चार महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा साढे दुई प्रतिशतले बढ्यो

 मंसिर २९, २०८१ शनिबार १५:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढेको छ । यो अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा साढे दुई प्रतिशतले धेरै हो ।

वार्षिक बिन्दुगत आधारमा गएको कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव २ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव ९ प्रतिशत रहेको छ ।

चार महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २ दशमलव ६ प्रतिशतले, विकास बैंकहरुको २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३ दशमलव ९ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु)को सुरक्षणमा १३ दशमलव ५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ प्रतिशत रहेको छ ।

चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ दशमलव १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव ८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २ दशमलव १ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ दशमलव ६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २ दशमलव ९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २ दशमलव ५ प्रतिशतले बढेको छ । तर, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव ९ प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया