केन्याली नागरिक किरुतको शव सगरमाथामै छाड्ने परिवारको चाहना

 जेठ १८, २०८१ शुक्रबार १५:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यस वर्ष सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका केन्याली नागरिक जोशुवा चेरुत्योट किरुतको शव सगरमाथामै छोडिने मृतकको परिवारले जनाएको छ ।

मृतकको परिवारले विज्ञप्ति निकालेर शव रहेको उचाइबाट उद्धार कठिन रहेको र किरुतले हिमालमै रहँदा शान्ति पाउने भन्दै शव उतै छाड्ने बताएका बीबीसीले जनाएको छ । तर परिवारको चाहना भए पनि नेपालको कानुनअनुसार हिमालमा शव छाड्न नपाइने पर्यटन विभागले जनाएको छ ।

आरोही किरुत सगरमाथाको शिखरबाट ४८ मिटर तल आएपछि लडेका थिए । केन्याली नागरिक केरुतको शव देखिएकोले खोजी गर्न नपर्ने विभागले जनाएको छ । केरुतको साथमा गएका शेर्पा भने हराइरहेका छन् । किरुतको शव हिमालबाट निकालेर काठमाण्डौ ल्याउन एक लाख ९० हजार डलर खर्च हुने अनुमान छ ।

पर्वतारोहीको बीमा गरिएको हुन्छ । परिवारले बीमा रकम लिने तर मृतकको इच्छा भन्दै शव नल्याउने घटना यसअघि पनि भइरहेका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङ झिक्नै असम्भव भएमा बाहेक शव हिमालबाट निकाल्नैपर्ने बताउनहुन्छ ।

यस वर्षदेखि पर्यटन विभागले शवको खोजी गर्न सजिलो होस् भनेर हरेक आरोहीको साथमा चिप्स लैजानुपर्ने नियम लागू गरेको थियो । अहिले सगरमाथामा निकै पुरानासमेत गरी झन्डै दुई सय शव रहेको अनुमान छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया