तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो, सडकमा गाडी चलाउन समस्या

 पुष २५, २०८१ बिहीबार ६:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै  मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको छ ।

यस्तो समस्या बुटवल–नारायणगढ सडकमा बढी छ । आज पनि यस सडकखण्डमा गाडी चलाउन समस्या रहेको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि नै बाक्लो हुस्सुसँगै शीतलहर चलेको छ । हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको हो ।

हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।

तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईमा घर बाहिर निस्कँदा कपडा भिज्ने खालको शीतलहर चलिरहेको स्थानीयबासिन्दाको भनाइ छ । तर सरकारले शीतलहर घोषणा गरिसकेको छैन ।

शीतलहर चलेको घोषणा गर्न आवश्यक मापदण्डबारेमा सुक्ष्म अवलोकन गरिरहेको र सबै मापदण्ड पूरा भएमा घोषणा गर्ने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।

मौसमविद झाका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्थालगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया