एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
पालिका उपचुनावको मतगणना सकिएको छ । ४२ पदमध्ये समग्रमा कांग्रेसले १७ पद, माओवादीले ११ र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात् काठमाण्डौको कीर्तिपुरमा कांग्रेसले जितेको छ । समग्रमा कांग्रेसले धेरै गुमाएको छ, माओवादीले सुधार गरेको छ, एमाले लगभग पहिलेजस्तै अवस्थामा छ । केही क्षेत्रमा मात्रै भएको यो चुनावले देशभरकै चुनावमा जस्तो सन्देश त दिएको छैन तर केही सन्देश पक्कै दिएको छ ।
उपचुनावले कांग्रेसको वर्चस्व कायम रहेको तर लोकप्रियता घटिरहेको छ भनेर भन्ने देखाउँछ । त्यस्तै एमालेको लोकप्रियता केही घटेको देखियो । माओवादीको सिट थोरै बढेको देखियो । धेरै बढेको होइन । माओवादीका नेताहरू बिग्रिए पनि उसको आधार क्षेत्र र कार्यकर्ता बिग्रिएका छैनन् भन्ने देखिएको छ । रुकुममा एमाले र कांग्रेसले गठबन्धन गर्दा पनि माओवादीका उम्मेदवार ठूलै अन्तरले विजय हुनुले मैले भनेको कुरालाई पुष्टि गर्छ ।
नयाँहरू उदाउन खोजेको पनि उपचुनावको नतिजा र उनीहरूले पाएको मतले बताएको छ । नयाँहरू उदाउन खोजेका छन् तर हावी हुन सकेका छैनन् भन्ने देखिएको छ । काठमाण्डौको कीर्तिपुरमा जित्ने उम्मेदवारले ५ हजार हाराहारी मत ल्याउँदा स्वतन्त्र उम्मेदवारले २ हजार मत ल्याए । कुनै सङ्गठन र तयारीविनै स्वतन्त्र उम्मेदवारले ल्याएको २ हजार मतले नयाँ दल र स्वतन्त्र उम्मेदवारको उदयको सङ्केत गर्छ ।
यो उपचुनावले के देखायो भने– नयाँहरूले प्रयत्न गरेका छन् तर उनीहरू राजनीतिमा धेरै मात्रामा हावी छैनन् ।
माओवादीलाई सत्ताबाहिर हुँदा लाभ प्राप्त
देशैभरि भएको भए यो चुनावबाट आउने चुनावको पनि पूर्वानुमान गर्न सकिन्थ्यो । तर अहिले निकै थोरै ठाउँमा चुनाव भएकाले पूरै देशभरिको अवस्था अब के हुन्छ भनेर आँकलन गर्न गाह्रो छ ।
तर चुनावले के चाहिँ देखाउँछ भने केही ठूला पार्टीहरूमा पनि अदलीबदली भएको छ । अदलीबदली पनि थोरै मात्रामा देखियो । सत्ताबाहिर आउँदा माओवादीलाई अलिकति फाइदा हुने रहेछ भनेर परिणामले देखाएको छ । सत्तामा भएको भए सायद माओवादीले यति सिट जित्न सक्ने थिएन होला ।
सत्तामा भएकाहरूप्रति चाहिँ नेपालीहरू असन्तुष्ट नै हुन्छन् भन्ने पनि उपचुनावको परिणामले देखाएको छ । यो देशका थोरै ठाउँमा भएको उपचुनाव मात्र भएको हुनाले नेपालभरको धेरै कुरा गर्न त नमिल्ला तर एउटा कुरा अनुमान गर्न मिल्छ । त्यो कुरा हो- नेपाली राजनीतिमा अझै ठूला भनिएका दलहरूकै हालीमुहाली कायम छ ।
पुराना दलहरूलाई सुध्रिन बाध्य हुनेगरी परिणाम आएन
नयाँ दल र स्वतन्त्र उम्मेदवार धेरै नै उदाएको भए पुराना दलको मनमौजीमा केही सुधार हुन्थ्यो होला । तर यो चुनावमा नयाँ र स्वतन्त्रहरूको उदय खासै प्रभावकारी देखिएन । नयाँले टक्कर दिने हो भने ठूला दलहरूलाई सुध्रनका लागि केही मौका हुन्थ्यो । अथवा उनीहरू सुध्रन बाध्य हुन्थे ।
पुराना दलले शिक्षा लिनेगरी चुनावले सन्देश दिन सकेन । बरु गएको पालिका चुनावमा काठमाण्डाै महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्रले जितेर दलहरूलाई शिक्षा दिएका थिए ।
तर देशका कुना कुनामा र गाउँ गाउँमा असन्तोषको राप फैलिएको केही सङ्केत यो चुनावले दिएको छ ।
हाम्रा दलहरू शिक्षा लिने खालका छैनन् । आफू बसेको सिटमुनि आगो लागेपछि मात्र शिक्षा लिने खालका दलहरू छन् । तर केही शिक्षा त लिनैपर्ने अवस्था देखिएको छ ।
चुनावी गठबन्धन अस्वीकार
गठबन्धन गरेर चुनावमा जानेहरूलाई यो उपचुनावले गतिलो सन्देश दिएको छ । यो चुनावले दलहरूको वास्तविक शक्ति र आकार देखाइदिएको छ । दलहरू कहाँ, कति लोकप्रिय छन् भन्ने पनि पुष्टि भएको छ ।
गठबन्धन नगरिकन चुनावमा जानुपर्दो रहेछ, चुनावपछि सत्तामा जाने बेलामा मात्र गठबन्धन गर्नुपर्दो रहेछ भन्ने कुरा चाहिँ अहिलेको चुनावले देखाएको छ । अब सबैको आकार देखियो । कांग्रेसको शक्ति कति हो ? एमालेको आकार कत्रो हो ? माओवादी कति लोकप्रिय छ भन्ने राम्ररी देखियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्याम श्रेष्ठ राजनीतिक विश्लेषक हुनुहुन्छ ।