सिंहदरवारभित्रका क्यान्टिनबाट चार बालबालिकाको उद्धार

 जेठ ३१, २०८१ बिहीबार ९:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाण्डौ महानगरपालिकाले सङ्घीय प्रशासनिक सचिवालय रहेको  सिंहदरबारभित्रका क्यान्टिनहरुबाट चार जना बालश्रमिकलाई उद्धार गरेको छ । १८ वर्षमुनिका २ जना बालक र २ जना बालिकालाई उद्धार गरिएको महानगरले जनाएको छ ।

चार जनामध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको ठाउँबाट,  १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिनुभयो ।

महानगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वय खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरी, वडा कार्यालयका प्रतिनिधि, राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधिसहित सरोकारवालासहितको टोली बनाएर जोखिममा रहेका, शोषण तथा दुर्व्यवहार भोगिरहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ ।

यसअघि १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरेर अस्थायी संरक्षण गृहमा राखिएको छ । मेयरको सचिवालय सदस्य धिरज जोशीकाअनुसार उद्धारपछि उनीहरुले श्रममा भोग्नु परेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता दिने व्यवस्था मिलाइएको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया