शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी
पुस २८, २०८१ आइतबार
तनहुँ – निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण अवधि गएको वैशाख २ गते सकिएको थियो । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेकाअनुसार समयमै काम नसकिएपछि म्याद एक सय ५५ दिन थप भएको छ । अब थपिएको अवधिभित्र पूर्वी खण्डको काम सक्ने इन्जिनियर पाण्डेले बताउनुभयो ।
सडक आयोजनाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएको थियो । पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
इन्जिनियर पाण्डेकाअनुसार यो खण्डमा पछिल्लो प्रगति ६० प्रतिशत छ । आँबुखैरेनीबाट जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
पश्चिम खण्डको म्याद भने २०८१ भदौ १२ गतेसम्म रहेको छ । पश्चिम खण्डमा २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । पश्चिम खण्डमा अहिलेसम्मको प्रगति २३ प्रतिशत छ ।
पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकी र पोखराका केही भागमा एकतर्फी कालोपत्रको काम भइरहेको छ । पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ ।
२०२६ सालमा रेखाङ्कन भएको सडकमा गाडीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका ठाउँमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।
डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।