च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नवलपरासी - २०६४ साल नवलपरासीकी दाइमाया गुरुङका लागि जीवन बद्ल्ने साल बन्यो । यही सालमा तय गरेको एउटा यात्राले दाइमायाले अनेकौं चोट सहनु पर्यो, आफ्नालाई गुमाउनु पर्यो । तर त्यही पीडाले अर्को यात्रा पनि तय गर्यो ।
श्रीमान्, सासु ससुरा, आफन्त सबैका कुरा नमानेर विदेश जान कम्मर कस्नु दाइमायाको परिवासँगको ठूलो बिद्रोह थियो ।
परिवारसँग बिद्रोह गरेर कमाउन हिँड्नुपर्ने कारण ?
‘मलाई दुईचार पैसा कमाउनु थियो, म जस्ता अरुले पनि कमाएकै थिए, श्रीमानले राम्रो व्यवहार गरे पनि सासुससुराले राम्रो नगर्ने, फेरि पठाउनेले पनि मलाई काम र कमाइको बारेमा राम्रै सुनाएका थिए,’ दाइमाया कारण बताउनुहुन्छ ।
सासु ससुराको हेला छल्न अनि अरुले कमाएको देखेर कमाउन सक्छु भन्ने आँट बटुलेकी दाइमायालाई दलालले विदेशको बारेमा फूलबुट्टा भरेर सुनाएका थिए । दलालको कुरा र साथीभाइले कामाएको देखेकै भरमा दाइमायाको साउदीको यात्रा तय भएको थियो ।
साउदीजान नेपालगञ्ज पारि पट्टिबाट बस चढ्दासम्म दाइमायालाई आफू हिँडेको देशमा जहाज चढेर जानुपर्छ भन्ने पनि हेक्का थिएन । दिल्ली पुग्नुभयो । दाइमायाले आफूजस्तै कमाउने सपना पालेर परदेशिनेको लर्को देख्नुभयो ।
विदेशमा भेटेका सबैसँग विदेशिनुका एक न एक कारण थियो । जस्तो बाध्यता र परिस्थितीले परदेशिए पनि सबैसँग एकाध सपनाको भारी थियो । ‘दिल्लीमा धेरैजना थियौं, कोही साउदी हिँडेको ,कोही अरु नै देश, सबैजना कमाउन हिँडेका थिए,’ दाइमाया सुनाउनुहुन्छ ।
दाइमाया दिल्लीबाट ठूलो जहाजमा साउदी पुग्नुभयो । पुग्नै हप्ता लागेको देश उहाँले सोचेजस्तै थियो । तर काम भने दलालले भने जस्तो थिएन, घरको काममा । साहु साहुनीको मर्जी अनुसारको हुन्थ्यो । जसो भने उसै गर्नुभयो । घरभित्र पसेदेखि उहाँले बाहिर देख्न पाउनु भएन । काम गर्न जान्नु हुन्नथ्यो ।
‘काम घरकै भएपनि निकै अप्ठेरो काम, त्यहाँ त भुईं पुछ्न पनि नआउने, सिकाउँदा पनि भाषा नबुझ्ने, मेरो दुःखका दिन सुरु भयो,’ दाइमायाले काम नजान्दा साहु साहुनीले गरेका व्यवहार सुनाउनुभयो ।
‘दसैँमा बाख्रा काटेझैं रगत बग्थ्यो, उनीहरुले कुटेर बनेको घाउबाट, कुटाइ खाएरै म त बिरामी पर्न थालें,’ दाइमाया सुनाउनुहुन्छ । परिवारसँग विद्रोह गरी गरी कमाउन हिँडेकी दाइमायालाई साहु साहुनीका कुटाइ सहनुभन्दा अर्को विकल्प बाँकी रहेन ।
घर फर्किन खोज्दा फर्किन दिएनन् । बिरामी पर्दा पनि काम लगाउन पनि छाडेनन् । ‘५० रियाल बल्ल बल्ल दिएका थिए, सिरानीमा राखेको त्यो पनि चोरिदिएछन्, साहुनीलाई सोधेको मलाई त उल्टै बेहोस हुनेसम्म कुटे, तँलाई अब चक्कु मात्र घोच्न बाँकी छ भन्ने,’ दाइमायालाई साउदीको त्यो साहुको घर अहिले सम्झँदा पनि डर लाग्छ । दुई वर्ष बितेपछि दाइमायालाई साहुले घर फर्काइदिए ।
विमानस्थलसम्म साहुले नै ल्याइदिए । नेपालबाट जाँदा जस्तै रित्तो हात जहाज चढ्नुभयो । दुई वर्षअघि बरु उहाँसँग कमाउने सपना थिए । जोश र जाँगर थिए । तर फर्किंदा दुब्लो, गलेको शरीर, रित्तो हात, चोटका दाग मात्रै ।
दाइमायाको हाल देख्दा घरपरिवारले खुच्चिङ मारे । गाउँलेले पनि कुरा काटे । ‘सासुससुराले त पहिलेबाटै राम्रो व्यवहार नगर्ने झन फर्किएपछि त कसरी राम्रो हुनु, नराम्रो काम गरेर आएको मात्र भन्ने,’ दाइमाया गुनासो गर्नुहुन्छ ।
विदेश जानु अघिसम्म राम्रो व्यवहार गर्ने श्रीमानको पनि व्यवहार फेरियो । ‘परपुरुषसँग लागेर आएको भन्ने, के विदेश जाँदैमा नराम्रो नै भइन्छ र ?’ दाइमाया प्रश्न गर्नुहुन्छ ।
दाइमायालाई महिलाले विदेश जाँदैमा नराम्रो हुन्छन् भन्ने लाग्दैन् । भाग्यले आफूले काम गर्ने घर नराम्रो परेपनि दाइमायाले धेरै जनाले घरकै काममा पनि राम्रो कमाएको देख्नुभएको छ ।
साउदीबाट फर्किएर एक वर्ष प्रयास गर्नुभयो घर व्यवहार मिलाउन । पीडा माथि परिवारको व्यवहारले झन पीडा थपिएपछि उहाँ २०६८ सालमा फेरि युएई जानुभयो ।
पहिले जस्तै योपालि पनि घरकै काममा । यो योपालि चाहिँ उहाँका अरु साथीले जस्तै राम्रो काम पाउनुभयो । काम राम्रो हुँदा उहाँलाई युएईमा स्वास्थ्यले साथ दिएन । युएईमा एक वर्ष भन्दा बस्न सक्नुभएन् । बिरामी धेरै हुन थालेपछि दाइमाया १ वर्षमै युएईबाट फर्किनुभयो ।
दुई पटकको विदेश यात्रामा उहाँले कमाउन सक्नु भएन । फर्किंदा केही ल्याउनुभएन । तर विदेश गएकै कारण उहाँले परिवार र समाजबाट भने अनगिन्ती आक्षेप र पीडा पाउनुभयो । ‘बुढोले माया गर्दा त सासुससुराले राम्रो गर्दैन थिए, झन बुढोको हेलाँ भएपछि के राम्रो हुन्थ्यो,’ दाइमाया सुनाउनुहुन्छ ।
प्रयास गर्दा पनि परिवारसँग पुनर्मिलन हुन नसकेपछि उहाँले एक्लै जीवन बिताउने निधो गर्नुभयो । ‘दिनरात सबैलाई दुःख दिएर बस्नुभन्दा एक्लै बस्छु भन्ने लाग्यो, श्रीमान् छाडिदिएँ,’ दाइमायाले निर्धक्क भएर भन्नुभयो ।
श्रीमानसँगको यात्रा टुङ्ग्याउँदा दाइमायालाई अब केही बाँकी छैन झैं लाग्थ्यो । किन विदेश गएछु भनेर पछुतोले भतभती पल्थ्यो । ‘धेरै पीडा भएको बेला त मिल्ने भए श्रीमानका लागि फेरि १६ वर्षकी दाइमाया नै बनिदिन्थ्यें झैं लाग्थ्यो,’ दाइमायाका आँखा भरिए ।
दाइमायाले सोचेजस्तै बितेको समय फर्किदैन थियो । एउटा यात्रा सकिएपनि नयाँ यात्राको सुरुवात गर्नुथियो उहाँलाई । । श्रीमान र परिवार नभएपनि उहाँसँग छोरा थिए । चित्त बुझाउनुभयो । तर पीडा भने कम थिएनन् ।
सानैमा बुवाआमा गुमाएकी दाइमायालाई आफन्तले हुर्काइ बढाइ गरेर विवाह गरिदिएका थिए । श्रीमानसँग सम्बन्ध सकेर उहाँ तिनै आफन्तको शरणमा जानुभयो । विदेश गएर आएकी भनेर समाजले हेर्ने नजरमा अर्को पाटो पनि थपियो ।
श्रीमानलाई छाडेकी भनेर सबैले कुरा काट्थे । तर दाइमायाले यस्ता कुरालाई मनमा लिनुभएन । संस्थाले दिने नि:शुल्क तालिम कक्षामा सहभागी हुनुभयो । बिस्तारै उहाँलाई नवलपरासीकै एक स्कुलमा काम गर्ने अवसर मिल्यो ।
शिशु कक्षामा काम गर्न थालेपछि दाइमायाले अर्को परिवार पाउनुभयो । धेरै जना छोराछोरीका आमा बन्न पाउनुभयो । स्कुलमा काम गर्न थालेपछि दाइमायाको पोशाक फेरियो, दैनिकी फेरियो, अनि जीवनको अर्को पाटो सुरुवात भयो ।
निलो धर्के सर्ट, कालो धर्के पाइन्टमा सजिएकी दाइमाया अहिले निकै खुसी हुनुहुन्छ । सर्टपाइन्ट लगाउन पाएर हैन, आफूलाई बुझ्ने मानिस पाएर ।
दाइमायाले काम गर्ने स्कुलको शौचालय बिग्रियो । स्कुलले बनाउने मिस्त्री बोलायो । सामान र पानीको बन्दोबस्तो दाइमायाले नै मिलाउन पर्दथ्यो । । शौचालय बनाउन आवश्यक पर्ने सामानको बन्दोबस्त मिलाउँदा मिलाउँदै दाइमायाको पनि जीवनको पनि बन्दोबस्तो मिल्यो । स्कुलको शौचालय पनि बन्यो । दाइमायाको पनि परिवार बन्यो ।
शौचालय बनाउने मिस्त्रीसँग दाइमायाको मन बस्यो । ‘त्यहाँ काम गर्दागर्दै फोनमा कुरा हुन थाल्यो, उहाँले नै हो मन पराएको, मैले आफ्नो बारेमा सबै बताएँ, उहाँले मलाई छोरासहित स्वीकार्नुभयो,’ दाइमाया हाँस्दै सुनाउनुहुन्छ ।
दाइमायाले दोस्रो बिहे गरेको १ वर्ष पुग्न लाग्यो । ‘मैले मनले खाएको मान्छेसँग बिहे गरें म एकदम खुसी छु, मलाई पाएर उहाँ पनि एकदमै खुसी हुनुहुन्छ,’ दाइमायाले भन्नुभयो ।
दाइमायालाई अहिले परिवारसँग कुनै गुनासो छैन । ‘छोराले बुवा पायो, मैले साथी, अब मिलेर बाबु पढाउने हो,’ दाइमाया आफ्नो योजना सुनाउनुहुन्छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।