चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ पर्ने क्रम बढेको छ ।
कतिपय कानुनले तोकेभन्दा बढी सामान ल्याउँदा त कतिपयलाई अपरिचित व्यक्तिले प्रलोभनमा पारी कानुनले वर्जित गरेका सामान पठाउँदा विमानस्थलमा आइपुगेपछि पक्राउ परिरहेका छन् । यूएई लगायतका देशको विमानस्थलमा घर फर्कन लागेका श्रमिकलाई ललाइफकाइ सामान पठाउनेहरू ढुकेरै बसेका हुन्छन् ।
कतिपय श्रमिक उनीहरूकै जालमा पर्दा पनि फस्ने गरेका छन् । विमानस्थलमा आइपुगेपछि श्रमिक पक्राउ पर्नुको कारण, विदेशबाट आउँदा ल्याउन पाइने सामान र प्रतिबन्धित कुराहरू ल्याउँदा भोग्नु पर्ने सजाय लगायतका बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी किशोर बर्ताैलासँग गरिएको कुराकानी ।
वैदेशिक रोजगारीबाट फर्कँदा होस् या घुमेर आउँदा होस् अन्तर्राष्ट्रिय यात्रा गर्दा के कस्ता सामानहरू ल्याउन पाइन्छ र के पाइँदैन भन्ने कुरा भन्सार ऐन र विभिन्न आदेशले तोकेको छ । त्यही आदेश अनुसार नै यात्रुको भन्सार जाँच हुने हो ।
जुन कुरा कानुनले बन्देज लगाइएको छ या तोकिएको परिमाणभन्दा बढी लुकाइ छिपाइ अवैध तरिकाले कानुनभन्दा विपरीत कार्य गर्दा हो पक्राउ पर्ने ।
तर यहाँ धेरैजसो के पाइन्छ भने कानुनभन्दा विपरीत तरिकाले सामान ल्याउनुहुन्छ र विमानस्थलमा चेकजाँचपछि पक्राउ पर्दा मात्र उहाँहरू झल्याँस्स हुनुहुन्छ ।
कारबाहीमा पर्ने धेरैजसोलाई मैले ल्याउन नहुने सामान ल्याएको रहेछु भन्ने कुरा विमानस्थलमा आई पुग्दासम्म पनि थाहा हुँदैन । ऐन, कानुनले तोकेभन्दा र तोकिएको सीमाभन्दा बढी सामान त्यो पनि विभिन्न उपायहरू अपनाएर जस्तै कफी मेकरहरुमा, पुराना मोबाइल, जैतुनको तेल(ओलिभ वेल)जस्ता पदार्थमा लुकाई छिपाइ ल्याएको पाइन्छ ।
यसरी सामान अवैध रूपमा लुकाई छिपाइ ल्याउँदा कानुन भित्रकै कुरा ल्याए पनि अनुसन्धानको घेरामा परिन्छ ।
विमानस्थलमा कुनै पनि कुरा लुकाएर लुक्न सक्दैन । यात्रु पास गर्ने ठाउँमा मेटल डिटेक्टरदेखि तालिमप्राप्त कर्मचारीहरू हुनुहुन्छ । यात्रुहरूले के सूचना पाउनुहुन्छ, कसले के भनेर पठाउँछ कुन्नि लुकाएर, छिपाएर सामान ल्याउनुहुन्छ अनि अनाहकमै अनुसन्धानको घेरामा पर्नुहुन्छ ।
भन्सार अधिकारीका रूपमा हाम्रो अनुभव भन्न पर्दा यदि कसैले अरूको सामान ल्याउनुभएको छ भने लुकाएर नै ल्याउनुभएको हुन्छ । सुनै ल्याउँदा पनि ५० ग्रामसम्म त भन्सार छुट पाइन्छ । २ सय ग्राम सुनको गहनामा त भन्सार तिरेर वैध रूपमा नै ल्याउन पाइन्छ । तर यहाँ अनुसन्धानको घेरामा पर्नेहरू आफ्नोभन्दा पनि धेरै त अरूको सामान ल्याएर समस्यामा पर्नुभएको पाइन्छ ।
यो समस्या एकदमै धेरै दुबईबाट आउनेहरूमा छ । म जान पाइन, समस्या भयो, मेरो मानिसलाई यो सामान लगिदेऊ न भनेर फकाएर कि त प्रलोभनमा पारेर सामान पठाएको अनुभव उहाँहरूले सोधपुछको क्रममा सुनाउनुहुन्छ । मैले ल्याउन नहुने सामान ल्याएछु भन्ने कुरा पनि उहाँहरूले सोधपुछको क्रममा मात्र नै हो थाहा पाउने । उहाँहरूलाई जानकारी नै हुँदैन ।
जसको सामान ल्याएको भए पनि मेरो सामान होइन, मलाई थाहा थिएन भनेर छुट् पाइँदैन । कानुले वर्जित गरेको काम गरेपछि त कारबाही पनि भोग्नै पर्छ । हामीले मानवीय हिसाबले बिचरा भन्न सकेपछि कानुनको कार्यान्वयन गर्नपर्छ र विदेशबाट आउनेहरूले पनि कानुनको पालना त गर्नै पर्छ ।
कानुनी रूपमा ल्याउन पाइने सामानहरू विदेशबाट नेपालमा यात्रा गर्दा खाद्य पदार्थ ७ किलोसम्म वैध रूपमा ल्याउन पाइन्छ । यसमा चकलेट आदी भनौँ । यस्तै, आफूले चलाइरहेको एउटा मोबाइल साथमा ल्याउन पाइन्छ । एउटाभन्दा बढी ल्याएमा त्यसको भन्सार तिर्नपर्छ ।
अनि १२ महिनाको श्रम स्वीकृति प्राप्त गरेकाहरूले ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा भन्सार शुल्क लाग्दैन । यदि कानुनले तोके अनुसार नै सामान सही तरिकाले ल्याउनुभएको छ भने कोही पनि यात्रुलाई विमानस्थलमा झन्झट झेल्न पर्दैन । आवश्यक पनि चेक हुन्छ । त्यो बेला उहाँहरूले भन्सार अधिकारीलाई सहयोग गर्न पर्छ । जाँचका क्रममा उहाँले नियम अनुसार नै सामान ल्याउनुभएको छ भने स्वतन्त्र रूपमा बाहिर निस्कन पाउनुहुन्छ कुनै समस्या हुँदैन ।
तर यात्रीले ल्याएको सामानमा केही शङ्का लाग्यो भने त्यसमा हामी पुनः जाँच गर्छौँ । पुनः जाँच पनि कानुन विपरीत कुराहरू भेटियो भने थप सोधपुछ हुन्छ । तर यदि कसैले गलत तरिकाले सामान ल्याउनुभएको छ र लुकाउन खोजिरहनुभएको छ भने त दुई चार मिनेट भित्रै थाहा भइहाल्छ । यात्रुको हाउभाउ, अनुहारको भाव लगायतबाट पनि हामीले थाहा पाइहाल्छौँ ।
भन्सार जाँच पासको क्रममा बाधा व्यवधान खडा गरेमा भन्सार ऐन अनुसार ६ महिनासम्म कैद हुन्छ । तोकिएकोभन्दा बढी मात्रा ल्याएमा त्यो बस्तु जफत हुन्छ ।
कानुनले प्रतिबन्ध लगाएका बाहेक अन्य सामानमा लाग्ने भन्सार तिरेर पनि निस्कन सकिन्छ । तर कानुनले वर्जित गरेका सामान ल्याएमा भने भन्सार ऐन र नियमावली अनुसार नै सजाय हुन्छ । ल्याएको बस्तु जफत हुन्छ ।
अनुसन्धानको क्रममा २४ दिनसम्म जेलमा बस्नु पर्ने हुन्छ । ल्याएको बस्तु बराबरको धरौटी राखेर २४ दिनपछि बाहिर निस्कन पाइन्छ । तर मुद्दा भने चलिनै रहन्छ । मुद्दा बाहिर बसेर नै लड्न सकिन्छ । सजाय कसुरको प्रकृति र मात्र हेरेर तोकिन्छ । ६ महिनादेखि ३ वर्षसम्म कैद हुने प्रावधान छ । यो आर्थिक अपराधको कसुर हो । अरू अपराध होइन ।
त्यसैले यदि विदेशबाट देश फर्कँदै हुनुहुन्छ भने आफू ढुक्क नभई अपरिचित मानिसको सामान नबोक्नुहोस् भन्न चाहन्छु । जानकारीको अभावमा धेरै जनाले सजाय भोगिरहनुभएको छ । रूप परिवर्तन गर्दैमा सुन लुक्दैन । तरिका परिवर्तन गर्दैमा छुट् हुँदैन ।
सुनको पहिचानको लागि विमानस्थलमा तालिम प्राप्त कर्मचारी छन् । पोख्त कर्मचारीहरू छन् । कर्मचारीहरूले पहिचान गरिनै हाल्छन् । त्यसैले म झुक्काउन सकिहाल्छु भन्ने सोचमा कानुनले वर्जित गरेका सामान लिएर यात्रा नगर्नुहोस् भन्न चाहन्छु ।
आफ्नो बाहेक अरूको सामान बोक्नुभएन भने तपाईँलाई समस्या हुँदैन । कसैले लोभ लालच देखाएमा त्यसको पछि नलाग्नुहोस् ।
Khadindra dahal
Feb. 4, 2022, 9:33 p.m.यो अन्तर्वार्ता दिने कर्मचारीलाई घोप्टे भिरबाट खसाउनु पर्ने, क्वीन्टलका क्वीन्टल सुन त्यहीबाट पास हुन्छ, भाग नपाउनेले पक्राउ गरे / गराएपछि अंश दिन्छ, भोलिपल्ट पित्तल फेला परेको समाचार आउँछ ।