च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
देश समृद्ध बनाउने हो भने विदेशिएका युवालाई फर्काए पर्याप्त हुन्छ भन्ने मेरो निष्कर्ष हो । पचासौं लाख युवा विदेशिएका छन् । यसलाई चिन्ताका विषयमा रुपमा मात्रै लिनुपर्छ भन्ने छैन । उनीहरुले गरेको योगदानलाई हेरे पुग्छ । रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ ।
जतिबेला धेरै युवा विदेश गए त्यसबेलाको परिवेश फरक थियो । द्वन्द्व, हिंसा र राजनीतिक अस्थिरता थियो । विनाशकारी भुईंचालो गयो । लगत्तै भारतको नाकाबन्दी खेप्नुपर्यो । यी सबै खालका कुराले हामी आक्रान्त थियौं । संविधान निर्माण गर्न नसक्ने परिस्थिति निर्माण भइरहेको थियो ।
कुनै विषय पश्चातापमा मात्रै नभएर कहिलेकाही अवसरमा पनि परिणत हुन सक्छ । आज परिवेश बदलिएको छ । यो हाम्रा लागि अवसर हो । किनभने देशमा स्थायी सरकार छ । राजनीतिक स्थिरता छ । दुई तिहाईको सरकार ५ वर्षका लागि भनेको चानचुने कुरो होइन । त्यसो भएर समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको विविध कार्यक्रम आएका छन् ।
स्वदेश फर्कने बेलामा युवासँग योग्यता हुन्छ । विश्वविद्यालयका प्रमाणपत्र हुन्छ । अनुभव र सीप हुन्छ । त्यतिमात्रै नभएर उहाँहरुसँग अलिकति पैसा पनि साथमा हुन्छ । यस्तो उपयुक्त स्रोत हामीसँग छ । मानव संसाधन सबैभन्दा शक्तिशाली स्रोत हो भन्ने मेरो विश्वास हो ।
याे पनि - विदेशबाट युवा फर्काउन रोजगार होइन, स्वरोजगारका कुरा गरौं : डा. गुरुङ
हामीले फर्काउने अभियान नगरेपनि एकदिन उहाँहरु फर्कनु नै हुन्छ । ढिलो चाँडो मात्रै हो । तर फर्किसके पछि के गर्ने भन्ने अहम प्रश्न छ । किनभने फर्केकाको हालत हामीले देखेका छौं ।
यदि त्यस्तै हालत हुने हो भने अब फर्कने किन फर्कन्छन् ? सुनिश्चितता के मा गर्न जरुरी छ भने नेपाल आएपछि उनीहरुसँग जे ज्ञान, सीप र पूँजी छ, पुग्दैन भने उहाँहरुलाई कहाँबाट उत्साह दिने, भरथेग र सहयोग गरिदिने वातावरण बनाउने र सीप अनुसारको कामको वातावरण बनाउनुपर्छ ।
त्यो वातावरण बनाउन सबैभन्दा पहिले सरकार तयार हुनुपर्छ । अहिलेको सरकार त्यो वातावरण बनाउन कागजमा तयार छ । बोलीमा तयार छ । कार्यान्वयनमा सरकार तयार छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो ।
सरकार चलाउने पार्टीका केन्द्रीय नेताका हैसियतले यो सरकारको जिम्मेवार व्यक्ति हुँ । यसअघिको सरकारमा बसेर काम गरेकाले देशलाई कसरी समृद्ध बनाउने भन्ने दृष्टिकोण मसँग छ । विविध खालका कार्यक्रम पनि छन् ।
मेरो विचारलाई अगाडि बढाउन सहयोगी हातको खाँचो छ । यो विचार निर्माणका लागि र कार्यान्वयन पक्षमा जानका लागि उत्साह दियोस् । देशका कार्यकारी तहमा कुरा गर्न म सक्छु । विदेशबाट फर्केकालाई के काम गर्ने भन्नेबारे केही विचार नहुन सक्छ, तरिका थाहा नहुन सक्छ । आवश्यक पर्यो भने फर्केकाले सबै आवश्यकता म बताउन सक्छु स्वयंसेवीका रुपमा ।
हामीसँग एउटा टिम छ । टिमका साथीहरु यो विषयमा अनवरत रुपमा लाग्न तयार हुनुहुन्छ । यस किसिमले विदेशमा रहेकालाई फर्कन उत्साह दिन्छौं । फर्केर केही काम गरिरहेकाहरु पनि देशमा छन् । उनहरुले अनेक खालका बुहार्तन भोगेका छन् । अनेक सरकारी झञ्झट भोगिरहेका छन् । सरकारी झण्झट, भोगेका बुहार्तन, अन्याय, कमिसनखोरसँग गर्नुपरेको नाजायज सम्झौताका विषयमा हामी लड्न तयार छौं ।
हिजोको र आजको परिस्थिती फरक छ । यो कुरामा विश्वास गर्नुहोस् । हिजो अस्थिरता थियो आज छैन । अहिले स्थायी सरकार छ । हामीले त गर्न खोजकै हौं, कागजमा त लेखिदिएकै छौं तर कार्यान्वयन गर्ने बेलामा हामीलाई घोक्रेठ्याक लगाइयो भनेर अघिल्ला सरकारले झैं अहिलेको सरकारले भन्न पाउँदैन ।
चुनावी घोषणापत्रमा लेखिएको छ । त्यही घोषणापत्रको आधारमा उसले चुनाव जितेको छ । नागरिकले त्यही आधारमा भोट हालेका छन् । विदेशमा बसेकाहरुले पार्टीको घोषणापत्र हेरेर यो पार्टीलाई भोट दिनुहोस् भनेर भनेका छन् । त्यसैले अहिले विश्वासघात गर्न पाइन्न ।
सरकार सबैभन्दा इमान्दार बन्नुपर्छ । मेरो विश्वास के हो भने यो सरकार यो विषयमा इमान्दार बन्छ । अर्को कुरा सधैं अविकासित भएर बस्न हामी सक्दैनौं । अवसर नै अवसरले भरिएको देश हो यो । जे गरे पनि यहाँ पैसा कमाइन्छ । जे गरे पनि देश समृद्ध हुने स्थिती नै बन्छ । जे काम थालेपनि यहाँ रोजगारी सिर्जना नै हुन्छ ।
अहिलेको सरकारले ५ वर्षपछि कोही युवा विदेश जान नपर्ने स्थिती सिर्जना गर्ने भनेको छ । त्यसका लागि रोजगारी सिर्जना हुनेछ । त्यसैले मैले पनि देख्न खोजेको सपना के हो भने पचासौं लाख युवा बाहिर छन्, कमसेकम एक लाख युवा विदेशबाट डिग्रीको प्रमाणपत्र बोकेर, सीप आर्जन गरेर, नयाँ उत्साह बोकेर, अलिकति
पैसा लिएर देशप्रेमको भावका साथ आउनुपर्छ । कसैले १० जनालाई रोजगारी देलान् । कसैले १० हजार जना रोजगारी देलान । त्यसो भयो भने के हुन्छ ? त्यो सपना देखेर लागेको हुँ म ।
वैदेशिक रोजगारीबाट विरक्तिएका केही युवा जो देश फर्केका छन्, उहाँहरुसँग निराशा छ । देशमा हामीलाई सहयोग भएन भन्ने पनि छ । रोजगारी सिर्जना गर्नका लागि हामीले गरिरहेको काम पनि छ भनेर भन्नुभएको छ । ती युवाले हामीलाई यहाँ दुःख दिइन्छ भनेर भने । काम गर्न जाँदा कर्मचारीले दुःख दिन्छन भनेर भने । कमिसनखोरसँग सम्झौता गर्नुपर्छ भने ।
नियम कानुनमा अनेका खालका अप्ठेरा छन् । ती युवा रोजगारी सिर्जना गर्ने गरी उद्यमी बन्ने हिसावले लागेका छन् । तपाईंहरु रोजगारी सिर्जना गर्ने हिसावले दिलोज्यान लाएर लाग्नुहोस् । पूँजीको व्यवस्था गर्नुहोस् । सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ, जुन ठाउँमा कमिसन माग्नेहरुले दुःख दिन्छन् त्यो ठाउँमा मलाई सम्झनुहोस् ।
पैतृक सम्पत्ति भएकालाई पनि यहाँ स्थापित हुन गाह्रो छ । तैपनि उहाँहरुले देशभित्रै लगानी गरेका छन् । त्यो नै ठूलो कुरा हो । उहाँहरुले आफ्नो सम्पत्ति लगानी विदेश लगेका छैनन् । खाडीका देशहरु र मलेसियाबाट फर्केकाहरुलाई भने कुरा फरक छ ।
उहाँहरुले एकल लगानी गर्न सक्नुहुन्न भने सामुहिक लगानी गर्न तिर लाग्नुपर्छ । एउटै दृष्टिकोण र विचार भएका, चिन्तन भएका एकै खालका सीप भएकाको समुह बनाएर सरकारले संरक्षण गर्ने हो त्यो सम्भव छ । पहिले व्यक्ति तयार हुनुपर्यो । सरकार तयार हुनुपर्छ । र बैंकिङ क्षेत्र पनि तयार हुनुपर्छ ।
-कुराकानीमा आधारित
साउदीमा पूर्णबहादुरको व्यथा : भिसा ट्रक ड्राइभरको, काम उँट गोठालोको
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।