वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या लगातार घट्यो

 फागुन १०, २०७८ मंगलबार १६:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको तीन महिनामा वैदेशिक रोजगारीमा जाने क्रम घटेको छ ।

गएको मङ्सिर महिनामा भन्दा पुस महिनामा र पुस महिनामा भन्दा माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

मङ्सिर महिनामा वैदेशिक रोजगारीमा जान ७४ हजार ३५४ श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या घटेर पुस महिनामा ६६ हजारमा झरेको थियो भने माघ महिनामा यो सङ्ख्या घटेर ५४ हजारमा झरेको छ ।

म्यानपावर एजेन्सीले पठाएका, आफैँ व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने, पुनः श्रम स्वीकृति लिने र वैधानिकिकरण गर्नेको सङ्ख्या ५४ हजार ४७० रहेको विभागको तथ्याङ्क छ ।

पुस महिनामा श्रम लिनेको सङ्ख्या ६६ हजार ६ सय २५ रहेको थियो । मङ्सिर महिनामा पुनः श्रम स्वीकृति समेत गरी ७४ हजार ३५४ जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । 

२८ हजार ३२१ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिँदा २० हजार ३६४ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । ५ हजार ६९८ जना अर्ध दक्ष, १२ जना उच्च सीप भएका र व्यवसायीक ७५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया