रुस–युक्रेन युद्ध झनै खराब अवस्थामा, रुसले आणविक हतियार प्रयोग गर्ने चिन्ता बढ्यो

 मंसिर ५, २०८१ बुधबार १८:०:३६ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आक्रमण शुरू गरेको हजार दिन पुगेकै दिन हिजो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्नुभएको छ । रुसको नयाँ नीति युक्रेन युद्धमा आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रयोग गर्न अनुमति दिएपछि आएको नीतिले युद्धलाई झनै खराब अवस्थामा पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकाको अनुमतिसँगै युक्रेनले अमेरिकाले दिएका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रहार गर्न थालेको छ । रुसले केही दिन अघिदेखि नै युक्रेनमा ड्रोन आक्रमणलाई तीव्र बनाएको छ ।

अहिले रुसी सेनाहरू युक्रेनको पूर्वतर्फ तीव्र गतिमा बढिरहेका छन् । उनीहरूलाई रोक्न उपयोगी हुने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले 'एन्टी पर्सनल' ल्यान्ड माइन उपलब्ध गराउने सहमति गर्नुभएको छ । यही बीचमा रुसले आणविक घुम्ती सेल्टरहरू उत्पादन र ठाउँठाउँमा राख्ने क्रम बढाएको छ । यस्ता सेल्टरहरूले आणविक विस्फोटको विकिरण तथा आणविक प्रदूषणबाट जोगाउने रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । रुसबाट हुन सक्ने ठूलो आक्रमणलाई ख्याल गरेर दूतावास बन्द गरेको हो । युक्रेनमा रहेको अमेरिकी दूतावासले रुसबाट नोभेम्बर २० तारिखमा युक्रेनमाथि विशेष हवाई आक्रमण गर्न लागेको जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।

एक हजार दिनको युद्धमा झन्डै डेढ लाख रुसी सेना, झन्डै एक लाख युक्रेनी सेना र १२ हजार जनाभन्दा धेरै युक्रेनी नागरिक मारिएका विवरणहरू सार्वजनिक भए पनि स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण युक्रेनबाट झन्डै ६५ लाख मानिस देश छाड्न बाध्य भएका छन् । ३७ ला जनाभन्दा धेरै मानिस देशभित्रै विस्थापित भएका छन् । युद्धका कारण युक्रेनले ठूलो भौतिक क्षति बेहोरेको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएमा युद्ध रोक्ने बताए पनि उहाँको कार्यकाल शुरू हुने बेलामै युद्ध झनै खतरनाक अवस्थामा पुगेको हो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया