अबको एक हप्ता अधिकतम तापक्रम घट्ने र केही ठाउँमा पानी पर्ने सम्भावना

 बैशाख २१, २०८१ शुक्रबार ७:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अबको एक हप्ता देशका धेरै ठाउँहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नभए पनि अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले साप्ताहिक कृषि मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै हप्ताको मध्य तथा अन्त्यतिर केही ठाउँमा पानी पर्ने जानकारी पनि दिएको छ ।

महाशाखाका अनुसार आउँदो हप्ताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हप्ताको शुरुमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हप्ताको मध्यमा बाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा तथा मधेश प्रदेशको तराई भू–भागको एक/दुई ठाउँमा र हप्ताको अन्त्यमा तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हप्ताको मध्य र अन्त्यमा कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । यस्तै हप्ताको मध्य र अन्त्यमा देशभरका तराई तथा पहाडका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज पनि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्रोत : मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया