एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले पुलिसलाई २–० गोलले हरायो । योसँगै एपीएफ लगातार ७ खेल जित्दै २१ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । पुलिस ८ खेलमा ११ अङ्कसहित तेस्रो स्थानमा छ ।
एन्फा महिला लिगमा प्लेअफ समीकरण पूरा भइसकेको छ । प्रतियोगिताको क्वालिफायर–१ मा शीर्ष स्थानको एपीएफ र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्नेछन् । यो खेल आउँदो शनिवार बिहान १० बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।
यसअघि शुक्रवार दिउँसो २ बजे इलिमिनेटरमा तेस्रो स्थानमा पुलिस र चौथो स्थानको बाग्मती युथ क्लब खेल्नेछन् । यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर–१ मा जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । क्वालिफायर–१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि क्वालिफायर– २ मा आउँदो सोमवार बिहान १० बजे दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते बुधवार दिउँसो ४ बजे दशरथ रङ्गशालामा हुनेछ ।
प्लेअफअघि अब २ खेल बाँकी छ । भोलि बाग्मती युथ र वालिङ तथा पर्सि आर्मी र एपीएफ खेल्दैछन् । वालिङ यसअघि नै बाहिरिइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।