Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक_६६२

सरकारले वैदेशिक रोजगारमा जाने बेला श्रम स्वीकृति लिने बेला कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ । जसका कारण कोषमा आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकभन्दा वैदेशिक रोजगारीमा जानेको आबद्धता बढ्दै गएको हो । नेपाल श्रम शक्ति प्रतिवेदन– सन् २०१७÷१८ का अनुसार अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार, औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र स्वरोजगारीमा १८ लाख रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रतिवेदनमा उल्लेख भए अनुसार सामाजिक सुरक्षा योजनामा श्रमिकको सहभागिता बढेमा मुलुकको आर्थिक वृद्धि, सामाजिक स्थिरता र श्रम उत्पादकत्वमा योगदान पुग्छ । सामाजिक सुरक्षा योजनामा अधिकतम सहभागिता भएको खण्डमा जोखिम व्यवस्थापन सजिलो हुन्छ । सामाजिक अनुबन्धनलाई बलियो बनाउँछ । श्रमिकहरूबीच सामूहिक जिम्मेवारी र एकता बढाउँछ । कार्यक्रम देश परदेशको अंक ६६२ मा सामाजिक सुरक्षा कोषले दिइरहेको सेवा र अबका योजना भन्ने विषयमा केन्द्रित छ । यसका लागि आज हामीले सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालसँग कुराकानी गरेका छौं ।