`साउनदेखि नै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुन्छ ´

 असार २०, २०७६ शुक्रबार १७:४६:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सामाजिक सुरक्षा कोष संकलनको काम  साउनदेखि सुरु हुने बताउनुभएको छ ।

शुक्रबार काठमाण्डौमा भएको कार्यक्रममा उहाँले सामाजिक सुरक्षा कोषमा सूचीकृतको संख्या उत्साहजनक नभए पनि कोषमा रोजगारदाता र श्रमिक सूचीकृत हुने काम भइरहेकाले साउनदेखि नै कार्यक्रम लागू हुने बताउनुभयो ।

अहिलेसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगारदाता कोषमा सूचीकृत भएको उहाँले जानकारी दिनुभयो । कोषमा बारेमा बुझाइमा कमी भएका कारण पनि कोषमा सूचीकृत हुनेको संख्या कम भएको उहाँको भनाइ छ ।

कार्यक्रममा अधिवक्ता गान्धी पण्डितले सबै श्रमिकलाई अवकाशपछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको कार्यक्रम उपयोगी रहेको बताउनु भयो ।

कोषले सेवा अवकाशपछि दिने उपचार खर्च लगायतको सुविधा गरिब समूदायको हितमा रहेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेहरुको संख्या अहिलेलाई उत्साहजनक नरहे पनि त्यसप्रति आकर्षण बिस्तारै बढ्दै जाने कार्यकारी निर्देशक अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया