बङ्गलादेशमा एक वर्षभित्र चुनाव हुने

 पुष १, २०८१ सोमबार १५:१६:५७ | एजेन्सी
unn.prixa.net

बङ्गलादेश अन्तरिम सरकारका प्रमुख युनुस, तस्वीर : एपी

बङ्गलादेशमा आउँदो एक वर्षभित्र चुनाव हुने अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा गएको अगस्टमा विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आउँदो वर्षको अन्त्य वा सन् २०२६ को शुरूमा आमचुनाव हुने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसले कामचलाउ सरकारको नेतृत्व गर्नुभएको थियो । उहाँले झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनर्स्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र चुनाव गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहनुभएको छ ।

गएको अगस्टमा ढाकामा रहेको प्रधानमन्त्रीको कार्यालयमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी देश भारततर्फ भाग्नुभएको थियो ।

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गर्नुभएको छ । चुनावको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर गर्नेछ । राजनीतिक दलले त्रुटिरहित मतदाता नामावलीजस्ता न्यूनतम सुधारका साथ पहिलेकै मितिमा चुनाव गर्न सहमत भएमा नोभेम्बरको अन्त्यसम्ममा चुनाव गर्न सकिने उहाँको भनाइ छ ।

बङ्गलादेशमा पछिल्लो पटक गएको जनवरीमा आमचुनाव भएको थियो । चुनाव स्वतन्त्र र निष्पक्ष हुने कुरामा आशङ्का व्यक्त गर्दै विपक्षी दलहरूले त्यो चुनावलाई बहिष्कार गरेका थिए भने चुनावमा हसिनाको दल अवामी लिगलाई दुई तिहाइ सिट प्राप्त भएको थियो ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्वविपक्षी समूहहरू हसिनाको नेतृत्वमा वर्षाैंको दमनपछि अहिले सङ्गठनको पुनर्निर्माण गरिरहेका छन् ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया