रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टर...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रचण्डले सरकारको जमिन गैरकानूनी रूपले व्यक्तिको नाममा ल्याउने कार्यमा जो कोही संलग्न भए पनि कानूनको दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभयाे । उहाँले ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभई धन्यवाद दिने बताउनुभयो ।
आफू प्रधानमन्त्री हुँदा विभिन्न भ्रष्टाचारसँग सम्बन्धित फाइलहरू खोलेको र कानून मिचेर या कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिने जो कसैलाई पनि छुट दिन नमिल्ने थिति बसाल्न खोजेको भन्दै प्रचण्डले शेरा दरबारको जग्गा हिनामिना भएको भए दोषीलाई छाड्न नहुने बताउनुभयो ।
प्रचण्डलाई जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको अनुसन्धान गरेर टुङ्गोमा पुर्याउने बताउनुभयो । उहाँले गैरकानूनी रूपले व्यक्तिको नाममा गएको जग्गा सरकारको नाममा ल्याउने भएकाले धन्यवाद दिन तयार रहन प्रचण्डलाई आग्रह गर्नुभयो ।
नुवाकोटको विदुर नगरपालिका–२ शेरा दरबार र त्यसले चर्चेको १ सय ८४ रोपनी ४ आना १ पैसामध्ये १ सय ६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै सार्वजनिक जग्गा गैरकानूनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सीआईबीले पत्र लेखिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।