च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सुनसरी – ‘कमाउन जाँदैछौं, फेरि किन झिकाउने कुरा ? लेथ अपरेटरको काम हो कि होइन ? कन्फर्म भन्नुस् तपाईं,’ साउदी अरेबिया उड्न ४ घण्टा बाँकी छँदासम्म सुनसरीको छिटाहा–३ का बलराम चौधरीलाई म्यानपावरको काम गराई ठिक लागेको थिएन । म्यानपावरका मानिसले केही सारोगाह्रो परे झिकाइ हालुँला भनेपछि बलरामले सोध्नुभयो ।
तर म्यानपावर कम्पनीको मान्छेले भन्यो, विश्वास गर्नुस् । बलरामलाई पनि लाग्यो, ठिकै छ संसार विश्वासमा नै त चलेको छ । विदेश जाने कुरामा छिटाहाकै प्रकाशकुमार विश्वकर्मासित बलरामको सल्लाह मिल्यो ।
लेथ मेसिन अपरेटरको काममा सँगै साउदी जाने । सँगै नेपाल फर्कने । अनि मिलेर ग्यारेज खोल्ने । बलरामले जानेको काम पनि यही नै थियो । लेथ मेसिनको अपरेटर भएरै उहाँले महिनावारी २० हजार रुपैयाँसम्म कमाई गर्नुहुन्थ्यो ।
बलराम पहिलो पटक विदेश जाँदै हुनुहुन्थ्यो । प्रकाश भने ८ वर्ष कतारमा काम गरेर फर्कनुभएको थियो । एक हिसावले बलराम देश परदेश खाएका प्रकाशको भर परेर साउदी जाँदै हुनुहुन्थ्यो ।
उड्नुअघि मात्रै होइन, त्यसअघिका दिनमा पनि बलरामलाई म्यानपावरले आफूहरुलाई एउटा काम भनेर अर्को काममा पो लैजान लागेको हो कि भन्ने शंका लागेको थियो । मेडिकल रिपोर्टमा साउदीमा गर्नुपर्ने काम ट्रक ड्राइभर लेखिएको थियो ।
मेडिकल रिपोर्ट आएपछि उहाँले म्यानपावरका मानिसलाई सोध्नुभयो, लेथ अपरेटरमा जाने मान्छेको मेडिकल रिपोर्टमा ड्राइभिङको काम भनेको छ । के हो यो, हामी ड्राइभर त होइनौं ।
त्यतिबेला पनि म्यानपावरका मानिसले भनेका थिए, यो लेखाइले केही फरक पर्दैन । यहाँ जे लेखे पनि साउदीमा लेथ अपरेटरकै काम हो । केही अप्ठेरो परे हामी सात दिनमा नेपाल झिकाइहाल्छौं ।
१० कक्षा पास गरेका ३४ वर्षे बलरामलाई अरु चिनारुले पनि भनेका थिए, म्यानपावरसित सम्झौता गर्ने कागजपत्रमा विदेशमा गर्ने काम तलमाथि लेखिएको भए सहि नगर्नु । ठगीमा पर्न सकिन्छ । आफूले भनेको काम नदेखिएपछि म्यानपावरले सम्झौता गर्न लागेको कागजपत्रमा हस्ताक्षर गर्न सुरुमा आनाकानी गर्नुभयो ।
हवाइजहाज छुट्ने समय ४ घण्टा पनि बाँकी थिएन । लम्बेतान प्रक्रिया पूरा गरेर विमानस्थलको अध्यागमन छिचोल्दै जहाजसम्म पुग्न त्यति समय त चाहिन्थ्यो । अर्कातिर विश्वास गरेका प्रकाशले उता गएपछि त्यही काम नै पाइएला भनेर सम्झौतापत्र लिए पछि बलरामलाई पनि बाध्यता पर्यो ।
विदेश जाने भएपछि बलरामलाई सँगै पढेका साथीले सुनसरीको इटहरीस्थित मौघाल इन्टरनेशनल सर्भिसेज म्यानपावरमा पुर्याए । त्यस म्यानपावरले विदेश पठाउने जिम्मा काठमाडौंको आरपी इन्टरनेशनल कन्सल्टेन्सी म्यानपावरलाई जिम्मा लगायो । मौघाल म्यानपावरले यसअघि नै प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँका दरले पैसा असुलेको थियो ।
काठमाडौंको आरपी इन्टरनेशनल म्यानपावरले बलराम र प्रकाशलाई ट्रक ड्राइभरको भिसा भएको नक्कली सम्झौतामा हस्ताक्षर गराएको थियो । महिनावारी १८ सय रियाल तलब हुने र २ वर्षे करार अवधिका लागि ।
ट्रक ड्राइभरको भिसा बोकेर लेथ अपरेटरको काम गर्न २०७२ सालको जाँदो महिनामा बलराम साउदी अरब पुग्नुभयो । तर त्यहाँ पुगेपछि न ट्रक ड्राइभरको काम थियो न त लेथ मेसिनको काम नै । ‘उता पुगेपछि ग्यारेज छैन, लेथ मेसिन छैन । अब चाहिँ झुक्याएछ भन्ने लाग्यो,’ बलरामले भन्नुभयो ।
बरु साउदीको साहुले नयाँ प्रस्ताव राखे, तपाईंहरु मिस्त्री मान्छेका लागि मसित काम छैन । मलाई मजरामा उँट र भेडाबाख्रा चराउने चार जना मान्छे चाहिएको हो । तलब एक हजार रियाल हुन्छ ।
लेथ मेसिन अपरेटरको काममा गएका उनीहरुले मजरामा काम गर्न मन गरेनन् । झण्डै दुई महिना साउदी बसेपछि त्यही कार्यरत गाउँलेहरुसित ऋण काडेर उनीहरु नेपाल फर्किए ।
आरपी इन्टरनेशनल म्यानपावरले बलराम र प्रकाशलाई अन्य कागजातसँगै नक्कली लाइसेन्स पनि दिएको थियो । साउदीमा लेथ मेसिन अपरेटरको काम पाउनेमा ढुक्क भएर कागजपत्र लिएका उनीहरुले नक्कली लाइसेन्सले के फरक पार्ला भनेर लिएका थिए ।
लाइसेन्सका लागि न लिखित परीक्षा दिएका थिए, न त ट्रायल नै । कहिल्यै गाडीको स्टेरिङ नसमातेका बलरामलाई जिन्दगीको मोटर हाँक्न साउदी जाने हतारो मात्रै थियो । फेरि म्यानपावरका मानिसले भनेका थिए, नक्कली लाइसेन्स एयरपोर्टमा देखाउनु अनि च्यातेर फाल्नु ।
म्यानपावरले बलरामलाई कार, जीप, डेलिभरी भ्यान, मिनिबस, मिनिट्रक, ट्रक, बस र लहरी चलाउने अर्थात ख, च र छ वर्गको मोटर चलाउने लाइसेन्स दिएको छ । वाग्मती यातायात व्यवस्था कार्यालयको कार्ड प्रयोग गरिएको लाइसेन्सको नम्बर ०६ ०६१२४५६ रहेको छ ।
म्यानपावरका मानिसले च्यातेर फाल्नु भनेको लाइसेन्स अहिले बलरामसित सुरक्षित छ । विमानस्थलमा देखाएर पर्समा नच्यापेको भए उहाँसँग अहिले नक्कली लाइसेन्स सुरक्षित हुँदैनथ्यो । ‘नक्कली भएपनि लाइसेन्समा राम्रो फोटो टाँसिएको थियो । बरु कसैलाई नदेखाए त भइहाल्यो नि भनेर च्यातिन,’ उहाँले भन्नुभयो ।
नक्कली लाइसेन्सकै कारण काठमाडौंको आरपी म्यानपावरले साउदीबाट फर्कदा लागेको पाँच हजार रियाल तिरेको छ । तर इटहरीको मौघाल म्यानपावरले भने प्रतिव्यक्ति एक लाख २० लाख रुपैयाँ तिरेको पैसा अझै फिर्ता दिएको छैन ।
साउदीमा नेपाली ड्राइभरको व्यथा : पैंतीस लाख रुपैयाँ तिर्न नसक्दा मरुभूमिको बास
साउदीमा पूर्णबहादुरको व्यथा : भिसा ट्रक ड्राइभरको, काम उँट गोठालोको
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।