माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा शुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले आज सम्झाैतामा हस्ताक्षर गनुभयो ।
सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीका अध्यक्ष हुईले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै पर्सि आइतवारदेखि काठमाण्डौमा शुरु हुन लागेको दुई दिने लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति देखिएकाे बताउनुभयो ।
अध्यक्ष हुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रसारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।