरहन पर्दैन ।’
उहाँलाई महिनामा ३ सयदेखि ४ सय ५० को हाराहारीमा खुकुरीको माग आउने गरेकाले भ्याइनभ्याई हुन्छ । विशेषगगरी दसैँ, तिहार जस्ता चाडबाडमा कारखानामा खुकुरीको माग बढी हुने गरेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष दसैँमा मात्र उहाँले खुकुरी बेचेर दुईलाख रुपैयाँ कमाउनुभएको थियो ।
वि.स. १९६५ सालतिरबाटै भोजपुरमा खुकुरी बन्न थालेको हो । २०२७ सालमा राजा महेन्द्र आफ्नोे राजकीय भ्रमणको क्रममा भोजपुर आउँदा बोखिम भन्ने ठाउँका एक आरन शिल्पकारले खुकुरी उपहार स्वरुप दिएका थिए । खुकुरीको कौशलबाट आकर्षित बनेपछि राजा महेन्द्रले त्यस समयको एक हजार रुपैँया उनलाई बक्सिस स्वरुप दिएका थिए । त्यही समयदेखि भोजपुरे खुकुरीले लोकप्रियता पाएको कथन छ ।
जिल्लाको सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारमा ३५ बढि भोजपुरे खुकुरी बनाईने गरिन्छ । अन्तर्राष्ट्रियस्तरमा ख्याती पाएको चर्चित भोजपुरे खुकुरीको माग प्रशस्त भए पनि कच्चापदार्थ र दक्ष कालिगढको अभावमा माग अनुसारको उत्पादन धान्न नसकिएको उर्मिला आरन उद्योग सञ्चालन गर्दै आएका उद्यमी हिरा श्रेष्ठले बताउनुभयो ।
अन्तर्राष्ट्रियस्तरमा व्यापारिक कुटनीतिक सम्झौता हुन सकेमा यही पेशाबाट हजारौँ युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उद्यमी श्रेष्ठ बताउनुहुन्छ । छिमेकी जिल्ला चीन र भारतबाट माग हुने गरे पनि खुला व्यापारिक नीति नहुँदा निकासीमा कमी आएको उहाँले बताउनुभयो । ‘चीन भारतमा भाला, तरवार जस्ता हातहतियारलाई वैधता दिएको छ तर नेपाली खुकुरीलाई अवैध भन्दै रोक लगाएको कारण पनि यहाँ उत्पादित खुकुरी बाहिर निर्यात हुन नसकेको हो । यसका लागि राज्यले नयाँ नीति बनाउन आवश्यक छ’ उहाँले भन्नुभयो ।
करिब डेढ वर्ष अघिसम्म करोडाैंको भोजपुरे खुकुरीको निकासी हुने सदरमुकाममा संघीय संरचना बनेपछि भने बजार केही सुस्ताएको व्यावसायीहरु सुनाउँछन् । स्थानीय तहमा बजार विस्तार भएसँगै ग्रामिण भेगबाट खुकुरीका लागि आउने मानिसको संख्या घटेको उनीहरु सुनाउँछन् ।
तर आकर्षक बुट्टाले भरिपूर्ण हुने भएकाले भोजपुरे खुकुरीले देश–विदेशमा पनि उत्तिकै चर्चा बटुलेको छ । भोजपुरे खुकुरीहरु धरान, उदयपुर, खाँदबारी, काठमाडौँ हुँदै बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, ईटाली, स्पेन लगायत पश्चिमा युरोपेली देशहरुमा मायाको चिनो, सजावटको लागि पुग्ने गर्छ । त्यस्तै छिमेकी देश भारत, चीनसँगै हङकङ, सिंगापुर, बहराईन, जापान, कोरियातिर पनि राम्रै निकासी हुने गरेको यहाँका उद्यमीहरु बताउँछन् ।