इप्पान र प्रोक्लाइमबीच २ हजार मेगावाट बिजुलीकाे 'आईरिक्स' सम्बन्धी सम्झौता

कार्बन व्यापारबाट नेपालका जलविद्युत् कम्पनीले १ अर्ब रुपैयाँ आर्जन गर्न सक्ने

 माघ १९, २०८१ शनिबार १७:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट बिजुलीकाे अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले काठमाण्डाैमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्र आदानप्रदान गरेका छन् । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २७ सय मेगावाट बिजुलीमध्ये पहिलो चरणमा २ हजार मेगावाट बिजुली कार्बन ट्रेडका लागि योग्य हुनेछ ।

यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले वर्षेनि झन्डै १ अर्ब रुपैयाँ बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभएको छ । प्रोक्लाइमका सीईओ कंडासामीले भारत, भुटान र श्रीलङ्काले कार्बन व्यापारबाट फाइदा लिइरहेकोले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको उल्लेख गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय हाइड्रोपावर एसोसिएशन (आईएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू सस्टेनेबल डेभलपमेन्टका मापदण्ड पूरा गरेर बनिरहेको भन्दै नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन ट्रेडबाट पैसा पाउने बताउनुभयाे ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आईरिक्स क्याल्कुलेटरको शुभारम्भ गर्नुभएको छ । यो क्याल्कुलेटरले कति मेगावाट बिजुली उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने कुरा देखाउँछ ।

विश्व बजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष डा. धितालले जलविद्युत्को प्रचुर सम्भावना रहेको र ३ हजार मेगावट भन्दा धेरै जलविद्युत् मात्रै उत्पादन भइरहेकोमा नेपालले अब कार्बन ट्रेडबाट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयाे ।

यस्तै वन तथा वातावरण मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले नेपालले वनजङ्गलबाट सानो स्केलमा कार्बन विसर्जनबापतको रकम लिए पनि जलविद्युत् आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताउनुभयाे ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया