विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता

 माघ ७, २०८१ सोमबार १८:२१:२६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतिसँग आज फोनवार्ता गर्नुभएको छ ।

इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतवारदेखि मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा. राणाले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा. अब्देल अतिमार्फत इजिप्ट सरकारसँग आज आग्रह गर्नुभएको हो ।

आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहनुभएकी मन्त्री डा. राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गर्नुभएको हो ।

फोनवार्ताका क्रममा मन्त्री डा. राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिनुभएको थियो । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा. अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताउनुभएको थियो ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा. राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनकाे रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।

केही दिनमात्र अघि मन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्री डा। मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग पनि फोनवार्ता गरी यही आग्रह गर्नुभएको थियो । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ ।

त्यसैगरी मन्त्री डा. राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरूले अपहरणमुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गर्नुभएको थियो ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गएकाे वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. राणाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय मञ्च र बैठकहरूमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया