एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – मानव तस्करीमा जोडिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा एमालेका सांसद लीलावल्लभ अधिकारीमाथि अनुसन्धान शुरू नभएको भन्दै आलोचना भइरहेको छ ।
मन्त्री अधिकारीसँगै जोडिएका ६ जनालाई पक्राउ गरेर अनुसन्धान भए पनि उहाँमाथि अनुसन्धान नभएको भन्दै आलोचना भइरहेको हो । मुख्यमन्त्री र सङ्घीय सरकारसँग अनुमति नै नलिई जापान उडेका मन्त्री अधिकारी र खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमन कार्यालयले ४८ घण्टा विमानस्थलमा राखेर नेपाल डिपोर्ट गरेपछि मानव तस्करीको जालोमा मन्त्री पनि संलग्न रहेको हुनसक्ने खुलेको हो ।
अधिकारीले पदको मात्र दुरुपयोग नगरी मन्त्रालयकै कार्ड बनाएर शेर्पा, राई र देवकोटालाई जापान पुर्याएको आरोप लागेको छ । जापानको अध्यागमनले डिपोर्ट गरेका तीनै जना र तीन जनाको बयानका आधारमा प्रहरीले अरू तीन जनालाई पनि पक्राउ गरेको छ । तर मन्त्री लीलावल्लभ अधिकारी भने राजीनामा दिएर उम्किनुभएको छ ।
डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्री अधिकारीकै हस्ताक्षर रहेको मन्त्रालयको नक्कली परिचय पत्र बरामद गरेको छ । एक जना प्रहरी अधिकारीका अनुसार मन्त्रीकै हस्ताक्षर भएको कार्ड भेटिनुले मन्त्री पनि यो प्रकरणमा संलग्न रहेको अनुमान गर्न गाह्रो छैन तर पहुँचका आधारमा भेदभाव हुँदा मन्त्री पक्राउ परेका छैनन् ।
मानव तस्करीमा बहालवाला मन्त्री नै जोडिएपछि यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग छलफल गर्न मुख्यमन्त्री हिक्मत कार्की अहिले काठमाण्डौमा हुनुहुन्छ ।
यसैबीच नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीको जापान भ्रमण प्रकरणकाे विषयमा छानबिन गर्न माग गरेको छ । संसदीय दलका सचेतक गीता तिमल्सिनाले विज्ञप्ति निकालेर कूटनीतिक मर्यादाको उल्लङ्घन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिङ्गो प्रदेशवासीको शिर निहुरिएको उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।