गुल्मीमा यस वर्ष साढे २४ कराेड रुपैयाँ बराबरकाे सुन्तला उत्पादन

 पुष २५, २०८१ बिहीबार १५:१२:२३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गएको वर्ष २३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयाे ।

यस वर्ष १३ करोड रुपैयाँ बराबरको सुन्तला जिल्लाबाहिर निर्यात भएको कार्यालय प्रमुख धितालले बताउनुभयो । गएको वर्ष गुल्मी जिल्लाबाट १२ करोड रुपैयाँ बराबरको सुन्तला बाहिरि जिल्लामा निर्यात भएको थियो । नयाँ बोटहरूले फल दिन शुरू गर्नु, सुन्तलालाई उचित मल तथा सिँचाइ पुग्नु, समस्या देखिएमा तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नुजस्ता कारणले उत्पादन बढेको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगा पोख्रेलले बताउनुभयाे ।

गुल्मीमा ९५ प्रतिशतभन्दा धेरै सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाहरूले लामो समयसम्म फल दिने गर्दछन् । तर किसानले परम्परागत रूपमा सुन्तला खेती गर्ने भएका कारण कतिपय अवस्थामा सुन्तलाका फेद र जरा कुहिने समस्या देखिने गरेको छ । धुर्कोट गाउँपालिकाका–२ का सुन्तला किसान शिवलाल खनालका अनुसार सुन्तला बगैँचामा मलखाद र सुक्ष्म तत्त्वको अभावका कारण पात पहेँलो हुने, टुप्पाबाट बोट सुक्दै जाने, फल सानो लाग्ने, फल झर्ने र बोक्रा बाक्लो हुनेजस्ता समस्या छ ।

गुल्मीका १२ वटै पालिकामा सुन्तला खेती हुने गर्दछ । १२ पालिकाका ३७ वटा वडामा सुन्तलाजात फलफूल जोन कार्यक्रम लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीको मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारा, सत्यवतीको लिम्घालगायतका ठाउँमा सुन्तला खेतीका लागि चक्लाबन्दीसमेत गरिएको छ ।

गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुने भएका कारण बजारमा सुन्तलाको राम्रो माग हुने गर्दछ । बुटवल, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट व्यापारी बगैँचामै सुन्तला खरिद गर्न आउँछन् । अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकेजी ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

सुन्तलाकाे दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका जात पहिचान गरी व्यवसायीकरण गर्न शुरू गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।

परियोजनाबाट सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोटहरू काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना प्रमुख पोख्रेलले बताउनुभयाे ।

गुल्मीमा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, शृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटको रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया