सन् २०५० सम्ममा विश्वभरका आधाभन्दा धेरै वयस्कमा मोटोपना वा बढी तौल हुने : अध्ययन

 फागुन २०, २०८१ मंगलबार १८:२४:३८ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

सन् २०५० सम्ममा विश्वभरका ५० प्रतिशतभन्दा धेरै वयस्क तथा एक तिहाइ बालबालिका, किशोरकिशोरी र युवा वयस्कहरूमा मोटोपना वा बढी तौलको समस्या देखिने एक अध्ययनले खुलासा गरेको छ । २ सय वटाभन्दा बढी देश समेटिएको विश्वव्यापी तथ्याङ्कको नयाँ अध्ययनमा यो निष्कर्ष आएको ल्यासेन्ट जर्नललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले यस दशकको बाँकी अवधिमा विशेषगरी कम आय भएका देशहरूमा मोटोपनको स्तर द्रुत गतिमा बढ्ने चेतावनी दिएका छन् । तर सरकारले तत्काल कदम चालेमा ‘गहिरो त्रासदी’ अवस्था आउने कुरा रोक्न अझै पर्याप्त समय भएको अध्ययनमा उल्लेख छ ।

सन् २०२१ सम्म २५ वर्ष वा योभन्दा माथिका झन्डै आधा विश्वव्यापी वयस्क जनसङ्ख्या १ अर्ब पुरुष र १ अर्ब ११ करोड महिलामा बढी तौल वा मोटोपना थियो । यी अवस्थाहरूसँग बाँचिरहेका पुरुष र महिला दुवैको अनुपात सन् १९९० यता दोब्बर भएको छ ।

यही अवस्था रहेमा सन् २०५० सम्ममा चीनमा ६२ करोड ७ लाख, भारतमा ४५ करोड र अमेरिकामा २१ करोड ४ लाख जनसङ्ख्यामा अधिक तौल र मोटोपनाको समस्या देखिने अध्ययनमा उल्लेख छ । नाइजेरियामा भने मोटोपन र बढी तौल हुने वयस्कको सङ्ख्या सन् २०५० मा तीन गुणाभन्दा धेरैले बढेर १४ करोड १० लाख पुग्ने अनुमान छ । सन् २०२१ मा नाइजेरियामा यो सङ्ख्या ३ करोड ६६ लाख छ ।

विशेषगरी युवाहरूमा अहिले मोटोपनाको दरमा वृद्धि भइरहेको छ । सन् १९९० र २०२१ को बीचमा बालबालिका र युवा किशोरहरू र २५ वर्षमुनिका साना वयस्कहरूमा मोटोपनाको दर दोब्बरभन्दा बढी भएको छ ।

अध्ययनमा सहभागी अस्ट्रेलियाको मर्डाेक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटका डा. जेसिका केरले तथ्याङ्कहरूले आउँदा वर्षहरूमा स्वास्थ्य सेवा प्रणालीका लागि वास्तविक चुनौती प्रस्तुत गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया