डाक्टरहरूको सुरक्षाका लागि भारतको सर्वोच्च अदालतद्वारा राष्ट्रिय प्रोटोकल तयार गर्न कार्यदल गठन

 भदौ ४, २०८१ मंगलबार १५:११:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको सर्वोच्च अदालतले डाक्टरहरूको सुरक्षाका लागि राष्ट्रिय प्रोटोकल तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न सिफारिश गर्नेछ ।

पश्चिम बङ्गाल राज्यकाे कोलकातामा रहेकाे आरजी कर अस्पतालमा एक जना महिला डाक्टरको बलात्कारपछि हत्या भएको विषयमा परेको मुद्दामाथि सुनुवाइ गर्दै भारतीय सर्वोच्च अदालतले कार्यदल गठन गरेको बीबीसी हिन्दीले जनाएको छ । प्रधानन्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको तीन सदस्यीय इजलासले यस्ता घटना नदोहोरिन राज्य सरकार पनि गम्भीर हुनुपर्ने बताएको छ ।

भारतका धेरैजसो युवा डाक्टरहरूले ३६ घण्टा ड्युटी गरिरहेको उदाहरण दिँदै सर्वोच्चले सुरक्षित वातावरण सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकलको विकास गर्नुपर्ने उल्लेख गरेको छ । यदि महिलाहरू काममा जान सक्दैनन् र कार्यस्थलमा सुरक्षित छैनन् भने उनीहरूलाई समानताको अधिकारबाट वञ्चित गरेको ठहरिने पनि सर्वोच्चले जनाएको छ ।

अदालतले पश्चिम बङ्गाल सरकारलाई कानूनी व्यवस्था कायम राख्न र अस्पताल सुरक्षित राख्न पनि आदेश दिएको छ । यस्तै अदालतले आरजी कर अस्पतालमा आक्रमण गर्ने अपराधीहरूलाई पक्राउ गरी उनीहरूविरुद्ध एफआईआर दर्ता गराउनुपर्ने बताएको छ । सर्वोच्च अदालतले यस मुद्दामा एफआईआर दर्ता गर्न ढिलाइ गरेको भन्दै पश्चिम बङ्गाल सरकारको आलोचना गरेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया