श्रीमान् मलेसियामा : सौतेनी सम्बन्धमा चलेको एउटा घर

 साउन ११, २०७५ शुक्रबार १६:१४:३४ | सन्जिता देवकोटा

खोटाङ – आफ्नो परिचय दिएपछि पार्वता आचार्यले भन्नुभयो, ‘श्रीमान् मलेसिया जानुभएको छ ।’ पार्वतापछि उठेकी सरिताले आफ्नो नाम भन्न नभ्याउँदै सँगै रहेकी अर्की महिलाले कोट्याएर भनिन्, ‘दिदी र मेरा श्रीमान् एउटै हुन्, मलेसियामै छन् भन न ।’ सरिताले हाँस्दै भन्नुभयो ‘हाम्रो श्रीमान् मलेसियामा हुनुहुन्छ ।’

विदेश जानेका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा परिचय गर्दा सहभागी सबैले श्रीमानका बारेमा पनि भन्नुपर्ने थियो । सहभागी सबैले मेरा श्रीमान् भनेर सम्बोधन गर्दै आफ्नो श्रीमान् कमाउन गएको देशको बारेमा बताए । तर सरिता र पार्वता दुवैले भने, ‘हाम्रो श्रीमान् ।’ अथवा उनीहरु एकअर्काका सौता । 

कक्षापछि घरको आँगनमा बसेर सरिता र पार्वताले आपसी सम्बन्ध खुलाएर भने, ‘हामी दिदीबहिनी अर्थात सौतासौता ।’

पार्वता र सरिताको उमेर ८ वर्षको फरक छ । सरिता ३३ वर्षको हुनुभयो । पार्वता चाहिँ ४१ वर्ष । सरिताको खाइलाग्दो ज्यान छ । तर पार्वताका छाला हड्डीमै टाँसिएका छन् । सरिता हृष्टपुष्ट देखिनुहुन्छ । तर पार्वताको अनुहारमा चाउरी परिसकेको छ । 

२०६२ सालको दसैँमा श्रीमानले कान्छी (सरिता)लाई ल्याउँदा पार्वतालाई आफू पनि मरौं, श्रीमानलाई पनि जेल पठाइदिउँ जस्तो झोक चलेको थियो । भविष्य अँध्यारो थियो । कता जाउँ के गरौं भन्ने छटपटी भएको थियो । 

 

तर घरमा सौता छन् भन्ने सरितालाई पनि थाहा थिएन । न त पार्वतालाई नै श्रीमानले आफ्नो मुटुमा यसरी किलो गाड्छन् भन्ने आशंका थियो । 

‘२०६२ सालको दसैँमा हो, उहाँले मलाई घरमा ल्याउनुभयो, बिहे गरेको त १० महिना जस्तो भएको थियो, तर सौता छ भन्ने थाहा थिएन,’ सरिताले सुनाउनुभयो, ‘पारीपट्टि पसलमा आइपुगेपछि पो अब कान्छी ल्याइछस् दह्रो भएर जा घरमा भने, मैले त अरु केही सोच्नै सकिन, हातखुट्टा काँप्यो ।’

पार्वताको बिहे २०५३ सालमा भएको हो । सरिता कान्छी बनेर भित्रिंदा पार्वताले घर सम्हालेको ९ वर्ष भइसकेको थियो । पार्वता गाउँमै बस्नुहुन्थ्यो । श्रीमान भने कहिले विदेश त कहिले इटहरीतिर बस्थे । कमाएर घर बसाल्न घर छाडेका श्रीमानले अर्कै घर बसालेको पार्वताले त्यतिबेला मात्र थाहा पाउनुभयो, जब श्रीमान सरितालाई लिएर आँगनमा आइपुगे । 

‘सौता लिएर दसँै मनाउन आएका मान्छेलाई के गर्नु, मनमा त बाढी गयो, तर केही गर्न सकिन’ पार्वता सम्झनुहुन्छ । 

पार्वताले श्रीमानलाई सौता हाल्नुको कारण पनि सोध्न सक्नुभएन । ‘बिहे भएको ९ वर्ष हुँदा पनि मेरो बालबच्चा भएका थिएनन्, त्यसैले ल्याए होलान भने जस्तो लाग्यो,’ पार्वताले भन्नुभयो । 

आफू भित्रिंदा पार्वताको मन दुखेको कुरा छेवैमा बसेर सुनिरहेकी सरिताको अनुहार पनि खिन्न देखियो । तर श्रीमानले ढाँट्दा सरिताको पनि मन पार्वताको जस्तै दुखेको थियो । 

‘मारिहाल्ने पो हुन् कि, लखेटे भने कहाँ जानु, मलाई त मरौं कि बाँचौं भन्ने भयो नि,’ सरिताले त्योबेलाको आफ्नो अवस्था सुनाउनुभयो । त्यसबेला दुवैलाई आफ्नो भविष्य बिग्रियो भन्ने लागेको थियो । दुवैजना कहिलेकाहीँ सोच्थे, ‘सौता सहेर बाँच्नुभन्दा, जिन्दगीको दौडधूप नै सकाइदिनु राम्रो, श्रीमान बाँडेर पनि जिन्दगी चल्ला र ?’ 

फेरि पनि अर्को मनले भन्थ्यो, ‘सौता ल्याएर के भयो त ? मिलेर गरिखान सकिन्छ । नभए एक्लै भए पनि बाँच्न सकिन्छ ।’ यही सोचले दुवैका मनमा निभेका आशाहरु फेरि पलाउँथे । 

नभन्दै सौतेनी किचलो सरिता र पार्वताले सोचेभन्दा फरक भयो । 

दिदी बहिनी जस्तो व्यवहार

आफूबाट बालबच्चा नहुनु, श्रीमानले सौता हाल्नु । पार्वताका लागि योभन्दा ठूलो पीडा अरु थिएन । तर उहाँले आफूलाई सम्हाल्नुभयो र सरितालाई पनि ।

‘उसलाई पनि ढाँटेर ल्याएको हो, उसका लागि म सौता भएँ, मेरा लागि ऊ, तर दोषी हामी थिएनौं, त्यसैले मलाई पनि राम्रो व्यवहार गरे भने श्रीमान र यसलाई राम्रो नै गर्छु भन्ने सोचेँ,’ पार्वताले भन्नुभयो । 

पार्वताले जस्तै सरिताले पनि आफूलाई सम्हाल्नुभयो । ‘आइ त सकेँ, के गर्नु भन्ने भयो, मिल्नुपर्छ भन्ने लाग्यो, दिदीले पनि राम्रो व्यवहार नै गर्नुभयो, त्यसपछि हामीले एकअर्कालाई सौताको व्यवहार नै गरेनौं,’ सरिताले मनको कुरा खोल्नुभयो । 

सुखी जिन्दगीको खोजीमा एउटै बाटोमा ठोक्किन आइपुगेका यात्रु थिए सरिता र पार्वता । दुवैको व्यथा मिल्दोजुल्दो थियो । तर सौता सौता मिल्न सजिलो थिएन । तर श्रीमानले छल गर्दा मिल्नुबाहेक अर्को विकल्प देखेनन त्यो बेलामा । 

‘मैले सिकाएको कुरा मानिन् उनले, आफ्नै घरमा भएपछि आफ्नै मान्छे लाग्ने रहेछ,’ पार्वता भन्नुहुन्छ, ‘सरिता नआउँदासम्म त श्रीमान्ले राम्रो व्यवहार गर्नुहुन्न थियो, मैले सरितालाई राम्रो गरें, श्रीमानले मलाई सरितालाई जस्तै व्यवहार गर्न थाल्नुभयो ।’ 

कान्छी नल्याउदासम्म टाढिएका श्रीमानका कान्छी भित्राएपछि फेरिएको व्यवहारले पार्वतालाई सरितालाई स्वीकारेर अघिबढ्न आँट दियो ।  सरिता आएपछि पार्वताको जीवनमा नसोचेको खुशी आयो । लोग्नेको माया मिल्यो, कोख भरियो । सरितालाई पनि पार्वताको साथ मिल्यो । श्रीमानको र घरपरिवारको साथ पाउनुभयो । 
२०६३ सालमा सरिता र पार्वताका बालबच्चा जन्मिए । दुवैले मिलेर सँगसँगै हुर्काए । पार्वताका एउटा छोरा छन् । सरिताका चाहिँ चार छोराछोरी छन् । दुवै जनाका जेठो सन्तान गाउँकै स्कुलमा सात कक्षामा पढ्छन् ।

 श्रीमान विदेशमा, मिलेर घर व्यवहार

सरितासँग बिहे गर्नुभन्दा पहिले पनि उहाँहरुका श्रीमान् विदेश नै बस्थे । सरितालाई भित्र्याएपछि केही समय गाउँघरमै घरखेती गरे । सरिता र पार्वताले सल्लाह गरेर नै २०७१ सालमा मलेसिया पठाए । उहाँहरुका श्रीमान् अहिले पनि मलेसियामा काम गरिरहेका छन् ।

यता घरमा सरिता र पार्वता पनि खेतबारीमा दुःख सुख गरेर घर चलाउन श्रीमानलाई सघाइरहेका छन् । पहिले सरिता र पार्वताले बारीमा उब्जाएर घरमा खान मात्र पुर्याउँथे । तर हिजोआज बजारमा बेच्ने गरी उब्जाउँछन् । र, भविष्यका लागि बचत पनि गर्न थालेका छन् । 

२०७४ असोजदेखि खोटाङमा विदेशमा आफन्त हुनेका परिवारका लागि सुरक्षित आप्रवासन परियोजनाले वित्तीय साक्षरता कक्षा सञ्चालन ग¥यो । सरिता र पार्वता पनि सहभागी भए । यो कक्षामा बस्न थालेदेखि सरिता र पार्वताले आम्दानी हुने बाटाहरु समातेका छन् ।

सरिता र पार्वता आपसी सल्लाहमा घर चलाउँछन् । एउटालाई दुःख पर्दा अर्कोले सघाउँछन् । जिन्दगीमा भोग्नुपर्ने सबै परिस्थितिलाई हार्दिकताका साथ स्वीर्कानुपर्छ । जिन्दगीमा आइलागेको नियती बिर्सेर दुवैजनाले सकेसम्म हाँसेरै जिउने कोशिस गरिरहेका छन् ।

हिजोआज सरिता र पार्वतालाई वित्तीय शिक्षाले सपनाको लगाम लगाएको छ । कुखुरा, बाख्रा, परेवा र गाईवस्तु पाल्नुभएको छ । खेतबारीमा मौसम अनुसारका तरकारी रोपेका छन् । यिनै चिजहरु सँगसँगै सरिता र पार्वताका सपनाका मुनाहरु पनि हुर्कंदै छन् । 

२२ वटा बाख्रा, २५ जोर परेवा र गाईवस्तु छन् गोठमा । बारीमा थरिथरिका तरकारी फलेका छन् । आम्दानी र बचत गर्ने तरिका जानेपछि सरिता र पार्वताले विदेशमा लोग्नेले कमाएको रकम बचाएका छन् । आफूले घरमै गरेको आम्दानीबाट पनि बचत गर्न थालेका छन् । 

वित्तीय साक्षरता कक्षा सरिता र पार्वताको कहरलाई पर सार्ने र रहरलाई पूरा गर्ने माध्यम बन्यो । तर उहाँहरुलाई अघि बढ्न पनि त्यति सजिलो छैन । गाउँका मानिसले अनेक कुरा सुनाउँछन् । मनमुटाब ल्याउन जाल बिच्छ्याउँछन् । तर दुवैले कसैको कुरा नसुन्ने बाचा गरेका छन् । 

‘हामी कसैको कुरा सुन्दैनौं, मान्छेले त अनेक सुनाउँछन् नि, कुरै सुन्ने हो भने त कहाँ टिक्न सक्नु,’ पार्वता र सरिता एकै स्वरमा भन्छन् । 

सरिता र पार्वतालाई बेलाबेलामा ऐंठन हुन्छ । जब छोराछोरीले ‘तपाईँहरुलाई सौता सौता  किन भनेको भनेर सोध्छन् ।’

अन्जान मै आफ्नो पोल्टोमा सौता परे पनि सरिता र पार्वता आफ्ना कारणले छोराछोरीलाई असर नपरोस् भन्ने ठान्छन् । ‘छोराछोरीले अहिलेसम्म यो तेरी आमा, यो मेरी आमा भनेका छैनन्, खुसी त त्यसमै छ, तर अरुले के के सुनाउँछन कुन्नी, बेलाबेला अचम्मका कुरा गर्छन्,’ पार्वता भन्नुहुन्छ । 

गाउँलेको कुरा एक कानले सुनेर अर्को कानले उडाउँदै दुवैजना जिन्दगीको यात्रामा अघि बढिरहेका छन् । विदेशको कमाइले घर बनाएका छन् । जग्गा पनि किनेका छन् । अब धेरथोर बचत गर्न पाए भविष्यका लागि काम लाग्थ्यो भन्छन् दुवैजना । 

देशमा विदेशिनेको लहर बढेसँगै नेपालमा दोस्रो बिहे गर्नेहरुको ग्राफ पनि बढिरहेको छ । सुखी जिन्दगीको कल्पनामा परिवारसँग टाढिँदा धेरैका जिन्दगी दुर्घटनामा परेका छन् । तर, सरिता र पार्वताले एकपल्ट दुर्घटनामा परेको जिन्दगीलाई आपसमा मिलेर सम्हालेका छन् । 

दुवैका सपना हिजोआज छोराछोरीको भविष्यमा गएर अडिएका छन् । लोग्नेको छलछामले एकअर्कालाई अन्जानमै सौता बनाए पनि दुवै जनालाई छोराछोरी पढाउने र बढाउने दायित्वले एक अर्कोसित मिल्न सहज बनाएको छ । 
 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • हरि

    July 28, 2018, 6:47 a.m.

    अन्याय सहेर पनि जितेकाे कथा ,साहस र धर्यता मिलन सारिता ले सहेर पनि जित्न सकिन्छ भन्न् उदाहरण श्रीमान ले छल गरेछन गलत हाे

  • बद्री चालिसे

    July 27, 2018, 4:44 p.m.

    लेख मनछुने खालको छ ।सौता सौता एक आपसमा लडेर भन्दा कर्म संग डटेर खानु पर्छ भन्ने वहाँ दिदी वैनी हरुले अरुलाई राम्रो शिक्षा दिनु भएको छ ।वहाँ हरुको भविष्य अझै उज्वल होस् , धेरै धेरै बधाई यी महान नारी हरुलाई ।

तपाईको प्रतिक्रिया