काेरियाबाट माैसमी कामदारकाे माग : सरकारी प्रक्रिया मार्फत मात्रै पठाउन मिल्ने श्रममन्त्री श्रेष्ठकाे भनाइ

 फागुन ११, २०७८ बुधबार ८:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरुले मौसमी कामदार विदेश पठाउँदा हुने अवसर र चुनौतीबारे छलफल गरेका छन् ।

मन्त्रालयमा हिजाे भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका रुपमा लैजान प्रस्ताव गरेको भन्दै त्यसको अवसर र चुनौतीबारे मन्त्री श्रेष्ठसँग चासो राखेका थिए । मन्त्री श्रेष्ठले सरकारी प्रक्रिया भन्दा बाहिरबाट सम्झौता गरी कोरिया कामदार पठाउन नहुने बताउनुभयो । 

कोरियामा कामदार आपूर्तिबारे कोरिया र नेपाल सरकारबीच सरकारी स्तरको समझदारी भएको स्मरण गराउनुहुँदै मन्त्री श्रेष्ठले मौसमी कामदार पठाउन पनि सरकारीस्तरबाट टुङ्गो लगाउनुपर्ने बताउनुभयो । साथै उहाँले मौसमी कामदार पठाउँदा कामदारलाई भविष्यमा कुनै समस्यामा परे कोरिया सरकार जिम्मेवार नबन्ने हुनाले उद्धार र सहयोग गर्न असहज हुने बताउनुभयो । दक्षिण कोरिया, जापान, क्यानडा सहित विभिन्न युरोपेली देशका कम्पनीबाट पनि मौसमी कामदारको माग भएकोले त्यसबारे निर्णय लिन कार्यदलस्तरमा तयारी गरिने उहाँले बताउनुभयो । हाल सरकारले वैदेशिक रोजगारीमा मौसमी रुपमा जान श्रम स्वीकृति दिने गरेको छैन । 

स्थानीय तहका प्रमुखहरुले भगिनी सम्बन्ध स्थापना गरी आफ्ना क्षेत्रका युवालाई कोरिया लगायत देशमा कसरी पठाउन सकिन्छ भन्नेबारेमा छलफल गर्नुभएको थियो । छलफलमा ब्यास नगरपालिका तनहुँका प्रमुख बैकुण्ठ अर्याल, चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, कमलामाइ नगरपालिका प्रमुख खड्गबहादुर खत्री, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे लगायत हुनुहुन्थ्यो ।

छलफलमा मन्त्रालयका सचिव एकनारायण अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि आफ्नो विचार राख्नुभएको थियो । 
 

4 Comments

  • Madan Bhandari

    Feb. 25, 2022, 5:08 p.m.

    म बेमौसमी काममा छु मलाई नेपाल सरकारले येसमा श्रम स्विकृती दिन्छ भन्ने पुर्ण रुपमा आसावादी छु /

  • Milan Sapkota

    Feb. 24, 2022, 7:26 a.m.

    I'm interested

  • Rajkumar Tamang

    Feb. 24, 2022, 5:17 a.m.

    म पनि इच्छुक /

  • खिमराज आचार्य

    Feb. 23, 2022, 8:25 a.m.

    बेरोजगार युवाहरुलाइ कि नेपालमै अवसर दिनु पर्छ होइन भने वैदेशिक रोजगारमा अवरोध गर्नु हुदैन बरु कसरी हुन्छ सहजिकरण गरिनु पर्छ।

तपाईको प्रतिक्रिया