सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो

 साउन २३, २०८१ बुधबार १२:४९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

तीन ठूला दल सम्मिलित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रतिवेदन बुझाउनुभएको हो ।

कार्यदलले एक हप्ताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको विधेयकका मुख्य मुद्दामा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट लेखकसहित एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहनुभएको थियो । मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

यसैबीच प्रमुख तीन दलका शीर्ष नेताहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को यही अधिवेशनबाट पास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरूका लागि मात्र खुशीकाे विषय नभएको भन्दै यो विधेयकलाई संसद्को यही अधिवेशनमा पेश गरेर पास गर्नसमेत आग्रह गर्नुभयो ।

यस्तै सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउँदा विश्वका लागि अनुकरणीय हुने बताउनुभयो ।

यस्तै नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन यो सहमति 'टर्निङ प्वाइन्ट' भएको बताउनुभयो । कार्यदलले जुटाएको सहमतिलाई संसद्को कानुन समितिले सर्वसम्मत रूपमा पास गर्ने विश्वास रहेको भन्दै उहाँले संसदबाट पनि यही अधिवेशनमै पास गर्ने बताउनुभयो । ओलीले कानुन कार्यान्वयनमा पनि सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया