विदेशबाट फर्किएर जुत्ता सिलाउने काममा रमाउँदै जगत

 साउन १४, २०७६ मंगलबार १४:२:४३ | मुना हमाल

सुर्खेत – वीरेन्द्रनगर १० खजुराका ४१ वर्षीय जगतबहादुर  सार्कीकाे हातमा जुत्ता सिलाउने सीप थियाे । तर जुत्ता सिलाएर घरका कतिवटा भ्वाङ टाल्नु !जगतबहादुरलाई लाग्यो बरु विदेश गएर कमाउँछु । दुई, चार वर्ष विदेशमा दुःख गर्ने र फर्किएर बाँकी जीवन सुखैले बिताउने उहाँको योजना थियो । 

तर साउदीको तातो गर्मीमा बगेका पसिनासँगै उहाँका सपना पनि बगे । न जानेबेलामा भनेजस्तो काम र तलब मिल्यो, न अरु सेवासुविधा । तर उहाँलाई विदेशको दुःखले स्वदेशमै गरीखान सक्ने बनाएको छ । २०७४ सालमा साउदी गएका उहाँ २५ महिना बसेर घर फर्किनुभयो ।

२५ महिना साउदीमा पसिना बगाउँदा पनि नमिलेको घरव्यवहार जगतबहादुरले हिजोआज आफ्नै ठाउँमा जुत्ता सिलाउँदै मिलाउन थाल्नुभएको छ । 

सडक छेउमै संसार

साउदीको चर्को घाम । खलखली पसिना बगायो । तर महिना मरेपछि पैसा आउँदा मेहनत अनुसार थोरै जस्तो लाग्थ्यो जगतलाई । काम ठूलाठूला गडीमा सामान राख्ने र निकाल्ने गनुपर्थ्यो । तर अहिले आफ्ने ठाउँमा सडक पेटीमा मन लगाएर काम गर्दा घर चलेको छ । परिवारको साथ मिलेको छ । 

‘ठूलाठूला गाडीमा सामान लोडअनलोड गर्नुपर्ने काम थियो, तर यहाँ त सानो काम भए पनि आफ्नो सीप आफ्नो काम, मन यतै रमेको छ,’ उहाँ भन्नुहुन्छ । 

जुत्ता सिलाउने सीप जगतले बुवाबाट सिक्नुभएको हो । बुवाबाट सिकेको सीप नै अहिले जगतको साँझ बिहान चुल्हो बाल्ने आधार बन्यो । 

बिहान खाजा खाएर ८ बजे उहाँ वीरेन्द्रचोकमा पुग्नुहुन्छ । दिनभरी जुत्ताचप्पल, छाता, झोला सिलाउने गर्नुहुन्छ । दिनको एक हजारदेखि १२ सय रुपैयाँसम्म कमाइ गर्नुहुन्छ । यहाँको कमाइले साउदीको कमाइलाई जितेको छ । साउदीमा मुश्किलले महिनाको २५ देखि ३० हजार रुपैयाँ कमाइ हुन्थ्यो ।

‘अरुको ठाउँमा दुःख गरेर परिवारबाट टाढिनुभन्दा यहीँ नै आफ्नो सीप प्रयोग गरेर सानोतिनो व्यवसाय सुरु गर्न ठिक हुनेरहेछ,’ उहाँ सुझाव दिँदै भन्नुहुन्छ, ‘ठूलो सपना लिएर विदेश जानुभन्दा सबैले सानोतिनो सीप सिकेर भए पनि आफ्नै ठाउँमा केही गर्दा राम्रो हुन्छ ।’ 

सडकमा छेउमा बसेर काम गर्नेलाई कहिलेकाहीँ अरु मानिसले हेपेर बोल्ने गरेको  उहाँ सुनाउनुहुन्छ । ‘काम सानोठूलो हुँदैन तर पनि सबै मानिस एउटै हुँदैनझ कहिलेकाहीँ नराम्रो शब्द पनि सुन्नु परेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ,‘कामलाई सानोठूलो भन्दा नै हामीले अरुको ठाउँमा गएर दुःख पाउँछौँ, आफ्नो सीपले बाँच्न सिक्नुपर्छ ।’ 

उहाँले अहिले यो कामबाट घरखर्च मात्र होइन तीन छोराछोरीको पढाई खर्च समेत धान्नु भएको छ । आफूले जे जस्तो दुःख भोगे पनि पनि छोराछोरीले दुःख नपाउन् भनेर जसरी भए पनि छोराछोरी पढाउने अठोट लिनुभएको छ । 

सरकारले विदेशबाट फर्किएकालाई ऋण दिने कुरा सुनेपछि उहाँमा केही आश पलाएको छ । ‘हातमा जुत्ताचप्पल बनाउने सीप छ, सरकारले ऋण दियो भने व्यवस्थित रुपमा व्यवसाय गर्न सकिन्छ कि भन्ने आशा छ’ उहाँले भन्नुभयो, ‘यसका लागि प्रमाणपत्र बनाएको छु,  ऋण पाएँ  भने व्यवसाय गर्ने योजनामा छु ।’

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया