अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – विज्ञापन बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई हटाएर कारोबारलाई पारदर्शी र अनुसाशित बनाउन चारवटा संस्थाहरुबीच सम्झौता भएको छ । नेपाल विज्ञापन सङ्घ (आन), राष्ट्रिय विज्ञापन सङ्घ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्सबीच विज्ञापन कारोबारलाई व्यवस्थित गर्ने विषयमा सम्झौता भएको हो ।
हिजो भएको सम्झौतापछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिअनुसार विज्ञापन कारोबारका लागि न्यूनतम शुल्क तोकिएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरी छापा माध्यममा प्रतिकोलम प्रतिसेन्टिमिटर पाँच सय रुपैयाँ र टेलिभिजनमा एक हजार रुपैयाँ प्रतिमिनेट न्यूनतम दर कायम हुने उल्लेख छ ।
सम्झौतामा भएको यो व्यवस्था कुनै पनि सञ्चार र माध्यम र विज्ञापन एजेन्सीले मिलेमतोमा उल्लङ्घन गरे कारबाहीको दायरामा ल्याउने ती संस्थाले सहमति जनाएका छन् । यस्तै मिडियाहरुले कुनै पनि स्किम चलाउँदा विज्ञापनको न्यूनतम दररेटभन्दा कम गर्न पाइने छैन ।
यदि कुनै मिडियाले यो दरभन्दा न्यूनतम दरमा विज्ञापन सम्बन्धी कारोबार गरे त्यो मिडियालाई ३ महिनाका लागि विज्ञापन सम्बन्धी कारोबार गर्नबाट निलम्बन गरिने सम्झौतमा उल्लेख छ । सम्झौताअनुसार विज्ञापन एजेन्सीले क्रियटिभ कन्सेप्ट डिजाइनबापत शुल्क वार्षिक न्यूनतम छ लाख रुपैयाँ वा हरेक क्रियटिभ कन्सेप्टबापत न्यूनतम पाँच हजार रुपैयाँभन्दा कम शुल्क लिन पाउने छैन ।
यस्तै विज्ञापन एजेन्सीलाई दिएको १५ प्रतिशत कमिशन र मिडिया मार्केटिङ एजेन्सीले वाइङ्गको हकमा प्राप्त गर्ने अधिकतम थप ७ प्रतिशत शुल्क वापतको रकमबाट विज्ञापनदातालाई छुट दिन पाइनेछैन । एजेन्सीले मिडियाको दररेटमा नै कारोबार गर्नुपर्ने र वाइङ्ग एजेन्सीले दररेट स्वयम् तय गर्नुपर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार सञ्चारमाध्यमले विज्ञापनसम्बन्धी कारोबार गर्न दररेट प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ भने विज्ञापनको दररेट सार्वजनिक गर्दा छुटको प्रकृति खुलाउनुपर्नेछ । मूलधारका सञ्चारमाध्यमले कुनै पनि विज्ञापनदातासँग विज्ञापनको कारोबार सीधै गर्न पाउने छैन । इभेन्टको हकमा सञ्चारमाध्यमले विज्ञापनदातासँग सीधै कारोबार गर्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।