सातौँ सामाजिक सुरक्षा दिवस : दीगो पेन्सन र गुणस्तरीय स्वास्थ्य सेवाको लागि कोषमा आबद्ध हुन आग्रह

 मंसिर ११, २०८१ मंगलबार ७:४६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आज सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदैछ । सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई यसकै आधारमा २०६७ साल चैत ७ गते भएको थियो ।

सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुभारम्भ भने २०७५ मङ्सिर ११ गते भएको थियो । त्यसैले कोषले मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गर्दछ ।

सामाजिक सुरक्षा कोषमा श्रमिक र स्वरोजगारहरुलाई समावेश गरेर पुग्दो र दीगो पेन्सनको सुविधा सुनिश्चित गर्ने बाटोमा अग्रसर भएको कोषका सूचना अधिकारी उत्तमराज नेपालले उज्यालोलाई जानकारी दिनुभएको छ । यस्तै सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको दिशामा पनि कोष सफल हुँदै गइरहेको उहाँको भनाइ छ ।

दीगो र पुग्दो पेन्सन र भरपर्दो स्वास्थ्य उपचारको लागि कोषमा आबद्ध हुनुपर्ने उहाँले बताउनुभएको छ । श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत काट्ने र यसमा रोजगारदाताको २० प्रतिशत थपेर सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन्छ । यसवापत पेन्सनसहित विभिन्न सुविधा प्राप्त हुन्छ ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रका र वैदेशिक रोजगारीमा गएका श्रमिकका १८ वर्षमुनिका छोरा–छोरीलाई पनि स्वास्थ्य सुविधामा समेटिएको छ । यस्तै सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वाषिर्क एक लाखसम्मको औषधि उपचार सुविधा पाउने गर्दछन् ।

कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना हुन्छ । यसैगरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ ।

स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअनुुसार सुविधा पाउँदै आएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

कोषका अनुसार अहिलेसम्म १९ हजार सात सय ६९ रोजगारदातामार्फत १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ताले रकम जम्मा गरिरहेका छन् । अहिलेसम्म ६८ अर्ब ३८ करोड रुपैयाँ भन्दा धेरै योगदान रकम जम्मा भएको छ भने ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानीको निवेदन प्राप्त भएको छ ।

एक अर्ब ४८ करोड रुपैयाँ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम, १५ करोड २१ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम, १८ करोड ५५ लाख रुपैयाँ आश्रित परिवार सुरक्षा दाबी रकम र नौ अर्ब ८० करोड रुपैयाँ अवकास दाबी रकम रहेको कोषले जनाएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया