राजस्व सङ्कलन सामान्य बढ्यो, ११ महिनामा ४१ अर्ब १९ कराेड रुपैयाँ उठ्याे

 असार ७, २०८१ शुक्रबार १२:२२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा ४१ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागकाअनुसार गएको वर्ष यही अवधिमा ३७ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव तीन शून्य प्रतिशतले बढी हो ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चार खर्ब ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गएको वर्ष जेठ मसान्तसम्मको राजस्व असुली चार खर्ब आठ अर्ब रुपैयाँ थियो । गएको वर्षभन्दा चालू आर्थिक वर्षको यो अवधिसम्म ४० अर्ब रुपैयाँले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले बताउनुभयो ।

आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धि कर (आन्तरिक) बाट एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अहिलेसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम सङ्कलन भएको छ । गएको वर्षको यही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालू आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन ।

कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालू आवको उत्तरार्द्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउनुहुन्छ ।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया