च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
२०७४/८/११ – नुनतेल १/१ प्याकेट – ३०, ६५ रुपैयाँ
२०७४/८/२५ – तेल एक कार्टुन – १३ सय ३० रुपैयाँ
चिनी एक केजी – ९५ रुपैयाँ
भैंसीको पाडा – ११ हजार रुपैयाँ
साबुन लुगा धुने ३ वटा – ९० रुपैयाँ
झट्ट हेर्दा पसलेले सामान बेचेर टिपेको हिसाब जस्तो लाग्ने यो विवरण एउटी गृहिणीले टिपेको घर खर्चको विवरण हो । यसरी दैनिक हुने खर्चको विवरण राख्ने गृहिणी हुनुहुन्छ, रुपाकोट मझुवागढी दिक्तेल नगरपालिका–५ लफ्याङकी बिरिमफूला राई ।
उहाँ दिनभरी केके कुरामा कति खर्च भयो बेलुका यसरी नै टिप्नुहुन्छ । खर्चसँगै आम्दानीका हिसाब पनि राख्नुहुन्छ । नुन तेल किन्दा भएको खर्चसँगै कुखुरा बेच्दा होस् या श्रीमानले ज्याला मजदुरी गरेर पैसा ल्याउँदा उहाँ यही खातामा टिप्नुहुन्छ ।
बिरिमफूलालाई यसरी आम्दानी र खर्चको विवरण टिप्न सिकायो, वित्तीय साक्षरता कक्षाले । बिरिमफूलाका श्रीमान सर्वधन राई बिहे हुनुअघि नै विदेश जानुभएको थियो । कतारमा ४ वर्ष बिताएर फर्किएपछि बिरिमफूलासँग बिहे गरेका सर्वधन केही महिना बसेर मलेसिया जानुभयो ।
मलेसियामा ९ महिना बस्नुभयो, तर कमाउन सक्नुभएन । मलेसियाबाट रित्तो हात फर्किएका सर्वधनले कमाउने अरु बाटो देख्नुभएको थिएन । त्यसैले केही महिना बसेर उहाँ साउदी अरब जानुभयो । तर साउदीमा पनि मलेसियाकै जस्तो अवस्था दोहोरियो । भनेको काम नपाएछि उहाँले कमाउन सक्नुभएन ।
साउदीबाट श्रीमानले ६ हजार रुपैयाँ मात्रै पठाएको बिरिमफूलाले बिर्सिनुभएको छैन । ‘उहाँले ६ हजार रुपैयाँ पठाइदिएको छु भन्नुभयो । मलाई त विदेशबाट पठाएको त्यो पनि ६ हजार के लिन जानु भन्ने लाग्यो । म त लिन नै गइनँ’ बिरिमफूला भन्नुहुन्छ ‘नन्दले होइन नि भाउजु, पैसा त पैसा नै हो नि भनेपछि मात्रै एक हप्तामा पैसा निकालें ।’
त्यही बिचमा बिरिमफूला बिरामी पर्नुभयो । दिक्तेलमा उपचार हुन नसकेर काठमाडौं आउनु परेपछि सर्वधन पनि साउदीबाट फर्किनुभयो । बिरिमफूला काठमाडौंमा भएकै बेला छिमेकीले गाउँमा वित्तीय साक्षरता कक्षा हुने कुरा सुनाए । काठमाडौंबाट फर्किएपछि बिरिमफूला कक्षामा जानुभयो ।
कक्षामा काम र कमाईका कुरासँगै बचतका कुरा पनि भए । कुरा गजबकै थिए । तर जोगाउने कसरी ? सहभागी सबैका कुरा यही हुन्थे । बिरिमफूलालाई पनि त्यही लाग्यो । कक्षामा मिनप्रसाद आचार्य (वित्तीय साक्षरता सहजकर्ता) ले हिसाब राख्ने कुरा सिकाउनुभयो ।
आचार्यले घरमा दिनहुँ हुने खर्च टिप्नुपर्छ, यसले पैसा जोगाउन सकिन्छ भन्दा कक्षाका सहभागी कसैलाई पनि यो आवश्यक कुरा हो अनि यसले जोगाउन सकिन्छ भन्ने नै लागेन । ‘दिनैपिच्छे नभई नहुने कुराको हिसाब किन राख्नु अनि हिसाब राखेर के हुन्छ र भन्ने लागेको थियो’ बिरिमफूला सम्झिनुहुन्छ ।
तर आफैंले व्यवहारमा लागू गरेपछि बिरिमफूला अहिले त आफैं दङ्ग हुनुहुन्छ । ‘यसले अनावश्यक खर्च घटाउन सहयोग गर्दो रहेछ’ बिरिमफूलाले भन्नुभयो । कसरी त ? उहाँले थप्नुभयो ‘महिनाभरि गरिएको हिसाब हेर्दा खर्च यति गरिएछ । तर यसमा यति नगरेको भए हुन्थ्यो भन्ने लाग्ने रहेछ । अनि आउने दिनमा चाहिँ त्यो खर्च घटाइने रहेछ ।’
बिरिमफूलाले खर्च घटाउनुभयो, अनि श्रीमानले पनि । श्रीमतीले लाउने कुरामा हुने धेरै खर्च घटाउँदा सर्वधनले चाहिँ कुलत त्याग्नुभयो । ‘म पहिला जाँडरक्सी खान्थें, अनि कहिलेकाहीँ साथीहरुले बसौं भन्दा तास पनि खेल्थें, तर अहिले त यी सबै कुरा छोडें’ सर्वधनले सुनाउनुभयो ।
कक्षामा बस्नुभन्दा अगाडि बिरिमफूला साथीहरुले जस्तो लुगा लगायो देख्यो, त्यस्तै लगाउनुहुन्थ्यो । तर अहिले बिरिमफूलाको व्यवहार त्यस्तो छैन । उहाँले भान्सामा हुने खर्च पनि घटाउनुभएको छ । श्रीमान विदेशमा हुँदा ससुरा, काका ससुरा अनि बिरिमफूला मात्रै हुनुहुन्थ्यो घरमा । त्यतिबेला एक पोका तेलले ५ दिन पनि पुग्दैनथ्यो । श्रीमान् विदेशबाट फर्किएपछि घरमा चारजना भएका छन् । तर त्यही एक पोका तेलले १० दिन पुर्याइरहनुभएको छ उहाँले ।
कक्षाबाट दैनिकी चलाउन अनि कमाउन विदेश नै जानु पर्दैन भन्ने पनि सिकेपछि बिरिमफूला र सर्वधनले बारीमा टनेल बनाउनुभयो । टमाटरसहितका तरकारीका बिरुवा रोप्नुभयो । तर तरिका नमिलेकाले सोचे र सुने अनुसार बिरुवा सप्रिएनन् ।
त्यसैले सर्वधन बनाएको टनेल भत्काएर फेरि विदेश नै जाने सोचमा पुगिसक्नुभएको थियो । तर तरिका नजान्दा सुरुमा यस्तै हुन्छ, गर्दै जाँदा आम्दानी लिन सकिन्छ भन्ने कुरा बुझेपछि अहिले टनेलमा फेरि टमाटरका बिरुवासँगै प्याज, लसुन अनि सागसब्जी लगाउनुभएको छ । यसले सर्वधनको सोच फेरिएको छ । ‘अब त विदेश जान्न’ उहाँले भन्नुभयो ।
खर्च घटाउन सिकेका बिरिमफूला र उहाँका श्रीमानले बचत पनि गरिरहनुभएको छ । गएको असोजदेखि कक्षामा सुरु गरेको केही हप्तापछि एकसय रुपैयाँमा खुत्रुके किनेकी बिरिमफूलाले अहिले त्यसमा झण्डै १६ हजार रुपैयाँ जम्मा गरिसकेको सुनाउनुभयो ।
ज्याला मजदुरी गर्ने श्रीमानले ल्याएको पैसा बिरिमफूला खुत्रुकेमा बचत गर्नुहुन्छ । ससुराहरु पनि काम गर्नुहुन्छ । घर खर्चका लागि बिरिमफूला उहाँहरुसँग पनि पैसा माग्नुहुन्छ ।
‘ससुराले दिएको पैसा खर्च भयो भने श्रीमानले दिएको पैसा खुत्रुकेमा हाल्छु । खर्च चाहिँ अाप्पाहरुले (ससुराहरु) दिएको पैसाबाट चलाउँछु’ बिरिमफूलाले बचत गर्ने काइदा पनि सुनाउनुभयो । छोरा बुहारीले गरेको कामले घर सजिलै चलेको देखेपछि त ससुराहरुको विचार पनि फेरिएको छ ।
पहिला यस्तो हिसाब के राख्नु, खाएर लाएर उब्रिएको मात्रै सम्पत्ति हो भन्ने ससुराहरुले पनि अहिले खर्च घटाउन र पैसा जोगाउन सघाइरहनुभएको छ । युवा अवस्थादेखि नै रक्सी पिउँदै आएका ससुरा र काका ससुराले पनि रक्सीको मात्रा घटाएको देख्दा बिरिमफूलालाई खुशी लाग्छ ।
मलेसियाबाट फर्किएपछि फेरिएका डिल्लीबहादुरस् ढुङ्गा बोक्न, गिट्टी कुट्न लाज लाग्दैन
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।