गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ – यस वर्षको दशैँ घरघरमा भित्रिसकेको छ । बजारमा कपडा र सरसामान किनमेल गर्नेको घुइँचो लागेको छ । घरघरमा जमरा राख्ने काम भइसकेको छ । विभिन्न शक्तिपीठको पूजा गर्ने दैनिकी निरन्तर छ ।
विजयादशमीको दिन आफूभन्दा ठूला र मान्यजनको हातबाट टीका ग्रहण गरेर शुरू हुने टीकाटालो कोजाग्रत पूर्णिमासम्म चल्नेछ । यो पर्वमा विभिन्न परिकार बनाएर खाने, आफन्तकोमा टीका लगाउन जाने, परिवारका सबै सदस्य सकेसम्म एकै ठाउँमा भेला भएर बस्ने र खुशी बाँड्ने पुरानो परम्परा र संस्कृति रहेको छ ।
दशैँबारे सामाजिक र सांस्कृतिक बुझाइ
यस पर्वको धार्मिक मान्यता र विश्वास के छ भने तोडेको सम्बन्धलाई जुटाउने र जुटेको सम्बन्धलाई फैलाएर नाता र वंशीय निरन्तरता कायम हुन सघाउने र आपसी सम्बन्धले सामाजिक आधार र विश्वास बलियो बनाउन सहयोग गर्छ । जुन कुरा व्यावहारिक रूपमा पनि उपयोगी देखिँदै आएको पनि छ । यस पर्वमा टाढा टाढादेखि आफ्नो घर र थातथलो सम्झेर दशैँ मनाउन फर्कनेको लर्को नै लाग्ने गर्छ ।
त्यति मात्र होइन नयाँ पिढीमा हुर्कंदै गरेका युवा र बालबालिकालाई आफ्ना आफन्त र इष्टमित्रबारे जानकारी प्रदान गर्न र सामाजिक अनुशासनका साथै आफूभन्दा ठूलाप्रति आदरभाव गर्न सिकाउँछ । जसले सामाजिक विश्वास, सम्मान र सत्कारको संस्कृति क्रमिक हस्तान्तरण हुन पनि सहयोग गरेको हुन्छ ।
पछिल्लो समय दशैँ हिन्दू धार्मिक समुदायभित्र मात्र सीमित नभएर सम्पूर्ण नेपालीले पर्वको रूपमा मान्ने प्रचलन बढ्दो छ । त्यसो त नेपालमा अन्य धार्मिक सम्प्रदाय पनि रहेका छन् । ती समुदायहरूको पनि आफ्नै जातीय मौलिक चाड र पर्व रहेका छन् ।
केही जातीय राजनीतिसँग सम्बन्धित समूह र सङ्गठनले यो पर्वलाई राजनीतिक दृष्टिकोणबाट विवादित बनाउन खोजिरहेको भए पनि सबै धर्म र जातिका समुदाय दशैँ पर्वसँग कुनै न कुनै रूपमा जोडिएका छन् ।
दशैँ पर्वको विषयमा उठ्ने गरेका विवाद र विपक्षमा देखिएका समुदायको आवाज पनि एक हद ठिकै मान्न सकिएला, किनभने हेगेलको द्वन्द्वात्मक मानवशास्त्रीय विश्लेषणले पनि समाजमा हुने सकारात्मक सांस्कृतिक द्वन्द्वलाई स्थिर समाजको गतिशील माध्यम मानेको छ ।
साथै सामाजिक एकता र संस्कृतिको निरन्तरताको रूपमा लिइने यस पर्व दशैँलाई पर्वसँग मात्र सीमित राखेर बुझ्दा अलिक यसको महत्त्व कम हुन सक्छ । किनभने यससँग रहेको सामाजिक र सांस्कृतिक महत्त्वसँगै नेपालको अर्थतन्त्र र रोजगारी सिर्जनामा शहरदेखि गाउँसम्म र गाउँदेखि शहरसम्म कृषि क्षेत्रको विशेष गहिरो प्रभाव रहेको छ ।
यो लेखमा विशेष गरेर नेपालको कृषि क्षेत्र र मुख्य पर्व दशैँबीच जोडिएर रहेको अन्तरसम्बन्धबारे विश्लेषण गर्दै नेपालको अर्थतन्त्र र लाखौँको जीवनयापनमा कसरी प्रभाव पार्छ भन्ने विषयमा विश्लेषण गर्ने जमर्को गरिएको छ ।
नेपालको कृषि अर्थशास्त्र
नेपालको अर्थतन्त्रमा कृषिको महत्त्व अझै उल्लेखनीय नै छ । ग्रामीण अर्थतन्त्रको आधार बनेको यस क्षेत्रले विश्व बैंकको सन् २०२३ को तथ्याङ्कअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) काे २१ दशमलव १९ प्रतिशत योगदान गरेकाे देखाएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् २०२२ मा प्रस्तुत गरेको तथ्याङ्कअनुसार नेपालको कृषिले ६१ दशमलव ३९ प्रतिशत रोजगारी सिर्जना गरेकाे छ । कृषि क्षेत्रले ७५ दशमलव १९ प्रतिशत महिलालाई रोजगारी प्रदान गरेको छ भने पुरुषका लागि ५३ दशमलव ३१ प्रतिशत छ ।
सन् १९९० को अर्थ राजनीतिक परिवर्तनपछि रैथाने परम्पराबाट गुज्रिरहेको कृषि धेरै नै अगाडि बढेको छ । त्यसमा व्यावसायिक कृषिको अवधारणा जोडिन्छ । एकल बाली र पशुपालन अभ्यास फस्टाएको छ । नगदे बालीले राम्रै योगदान गरिरहेको छ । मुख्यगरी गाउँको अर्थतन्त्र उकास्न र गाउँले गरिबी हटाउन ।
व्यावसायिक पशुपालन, मत्स्यपालन र कुखुरापालन गर्ने कृषि अभ्यासले बिस्तारै आधुनिक खेती र कृषि अभ्यासतर्फ समाजलाई अगाडि लैजाँदैछ । रैथाने र परम्परागत कृषिबारेको बुझाइमा परिवर्तन गरिरहेको छ । जीवन धान्ने पेसाको रूपमा बुझिएको संस्कृतिमा गरिने कृषिलाई अहिले पेसागत र आर्थिक उपार्जनको आधार मान्न थालिएको छ ।
नेपालमा पशुपालन व्यवसायलाई अन्य नगदेबाली र अन्नबाली खेतीको तुलनामा लाभ र श्रमको पक्षबाट हेर्दा सहज कृषि व्यवसायको रूपमा लिने गरेको पाइन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागको सन् २०२०/२१ को तथ्याङ्कअनुसार पशुपालन क्षेत्रले देशको जीडीपीमा १३ प्रतिशत र कृषिको जीडीपीमा २७ प्रतिशत योगदान पुर्याएकाे देखाएको छ ।
आर्थिक वर्ष २०१९/२० मा पशुपालन क्षेत्रले ५ दशमलव ५८ प्रतिशत योगदान गरेको थियो । जसमा यी पशुपालनमध्ये जीडीपीमा राँगा/भैँसीको मासुको योगदान ४ दशमलव ३३ प्रतिशत, भेडाको मासुको शून्य दशमलव ०७ प्रतिशत, खसीबोका र बाख्राको मासुको ३ दशमलव १७ प्रतिशत, सुँगुर/बङ्गुरको मासुको शून्य दशमलव ३१ प्रतिशत र कुखुराको मासुको १ दशमलव ५५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०२०/२१ मा देशभर कुल ५ लाख २० हजार ७ सय ४२ मेट्रिक टन मासु उत्पादन भएकोमा सबैभन्दा धेरै राँगाको मासु १ लाख ८८ हजार १ सय ७२ मेट्रिक टन, कुखुराकाे २ लाख २६ हजार ९ सय ५९ मेट्रिक टन, सुँगुरकाे ३१ हजार ४ सय ५० मेट्रिक टन उत्पादन भएको देखाउँछ । यसले नेपालमा मासुको खपत बढ्दै गएको प्रस्टै छ । साथै मासु खपत हुने दशैँजस्ता अन्य चाडपर्वले नेपालमा व्यावसायिक पशुपालनको आकार र सम्भावना बढाएको छ नै ।
कृषि र दशैँबीचको आर्थिक सम्बन्ध
नेपालको सांस्कृतिक र सामाजिक तथा धार्मिक चाड दशैँमा बाहेक मासु र अन्य कृषि वस्तुको खपत हुने चाडपर्व अरू पनि रहेका छन् । तर तुलनात्मक सङ्ख्या र आर्थिक दृष्टिकोणमा रहेर विश्लेषण गर्दा नेपालमा मनाइने अन्य चाडपर्वभन्दा दशैँ सबैभन्दा धेरै दिन मनाइने र मासु तथा कृषि वस्तुको खपत पनि धेरै हुने हुनाले यो पर्वलाई कृषि अर्थशास्त्रको पक्षबाट महत्त्वपूर्ण पर्वको रूपमा लिने गरिन्छ ।
चाडपर्व र आर्थिक सम्बन्धमा चन्द्रप्रसाद ढकालले आफ्नो अध्ययन जर्नलमा प्रकाशित ‘रिलेसन बिटविन फेस्टिवल एण्ड इकोनोमी एक्टिभिटीज इन नेपाल’ मा पनि यस्ता चाडपर्वले राष्ट्रको आर्थिक विस्तार गर्न सहयोग गर्ने उल्लेख गर्दै अर्थतन्त्र र आर्थिक गतिविधिबीच सकारात्मक सह–सम्बन्ध हुने उल्लेख गर्नुभएको छ ।
आधुनिकता र भूमण्डलीकरणको सम्बन्ध र प्रभावले नेपालको समाज र खानपान शैलीमा परिवर्तन गर्न सहयोग गरेको छ । जुन परिवर्तित शैलीले नेपालीको चाडपर्व मनाउने शैलीमा व्यापकता आएसँगै खानेकुरामा खर्च गर्ने संस्कृति पनि विकास भएको छ ।
यसरी खानेकुरामा पक्कै मासुलगायत कृषि खाद्य वस्तुका परिकार नै हो । दशैँ पक्कै पनि मासुसँग जोडिएको हुनाले अन्य समयभन्दा धेरै खपत हुने मासुका लागि पशुचौपायाको नै प्रयोग हुने हुँदा यसको खरिद/बिक्री पनि पक्कै बढ्ने भयो, साथै अन्य कृषि वस्तु पनि ।
यसरी खपत हुने कृषि वस्तु र पशुचौपायाको खरिद/बिक्री र मासुको प्रयोगले नेपालमा पशुपालनको थप सम्भावना बढाएको छ । यसले गाउँको मात्र नभई शहरको अर्थतन्त्र चलायमान गर्न पनि सहयोग पुगेको छ । दुवै क्षेत्रमा रोजगारी सिर्जना गर्न पनि सहयोग गरेको छ । थप कृषि क्षेत्र विस्तार गर्न लगानीको अवसर पनि सिर्जना गर्दै लगेको छ ।
त्यति मात्र होइन, दशैँमा हुने कृषि वस्तुको व्यापार व्यवसायबाट कृषि गर्ने किसान र व्यापारी अनि संलग्न मजदुरको परिवारको आर्थिक स्तर वृद्धि गरेर परिवारको स्वास्थ्य र शिक्षा अनि मनोवैज्ञानिक विकासमा पनि सहयोग गरेको छ । अझ गरिबी न्यूनीकरण गर्न पनि सहयोग पुर्यनएको छ ।
त्यसैले दशैँ कृषि र किसानका लागि एक आर्थिक, सांस्कृतिक र सामाजिक अवसर बन्ने गरेको छ । यसैअन्तर्गत बालीका हिसाबले धानबाली र यसको कर्म पनि जोडिएको छ ।
दशैँसँग जोडिएको राजनीति र आर्थिक सम्बन्ध
अघिल्लो महिना म (लेखक) काठमाण्डौबाट गोरखाको गण्डकी गाउँपालिकामा पुगेको थिएँ । म जहाँ गएको थिएँ, त्यहाँ रहेका केही समुदायले दशैँ मनाउँदैनन् । जुन कुरालाई राजनीतिक र सांस्कृतिक अधिकारभित्र जोडेर हेर्ने गरिएको छ ।
दशैँमा हुने पशु बलिलाई हिंसासँग जोडेर पनि उनीहरू पर्व नमान्ने गरेको बताउँछन् । तर पनि हरेक घरमा दशैँमा बेच्न भनेर कम्तीमा पनि तीनदेखि चार वटा खसीबोका तयार पारेर राखिएको थियो । दशैँमा फुटबल खेल आयोजना गर्न आर्थिक सङ्कलन भइरहेको थियो । जसका लागि देश विदेशमा रहनेले मन फुकाएर र आफ्नो गच्छेअनुसार सहयोग गरेको पाइयो । यसअघि नै हेगेलको द्वन्द्वात्मक मानवशास्त्रीय विश्लेषणलाई एक लाइन जोडी सकिएको छ ।
दशैँलाई राजनीतिक बुझाइ र स्वार्थसँग जोडेर सांस्कृतिक व्याख्या गरी दशैँको विरोध र समर्थन जे गरेको भए पनि कृषि, किसान र गाउँ तथा सिङ्गो देशको अर्थतन्त्रसँग निकै नै बलियो र भरपर्दो सम्बन्ध राखेको छ भन्ने पुष्टि दशैँ नमान्नेले पनि दशैँका लागि लक्षित गरी पशुचौपायाको पालन र बिक्रीको समय कुरेर बस्ने गरेकोबाट हुन्छ ।
दशैँले कृषि समाज र कृषि अर्थतन्त्रलाई राजनीतिक व्याख्या र बुझाइअनुसार विभेद गरेको देखिँदैन । कुनै न कुनै तहबाट हरेक नेपालीको परिवार र सदस्यसँग दशैँ जोडिएको छ । र यो हिन्दू वा एक कुनै धार्मिक समुदायको मात्र चाड नभई नेपालीको चाड बनेको छ । किनभने गोरखाको गण्डकी गाउँपालिकामा जस्तै दशैँ नमान्ने हिमाली गाउँ मुस्ताङ र मनाङका किसानले समेत दशैँमा आफूले पालेका भेडाच्याङ्ग्रा बेच्ने गर्छन् ।
कृषि क्षेत्रका चुनौतीहरू
यसपालि मुख्य चाड दशैँको पूर्वसन्ध्यामा मनसुनजन्य विपद्ले क्षति पुग्यो । कृषिमा मात्रै झन्डै ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । कृषि र किसान अनि कृषिमा आधारित ग्रामीण क्षेत्रमा आर्थिक अवसरहरू ल्याउने पर्व दशैँ यसपालि विपद्कै कारण केही खल्लो पक्कै बनेको छ । यसबाहेक पनि कृषि क्षेत्रका प्रणालीगत चुनौती कायमै छन् ।
अझैसम्म पनि नेपाल जस्तै धेरै गरिब र कम विकसित देशको अर्थतन्त्रको आधार भनेकै कृषि नै रहेको छ । जहाँ कतिपय कृषि अभ्यास रैथाने सीप र ज्ञानले थेगिरहेको छ । हाते औजार, रैथाने बीउ र नश्लका पशुचौपायाको प्रयोग, स्थानीय अनुभव र मानव श्रम नै नेपालको ग्रामीण कृषिको आधार बनेको छ । जसले गर्दा कृषिको लागतमा अझै कमी ल्याउन कठिन भएको छ । कृषि मौलिक र सबैका लागि बन्न मुश्किल भइरहेको छ । जसका पछाडि धेरै समस्या र चुनौती रहेका छन् ।
कृषि श्रमिकको चुलिँदो अभाव
नेपालको कृषि सम्भावना हेर्दा अप्ठेरा र चुनौती जति नै भए पनि उत्पादन र बजारको सम्भावना घटेको भने छैन । बढ्दो जनसङ्ख्या, स्वदेशी बजार, मान्छेको खाद्यान्न उपभोगमा आएको चेतना, परम्परागत चाडपर्वमा हुने कृषि वस्तु र पशुचौपायाको बढ्दो खरिद/बिक्री, खाद्य उपभोगको शैलीमा आएको परिवर्तन, क्रमिक अन्तर्राष्ट्रिय बजारमा बन्दै गएको कृषि वस्तुको बजार, उपभोक्ताको क्रय क्षमतामा भएको वृद्धिलगायतले सम्भावना अझ बढ्दो देखाउँछ ।
पछिल्लो समय कृषिमा प्रविधि भित्र्याउन र बढ्दै गएको बजारमा चाडपर्वबाहेक अन्य समयमा पनि कृषि उत्पादनको बजार मूल्य सुनिश्चित हुन नसक्दा, प्रविधिको अभावमा कृषि श्रम गर्न कठिनाइ हुँदा कृषि श्रममा युवाको आकर्षण र आबद्धता घटिरहेको अवस्था छ ।
त्यससँगै अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी खोज्दै जाने नेपाली युवाको सङ्ख्या बढ्दो छ । नेपालको ग्रामीण कृषिमा कृषि श्रमिकको अभाव चुलिँदो अवस्था छ । जसका कारण सम्भावना हुँदाहुँदै पनि युवापुस्तामा भने कृषि क्षेत्र आकर्षक र भरपर्दो पेसा बन्न सकिरहेको छैन ।
मौसमी बिक्रीमा निर्भरता
पहाडी तथा हिमाली भू–बनाेट र कृषिका लागि आवश्यक सिँचाइ प्रबन्धलगायतको कमीका कारण नेपालको कृषिले खेतीका लागि अझै पनि आकाशे अर्थात् मौसमी वर्षाकाे पानीमा निर्भर हुनुपरेको छ । चाहे त्यो परमपरागत होस् वा व्यावसायिक । जसले गर्दा अझै पनि विस्तार हुँदै गइरहेको बजारको सम्भावनाअनुसार कृषि गर्न साना किसान घरपरिवार जोडिन कठिन भइरहेको छ ।
यसले धेरै किसानहरू आफ्नो कृषि वस्तु र चौपाया बिक्रीका लागि दशैँलगायत चाडपर्वमा निर्भर हुनुपर्ने अवस्था रहेको छ । किसान दशैँको समयमा उत्पादन भएको आयमा अत्यधिक निर्भर हुनु परिरहेको छ । जसले तिनीहरूको पशुचौपायाको मूल्य र बजारको मागमा परिवर्तनशीलतासँग प्रभावित बनाउने गरेको छ ।
यस प्रवृत्तिले किसानको खेती गर्ने उत्साहमा परिवर्तन ल्याउने सम्भावना रहन्छ । यदि यस कारण उत्पादन कम भएमा किसान परिवार र देशकै सन्दर्भमा आर्थिक अस्थिरता निम्त्याउन सक्छ । दशैँको समयमा पशुचौपायाको वृद्धिले दिगो कृषि अभ्यासहरूमा चासोको चाप गराउँछ । जसका लागि बजारको मागअनुसार कृषि वस्तु र पशुचौपायाको माग पूरा गर्नका लागि उत्पादन प्रक्रिया चाँडो गर्नुले दीर्घकालीन कृषि स्वास्थ्यलाई कमजोर बनाउने गलत अभ्यासहरूको रूपमा परिणाम दिन सक्छ ।
जलवायु परिवर्तनको प्रभाव
हरेक वर्ष कृषिलगायत अन्य विकासको गतिविधिमा किसान र ठूला कम्पनीहरूले आर्थिक वृद्धिका लागि अपनाएको औद्योगिक अभ्यास र त्यसका लागि प्रयोग भएका प्रविधि र प्राकृतिक स्रोतको अवैज्ञानिक उपभोगका कारण जारी रहेको जलवायु परिवर्तनले कृषि उत्पादनलाई बाधा पुर्याइरहेको छ । जसले कृषिलगायत वनजङ्गलसँग सम्बन्धित बोटबिरुवा र पशुहरूको स्वास्थ्यलाई असर पुर्याएका कारण कृषिको अपेक्षित लाभमा असर पुगेको छ । यस अवस्थामा किसानलाई यी परिवर्तनहरूमा अनुकूलित गर्न आवश्यक छ, जसले प्रायः चुनौतीपूर्ण बनाउँछ ।
हालै आएको बाढी र पहिरो अनि डुबानमा पनि जलवायु परिवर्तन र हामीले अपनाएको विकास अभ्यास र गैरइन्जिनियरिङ भू–उपयोग शैलीका कारण कृषि उत्पादन र पशुचौपाया तथा मत्स्यपालनमा धेरै नै क्षति पुगेको छ ।
बाढीपहिरोको क्षतिबाट झन्डै ५८ हजार ४ सय ७६ हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ । झन्डै तीन अर्ब रुपैयाँ बराबरको धानबालीसँगै माछापोखरीतर्फ एक अर्ब रुपैयाँभन्दा धेरै, अलैँचीतर्फ ७० करोड, उखुमा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । तरकारी, फलफूल र केही पशुचौपायामा पनि क्षति छ ।
कृषितर्फका विभिन्न क्षेत्रमा क्षति भएकाले यसले किसानलाई दीर्घकालीन असर पार्ने कृषि मन्त्रालयले जनाएको छ । विगतमा २०७८ सालमा बेमौसमी वर्षाले धानबालीमा झन्डै ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । यसपालि मनसुन सकिने बेला तथा मुख्य चाडपर्वको मुखैमा परेको अविरल वर्षाले जनधनको क्षति गरेको छ ।
निष्कर्ष
नेपालको अर्थतन्त्रमा कृषि र दशैँबीचको सम्बन्ध कसरी जोडिएको छ भन्ने कुरा यी पर्वहरूमा उपभोग हुने कृषि उत्पादन र पशुचौपायाको उपभोगले कृषिको महत्त्वपूर्ण भूमिका देखाउँछ । जसले नेपालको आर्थिक गतिविधिलाई उत्साहित गर्न सघाएको छ ।
यस्ता चाडपर्वमा पशुचौपायाको मागको आपूर्ति वा पूर्ति गर्नका लागि किसानहरू तयार छन् । यसबाट अर्थतन्त्रमा व्यापक वृद्धिमा मद्दत पुग्दै आएको छ र यसमा वृद्धि हुन सक्छ भन्ने देखाउँछ । तर योगदान गर्न तयार भए पनि र सम्भावना हुँदाहुँदै पनि उनीहरूले प्रायः जटिलता र चुनौतीको सामना भने गर्नुपरेको छ ।
दशैँले सांस्कृतिक, सामाजिक, धार्मिक अभ्यासको निरन्तरता मात्र गरेको छैन, पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सम्बन्ध र अनुभवलाई जोड्ने काम पनि गरेको छ । दशैँ नै नमान्ने हिमाली जिल्लादेखि अन्य पहाडी बस्तीमा रहेका गैरहिन्दू किसानले पालेको पशुचौपायाको बजार सिर्जना गरेको छ ।
पशुचौपायाको बिक्रीबाट आएको आम्दानीले परिवारको आर्थिक हैसियत निर्माण गर्न, बालबच्चाको शिक्षा र स्वास्थ्य सुधार गर्न सघाएको छ । त्यति मात्र होइन, धेरैजसाे गैरहिन्दूले पनि दशैँमा मासु खानका लागि पशुचौपाया खरिद गर्ने र शुभकामना आदानप्रदान गर्ने संस्कृति रहेको हुँदा समाजमा अन्तरघुलनता गराउन र भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग गरेको छ ।
यसरी हेर्दा दशैँ सबैका लागि आर्थिक र कृषि विकासको दृष्टिकोणले अत्यन्त महत्त्व रहेको देखाउँछ । के दशैँ मान्ने, के दशैँ नमान्ने सबै किसान र गरिबको सम्म कुनै न कुनै पक्षबाट खुशी र समृद्धि पुर्याउन सफल भएको छ ।
यसका लागि दिगो कृषि प्रवर्द्धन गर्नु र बजार पहुँच सुधार गरेर कृषि विकासको रणनीति निर्माण गरी जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट कृषिलाई सुरक्षित गर्ने नीति र त्यससँग सुहाउँदो कार्यक्रम ल्याउन आवश्यक छ ।
युवाको सहभागितालाई सुनिश्चित गर्न प्रविधि र यान्त्रिक कृषिमा जोड बढ्न जरुरी छ । यस प्रकारको पशुचौपायासँग जोडिएको कृषिले आर्थिक क्षमतालाई सदुपयोग गर्न मद्दत गर्न सक्छ । नेपालले आफ्नो कृषि क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्दै, नवप्रवर्तन र लचिलोपनलाई प्रवर्द्धन गर्ने कुरा महत्त्वपूर्ण हुनेछ, जसले किसानको जीवनयापनलाई सुरक्षित गर्न र निरन्तर आर्थिक वृद्धिलाई सुनिश्चित गर्नेछ ।
अन्तमा, कृषि र दशैँबीचको पारस्परिक सम्बन्धले नेपालको संस्कृति र अर्थतन्त्रको समृद्धि देखाउँछ । आशा, लचिलोपन र मानिसहरूको स्थायी आत्मालाई प्रतीकात्मक गर्छ । दशैँ माने पनि वा नमाने पनि दशैँले सबै जाति समुदायलाई आर्थिक रूपमा जोडेको छ ।
कृषिकै कारण दशैँ र दशैँकै कारण कृषि बाँचेको छ । यति हुँदाहुदै पनि पनि कृषिमा कैयौं चुनौतीहरू छन । यी चुनाैतीहरूलाई सम्बाेधन गर्नुपर्छ । यी प्रयासले नेपालको पशुचौपाया पालन र कृषिको सम्बन्धलाई भविष्यमा पनि फुलाइरहने कुरामा सुनिश्चित गर्न सक्दछ, जसले समाजका सबै श्रेणीहरूको लाभ पुर्याउँछ । यो एउटा उद्योगको रूपमा विकास हुन सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लक्ष्मण गुरुङ कृषि अर्थ विज्ञ हुनुहुन्छ ।