फाल्गुनन्द गोल्डकप : पहिलो सेमिफाइनलमा आज चर्च ब्वाइज र फिदिम ...
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – ओमान र युएईसँग गरिने श्रम सम्झौताबारे छलफल गर्न नेपाली टोली शनिबार ओमान गएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली बिहान ओमान गएको हो ।
सम्झौताका लागि ओमानले दुई महिनाअघि खाका पठाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको पाँच सदस्यीय टोलीले ओमानको प्रस्तावमा छलफल गरेर आफ्नो प्रस्ताव तयार पारेको छ ।
नेपालले ओमानसँग श्रमिकमाथि व्ययभार तथा ठगीमा नपर्ने गरी श्रम सम्झौता गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । एमओयूमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बीमा, महिना पूरा भएको निश्चित समयमा तलब बैंक खातामै दिनुपर्ने व्यवस्था र राहदानी कामदारले राख्न पाउने गरी प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ ।
शनिबार ओमान गएको नेपाली टोलीले आइतबार र सोमबार वार्ता गर्नेछ । ओमासँगको वार्तापछि टोली त्यतैबाट यूएई जानेछ । यूएईसँग बुधबार र बिहीबार छलफल हुनेछ । यूएईसँग भने यसअघि भएको श्रम समझदारी नवीकरणका लागि छलफल हुने मन्त्रालयले जनाएको छ ।
यूएईसँग सन् २००७ मा एमओयू भएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक जाने देशहरुसँग श्रम सम्झौता गर्ने र भएका समझदारीहरुको पनि नवीकरण गर्ने निर्णय गरेपछि यूएईले डेढ महिनाअघि नवीकरणका लागि एमओयूको मस्यौदा पठाएको थियो । दुवै देशसँग गरिने सम्झौता र समझदारीमा शून्य लागतलाई जोड दिने सरकारले जनाएको छ ।
टोलीले वार्ता गरेर नेपालको प्रस्तावमा छलफल गरेपछि सहमति गर्न सकेमा दुवै सरकारको मन्त्रीस्तरमा हस्ताक्षर हुनेछ । काठमाण्डौमा सम्पन्न नेपाल कोलम्बो प्रोसेसको बैठकले शून्य लागतमा कामदार पठाउने निर्णय गरेको र जीसीएम (ग्लोबल कम्प्याक्ट फर माइग्रेसन) का धेरै सदस्य देशहरु पनि शून्य लागत कार्यान्वयन गर्न सहमत भएकाले नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी शून्य लागतमा समझदारी गर्न लागेको हो ।
सरकारले यसअघि मलेसियासँग दुई पक्षीय श्रम सम्झौता गरिसकेको छ । सम्झौता भएको लामो समयसम्म पनि कामदारका लागि मलेसिया जाने बाटो नखुलेको भन्दै आलोचना भइरहे पनि सरकारले आउँदो मार्चदेखि कामदार जान पाउने बताएको छ । मलेसियाले मार्चबाट नयाँ प्रणालीमार्फत कामदार लान सुरु गर्ने भएकाले त्यसपछि नेपालीका लागि मलेसियाको रोजगारी खुल्ने मन्त्रालयको भनाई छ ।
यसैविच नेपालले कतारसँग पनि पुनः श्रम सम्झौता गर्न आन्तरिक तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । फागुन १५ भित्रै नेपाल र कतारका प्राविधिक टोलीबिचमा छलफल हुनेछ ।
कतारसँग यसअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । तर सम्झौताले नेपाली कामदारको सुरक्षाका विषय समेट्न नसकेकाले सरकारले कतारसँग फरी नयाँ श्रम सम्झौता गर्ने भएको हो ।