नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गर्ने मन्त्री पौडेलको निर्णय

 पुष १८, २०८१ बिहीबार १५:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गर्नुभएको छ ।

विद्यालय नर्सिङ कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गर्नुभएको हो ।

विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रूपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् । यसैगरी नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका साथै आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ ।

अहिले देशका सातै प्रदेशका एक हजार तीन सय ८६ वटा विद्यालयमा नर्सिङ कार्यक्रम लागू भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउन गएको साउन २७ गते योजना तथा कार्यक्रम घोषणा गर्नुभएको थियो । आफ्नो कार्यक्रमलाई मद्दत मिल्ने गरी निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्य दूत थप्न लागिएको मन्त्री पौडेलले बताउनुभएको छ ।

पाँच सय जना विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् । उनीहरूलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत पालिका र विद्यालयका नर्सहरूले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् । मन्त्रालयले यस वर्ष प्रयोगका रूपमा लागू गर्ने र आउँदो वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया